सोह्रश्राद्ध लागेपछि कागबेनीमा श्राद्ध गर्न जान थाले भक्तजन

0

सोह्रश्राद्ध सुरू भएसँगै हिन्दु र बौद्ध धर्मावलम्बीहरूको साझा तीर्थस्थल मुस्ताङको कागबेनीमा पितृलाई तर्पण र पिण्डदानसहित श्राद्ध गर्न भक्तजनहरू पुग्न थालेका छन्।

तीन वर्षअघिसम्म सोह्रश्राद्ध लागेपछि दैनिक हजारौंको संख्यामा भक्तजनहरू मुक्तिनाथ र कागबेनीमा पुगेर श्राद्ध गर्थे। तर‚ पछिल्लो वर्ष कोरोना महामारीका कारण स्थानीय प्रशासनले मुस्ताङ प्रवेशमा कडाइ गरेपछि भक्तजनहरूको संख्या पनि पातलिंदै गएको हो।

जिल्ला प्रशासन कार्यालय मुस्ताङले यस वर्ष कोरोना परीक्षणको नेगेटिभ रिपोर्ट वा दुवै खोप लगाएको कार्ड देखाए मुस्ताङ प्रवेशका लागि अनुमति दिने भएको छ। जसका कारण रिपोर्ट नेगेटिभ भएका र दुवै खोप लगाएकाहरु दर्शन र श्रद्धाकर्म गर्न कागबेनी र मुक्तिनाथ जान थालेका छन्।

दामोदर कुण्डबाट बगेर आएकी काली नदी र मुक्तिनाथका १०८ धाराबाट बगेर आएकी गण्डकीको संगम स्थल भएकाले कागबेनीमा पुगेर पिण्डदान गर्दा सबैभन्दा उत्तम फल मिल्ने बराह पुराण, स्कन्द पुराण, श्रीमद्भागवतलगायतका धार्मिक ग्रन्थहरूमा उल्लेख छ।

कालीगण्डकी तथा मुक्तिनाथ क्षेत्रका जानकार स्वामी ऋषि प्रपन्नाचार्यका अनुसार तीर्थस्थलमा पुगेर पितृलाई तर्पण दिनका लागि सोह्रश्राद्ध वा पितृको तीथि नै त चाहिँदैन। तर‚ सोह्रश्राद्धमा मुक्तिनाथ र कागबेनीमै पुगेर एकपटक भए पनि दिवंगत पितृको उद्धारका लागि पिण्डदान गर्न नेपाल र भारतका विभिन्न स्थानहरूबाट हजारौं धर्मावलम्बी आउने गर्दछन्।

सोह्र श्राद्धलाई ‘महालय श्राद्ध’ पनि भनिन्छ। यसबाहेक सोह्रश्राद्ध, पितृपक्ष, कगंत, जितिया, महालय पक्ष, पितृ पोखो आदि विभिन्न नामले यी पवित्र १६ दिनको पुकारा गरिन्छ। भाद्र शुक्ल पूर्णिमाबाट सुरू भएको यो पक्ष सोह्रश्राद्ध अवधिभरि अर्थात् आश्विन कृष्ण औंशीका दिनसम्म चल्ने गर्दछ।

मंगलबारबाट सुरु भएको पितृपक्ष अर्थात् सोह्र श्राद्धमा श्राद्ध गर्नका लागि चितवन, नवलपुर, नवलपरासी, म्याग्दी, बाग्लुङलगायत विभिन्न जिल्लाबाट भक्तजनहरू आउन थालेका कागबेनीबाट कृष्णप्रसाद शर्मा (सापकोटा)ले जानकारी दिए। उनका अनुसार सोह्रश्राद्धसँगै कागबेनीमा चहलपहल पनि बढेको छ।

Leave a Reply