असोज १५ गतेदेखि अन्नपूर्णका पर्यटकीयस्थल खुल्ने

0

अन्नपूर्ण गाउँपालिकाका पर्यटकीयस्थल यही असोज १५ गतेबाट भ्रमणका लागि खुल्ने भएको छ । कोरोना महामारी फैलिएपछि गत वैशाखदेखि बन्द भएका पर्यटकीयस्थल करिब छ महिनापछि खुल्न लागेको हो। कार्यपालिकाको बैठकले पर्यटकीयस्थल र तातोपानी कुण्ड स्नानका लागि खुलाउने निर्णय गरेको हो ।

कार्यपालिकाका प्रवक्ता कृष्णप्रसाद बरुवालले कोरोना संक्रमणदर घटेको, खोपको व्यवस्था भएको, थलिएको पर्यटन व्यवसाय उठाउन तथा जनजीवनलाई सहज र आर्थिक गतिविधिलाई चलायमान बनाउन पर्यटकस्थल खुलाउने निर्णय लिइएको बताए ।

‘पहिलो लहरको कोरोना महामारी भित्रिएपछि बन्द गरिएका पर्यटकीयस्थल र तातोपानी कुण्ड औपचारिकरूपमा १८ महिनापछि खुलाउन लागिएको हो’, उनले भने, ‘गत माघ, फागुन र चैत महिनामा न्यून संख्यामा पाहुना आए पनि औपचारिक हिसाबले खुलाइएको थिएन ।’

अन्नपूर्ण आधार शिविर, भुरुङ, पाउद्धार, रातोपानी र सेकार्कुको कुण्ड, घोडेपानी, पुनहिल, मोहरे, फूलबारी, खोपारा लेक, बयली, रुप्से, अन्धगल्छी, महभिर तथा नारच्याङ झरनालगायत पर्यटकीयस्थलका होटल तथा लज खुलाउने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले पर्यटकीयस्थलका बासिन्दा, होटल व्यवसायी र मजदुरलाई कोरोना भाइरसविरुद्धको खोप लगाउन प्राथमिकता दिइएको बताए । प्रमुख पर्यटकीयस्थल घोडेपानीका १८ वर्षमाथिका १४० जनालाई बुधबार कोरोनाविरुद्धको खोप लगाइसकिएको छ ।

तातोपानी, रातोपानीलगायत पर्यटकीयस्थलका बासिन्दालाई पनि कोरोनाविरुद्धको खोप लगाउन प्राथमिकता दिइने गाउँपालिकाले जनाएको छ । अन्नपूर्णका पर्यटकीयस्थल पाहुना र पर्यटकको पर्खाइमा रहेका घोडेपानी टोल सुधार समितिका अध्यक्ष बिरेन गर्बुजाले बताए । करोडौँ लगानी गरेर होटल तथा लज खोलेका व्यवसायी पर्यटक नआउँदा समस्यामा परेका थिए । स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर पर्यटन क्षेत्रलाई सञ्चालन गरिने होटल व्यवसायीहरुले बताए ।

पर्यटकीयस्थल बन्द हुँदा अन्नपूर्ण गाउँपालिकालाई गत वर्ष एक करोडभन्दा बढी आम्दानी गुमेको छ । तातोपानी र पुनहिलमा प्रवेश शुल्क तथा चमेनागृह सञ्चालनका लागि गत वर्ष ठेक्का लगाइएको थिएन ।

Leave a Reply