संरक्षण र प्रचारप्रसारको अभावमा म्याग्दीका रहेका तीन सय वर्षभन्दा पुराना देवल र प्राचीन सम्पदा नास हुँदै गएका छन्। सदरमुकाम बेनीलगायत म्याग्दीका ६ वटै स्थानीय तहमा रहेका  धार्मिक तथा ऐतिहासिक महत्त्वका शिखरशैलीका देवल र प्राचीन सम्पदाको संरक्षण नहुँदा  प्रचारप्रसार नहुँदा नासिँदै गएका हुन्।

सदरमुकाम बेनीबजारमा रहेका तीनवटा ३०० वर्षभन्दा पुराना सम्पदाबारे नयाँ पुस्ता अनभिज्ञ रहेको स्थानीय प्रकाश श्रेष्ठले बताउँछन्। कोत मन्दिर, बेनी शिवालय मन्दिर र बालमुक्तेश्वर महादेवको देवल ३०० वर्षभन्दा पुराना हुन्। यी धरोधरहरुको संरक्षण र प्रचारप्रसार हुन सकेको छैन।

वि.सं. १७५४ मा तत्कालीन पर्वते राजा बलेबम मल्लले निर्माण गर्न लगाएका यी देवलहरु पाञ्चायन शैलीका छन्। इँटाबाट निर्मित यी मन्दिरहरुमा शिवलिङ्ग, नारायण, गणेश र भगवतीका मुर्तिहरु रहेका छन्।

बेनी बजारको सबैभन्दा पुरानो मानिएको बालमुक्तेश्वर मन्दिरको अस्तित्व पनि नामेट हुँदै गएको स्थानीय बृद्ध अविरकुमार श्रेष्ठले बताए। ‘बजार विस्तार हुने क्रमसँगै घर निर्माण हुने क्रम बढेपछि बालमुक्तेश्वर मन्दिर छोपिन पुग्यो,’ श्रेष्ठले भने, ‘बेनीको सभ्यताको सबैभन्दा पुरानो मन्दिरबारे अहिले धेरैजसो व्यक्ति अनभिज्ञ छन्।’

उनका अनुसार २०३७ सालमा बालमुक्तेश्वर मन्दिरअगाडि लक्ष्मीनारायण मन्दिर निर्माण गरिएपछि सो मन्दिरको महत्व पनि छोपिँदै गएको हो। २०३४/३५ सालसम्म मन्दिरमा रहेको ताम्रपत्र अहिले हराएको छ।

त्यसैगरी अन्नपूर्ण गाउँपालिका–६ मा कालीगण्डकी नदी र घारखोलाको दोभानमा रहेको जलेश्वर शिवालय मन्दिर पनि अहिले अस्तित्वविहीन बनेको छ। पाञ्चायन शैलीमा निर्माण गरिएको उक्त मन्दिर २०६३/६४ सालमा बेनी–जोमसोम सडक निर्माणका क्रममा सेनाले सोही मन्दिरसँग जोडेर दुर्गा भगवतीको मन्दिर निर्माण गरिदिए पछि लजेश्वर शिवालयको मन्दिर ओझेलमा परेको हो।

ताकमकोत, ज्यामरुककोट, घतान, पुलाचौर, राखु भगवतीलगायतका स्थानमा रहेका प्राचीन देवल र सम्पदाहरु नासिँदै गएका छन्। यस्ता प्राचीन सम्पदाहरु नासिँदै गए पनि स्थानीय तहले कुनै चासो नदेखाएको स्थानीयवासीहरुको भनाइ रहेको छ।

प्राचीन मन्दिरमा राखिएका ताम्रपत्र, घण्ट, भाला, हातहतियारलगायतका ऐतिहासिक र पुरातात्विक महत्वका चिजहरु हराउँदै गएका ज्यामरुककोटका हरिप्रसाद शर्माले बताए। यस्ता पुरातात्विक महत्वका वस्तुहरुको संरक्षणमा पुरातात्विक विभागको पनि ध्यान जान आवश्यक रहेको भकुण्डेका ७८ वर्षीय डिलबहादुर कार्कीले बताए।

बडादशैं, चैतेदशैं, कृष्णजन्माष्टमी, श्रीपञ्चमी र तीजका बेला उक्त ठाउँमा पूजापाठका साथै मेला लाग्ने गर्दछ। ती ठाउँमा रहेका ढुंगेधारा र कुवाहरु पनि नासिँदै गएका स्थानीयले बताएका छन्। स्थानीय सरकार गठन भइसकेपछि त्यस्ता पुरातात्विक सम्पदाहरूलाई सूचीकरण गरी संरक्षण र संवद्र्धनका लागि पहल शुरु गरिएको बेनी नगरपालिका–२ का वडाअध्यक्ष हिराबहादुर थापाले बताए।

Leave a Reply