राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरअन्तर्गत उत्तर-दक्षिण जोड्ने बेनी-मालढुंगा सडक खण्ड स्तरोन्नति गरी दुई लेनको बनाउने काम सुरु भएको छ।

१३ किलोमिटर दूरीको उक्त सडक निर्माण भएको दुई दशक बितिसक्दा पनि स्तरोन्नति भएको थिएन। साँघुरो र जीर्ण सडकका कारण यात्रु र सवारी साधनहरुले सास्ती भोग्दै आएका थिए।

पर्वतको मालढुंगादेखि जलजला गाउँपालिकाको ८, ७, ४ र ३ नम्बर वडा हुँदै म्याग्दीको सदरमुकाम बेनी जोड्ने १३ किलोमिटर सडक बिस्तार, सुधार गरी दुई लेनको बनाउन लागिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ।

यो सडक चीन र भारत जोड्ने नेपालको सबैभन्दा छोटो सडक कालीगण्डकी कोरीडोर अन्तरगत पर्छ। २०७७ चैतमा ५२ करोड ८६ लाखमा ३१ हजार २८१ रुपैयाँमा ठेक्का सम्झौता गरेको एपेक्स–खड्का–कृष्ण जेभीको सहायक ठेकेदार ओमकारेश्वर कन्ट्रक्सनले प्रारम्भिक चरणको काम सुरु गरेको सञ्चालक अमृत दाहालले बताए।

हाल कालोपत्रेसहित करिब ६ मिटरको हाराहारीमा रहेको सडकलाई नौ मिटर चाक्लो बनाएर एक मिटरको नाली र दुई लेनमा ८ मिटर चौडाइका दरले अमेरिकी आक्सपाल्ट प्रविधिको कालोपत्रे गरिने आयोजनाले जनाएको छ।

३० महिनाभित्र सडक निर्माण सम्पन्न गर्ने गरी काम आगडि बढाइएको बेनी जोमसोम कोरोला सडक आयोजनाका प्रमुख अश्विनीकुमार यादवले बताए। २०४८ सालमा ‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत सुरु गरेर २०५२ मा मार्ग खुलेको र २०६८ मा कालोपत्रे भएको मालढुंगा–बेनी सडक पछिल्लो समय जीर्ण अवस्थामा थियो।

यसैगरी आयोजनाको तातोपानी-गलेश्वर खण्डमा पनि काम भइरहेको छ। दशैं-तिहारपछि गलेश्वर देखि तातोपानी सम्मको सडकमा कालोपत्रेको काम गर्ने योजना रहेको उनले बताए। म्याग्दीको दानामा पर्ने काभ्रेभीरमा विष्फोटक प्रदार्थको प्रयोग गरेर भीर काट्ने काम भइरहेको आयोजनाले जनाएको छ। सडक स्तरोन्नतिपछि मुक्तिनाथ जाने यात्रुहरुलाई सहज हुनुका साथै एक घण्टाको यात्रा ४० मिनेटमा छोटिने भएको छ।

Leave a Reply