राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गतको बेनी–जोमसोम सडकखण्डका तीन ठाउँमा बाढी र पहिरोका कारण सडक साँघुरो हुनुका साथै लेदो माटोसहितको पहिरो आउन नरोकिएपछि यात्रुले सास्ती भोग्दै आएका छन्।

हिमालपारिको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने ७६ किलोमिटर सडकखण्डको विभिन्न ठाउँमा पहिरो गएर सडक साँघुरो भएको छ। सडकखण्डअन्तर्गत अन्नपूर्ण गाउँपालिका–३ रुप्से छहरा, काभ्रेभीर र बाँदरजुंगे भीरमा सडकको अवस्था दयनीय रहेको अन्नपूर्ण–६ का कृष्ण बरुवालले बताए।

यहाँ सामान्य वर्षा हुन साथ ढुंगा, माटो र लेदोसहितको पहिरो खस्ने र बाटो बगाउने गरेको यस क्षेत्रमा खाद्यान्न बोक्ने गाडी चालक श्याम राना बताउँछन्।

वर्षाका कारण ढुंगा र माटोसहितको लेदो खसिरहेकाले ठाउँ ठाउँमा पहिरो जाने क्रम अझै नरोकिएकाले यात्रु तथा सवारी साधनलाई आवश्यक सुरक्षा सावधानी अपनाएर यात्रा गर्न अनुरोध गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।

यस सडक २०६२/६३ सालमा तत्कालीन शाही नेपाली सेनाले ट्रयाक खोलेपछि सञ्चालनमा आएको हो। बेनी–जोमसोम सडक कालीगण्डकी करिडोरमा समेटिएपछि तीन वर्षदेखि स्तरोन्नति र गत वर्षदेखि कालोपत्रेको काम शुरु भएको छ।

बेनी–जोमसोम–कोरला सडकलाई गण्डकी प्रदेशको ‘लाइफ लाइन’ मानिएको छ। यो सडक कालोपत्रे भएमा म्याग्दी र मुस्ताङमा पूर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत्, पर्यटन र धार्मिकस्थलको विकासका लागि महत्वपूर्ण योगदान पुग्ने प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले बताउँछन्।

सुस्त गतिमा स्तरोन्नतिको काम

कुल ७६ किलोमिटरको बेनी–जोमसोममा चार प्याकेजसहित निर्माण कार्यलाई अघि बढाइएको भए पनि निर्माण कम्पनीले कार्य क्षेत्रमा उल्लेख्य मात्रामा उपकरण र जनशक्ति परिचालन गर्न नसक्दा सडक स्तरोन्नति सुस्त गतिमा अघि बढिरहेको छ।

कम कामदार र उपकरण प्रयोग गरेर ठेकेदार कम्पनीले सडक स्तरोन्नति कार्यमा हेलचेक्राइँ गरिरहेको गुनासो व्यापक वन्दै गएको छ। बेनी–जोमसोम खण्ड गत मंसिर १५ भित्र कालोपत्रेको काम सक्नुपर्ने म्याद थियो। तर‚ निर्धारित समय सकिएको एक वर्ष बितिसक्दा पनि कालोपत्रेको काम सकिएको छैन। अहिलेसम्म तल्लो खण्डमा ७५ र माथिल्लो खण्डमा ९० प्रतिशत मात्रै काम सम्पन्न भएको आयोजनाका प्रमुख मुकुन्द अधिकारीले जानकारी दिए।

‘सडक फराकिलो बनाउने र पर्खाल लगाउने काम भैरहेको छ, कतिपय क्षेत्रमा ढिलासुस्ती पनि भएको छ,’ अधिकारीले भने‚ ‘हामीले ताकेता गरिरहेका छौँ, केही स्थानमा क्वान्टिटी फेरबदल गर्नुपर्ने देखिएको छ।’

आयोजनाको गलेश्वरदेखि तातोपानीसम्मको ठेक्का लिएको शर्मा युनाइटेडले ६० प्रतिशत, तातोपानीदेखि घाँसासम्म शर्मा गजुरमुखीले ६५ प्रतिशत, काम सम्पन्न गरेका छन्। कठिन भौगोलिक अवस्थिति,वाढी–पहिरोजन्य प्राकृतिक प्रकोपको सामाना र कोरोना महामारीको प्रभावका कारण निर्माण कार्यले अपेक्षित गति लिन नसकेको निर्माण कम्पनीका प्रमुखहरुको भनाइरहेको छ।

Leave a Reply