धमाधम विद्यार्थी बिरामी पर्न थालेपछि कुश्मा नगरपालिका-११ पकुवाको सिल्सीमा रहेका दुई विद्यालय बन्द गरिएको छ । स्थानीय विश्वज्योति प्राविधिक तथा व्यावसायिक मावि र रानीस्वाँरा प्रावि बन्द गरिएको हो ।

एक सातादेखि विद्यार्थीमा ज्वरो, रुघाकोकी, टाउको दुख्ने, वान्ता हुनेजस्ता लक्षण देखिएपछि विद्यालय बन्द गरिएको विश्वज्योति प्राविधिक तथा व्यावसायिक माविका प्रधानाध्यापक गणेश तिमिल्सिनाले जानकारी दिए ।

शुरुमा कक्षा ७ का विद्यार्थी बिरामी परेका थिए । त्यसको एक सातापछि शनिबारदेखि अन्य कक्षाका विद्यार्थीसमेत बिरामी परेपछि अनिश्चितकालका लागि विद्यालय बन्द गरिएको उनको भनाइ छ । पकुवाको रानीस्वाँर क्षेत्रका अधिकांश विद्यार्थी बिरामी परेका छन् ।

बालबालिका बिरामी पर्न थालेपछि स्थानीय रानीस्वाँर प्रावि पनि बन्द गरिएको छ । शुरुमा बिरामी परेका विद्यार्थी एक सातासम्म पनि निको भइनसकेका र अन्य विद्यार्थी पनि बिरामी पर्ने क्रम बढेपछि विद्यालय बन्द गर्नुको विकल्प नभएको हो । थप विद्यार्थीमा सङ्क्रमण नफैलियोस् भनेर विद्यालयमा पठनपाठन रोकिएको तिमल्सिनाको भनाइ छ ।

अहिले ५० जना विद्यार्थी बिरामी परेको र उनीहरुको पीसीआर परीक्षणका लागि स्वास्थ्यकर्मी बोलाइएको वडाध्यक्ष शिवप्रसाद पौडेलले बताए । भाइरल र कोरोनाको लक्षण उस्तैउस्तै भएकाले थप सजगता अपनाउन विद्यार्थीलाई भनिएको छ । उनीहरुले स्थानीय स्वास्थ्यचौकीमा स्वास्थ्य परीक्षण गरेर औषधि सेवन गरिरहेको प्राधाध्यापक तिमिल्सिनाले जानकारी दिए ।

पर्वतमा यसै सातादेखि भौतिक उपस्थितिमा पढाइ सञ्चालन गरिएको छ । विद्यालय खुलेको केही दिनमै बिरामी परेपछि पढाइ प्रभावित बनेको तिमिल्सिनाले बताए । रासस

Leave a Reply