बागलुङको बरेङ गाउँपालिका–३ नयाँ बजारका एक बालकलाई सर्पले डसेर मृत्यु भएको छ ।

नयाँ बजार बस्ने रिमबहादुर खत्रीको पाँच वर्षीय छोरा अनुप खत्रीको मृत्यु भएको हो । खत्री जनता प्राविको कक्षा एकमा अध्ययनरत विद्यार्थी हुनुहुन्थ्यो ।

सर्पले टोकेर घाईते खत्रीलाई उपचार गर्न गुल्मी लैजाने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दिएको छ ।

पठनपाठनको लागि विद्यालय गएका मृतक खत्रीलाई कक्षा कोठामा सर्पले टोकेको प्रहरी सहायक निरीक्षक अमृत कुँवरले जानकारी दिनुभयो ।

सुरुमा केले टोक्यो भन्ने थाहा भएन । कक्षा कोठाबाट सर्प बाहिर निस्केपछि मात्र सर्पले टोकेको पहिचान भएको थियो ।

बिरामी जटिल हुँदै गएपछि नजिकको स्वास्थ्य चौकीमा जाँदा खत्रीको शरीरमा अक्सिजनको मात्रा कमी देखिएको थियो । गुल्मी शान्तिपुरको एक अस्पतालमा लगे पनि उपचार हुन नसकेपछि मृत्यु भएको हो ।

Leave a Reply