ग्रामीण क्षेत्रका बासिन्दालाई खाद्यान्नको संकट पर्दा सारथी बन्दै आएको धर्म भकारी आयात बढेसंगै संरक्षणको पर्खाइमा पुगेका छन् । पछिल्लो समय बजारबाट आयातित खाद्यान्न छ्याप छ्याप्ती गाउँघरमा आउन थालेपछि म्याग्दी जिल्लाको धौलागिरी गाउँपालिका वडा नं. ७ ताकमस्थित धर्म भकारी संकटमा पर्दैै गएको छ ।

स्थानीय प्रगतिशिल महिला अन्न बचत तथा कृषि सहकारी संस्थाले साविकको ताकम गाविस वडा नंं ४ मा सञ्चालन गरेको धर्म भकारीको महत्व खाद्यान्न आयातका कारण कम हुदै गएको हो ।

गाउँमा चाडबाडको समयमा चामल नपाइने भएकाले मंसिरमा धान उठाएपछि सदस्यहरुसंग संकलन गरेर धर्म भकारीमा राख्ने र चाडबाडको सिजन पारेर भदौ असोजमा आवश्यक पर्ने सदस्यहरुलाई धान उपलब्ध गराउदै आएको संस्थाका अध्यक्ष रुक्मिणी पौडेलले जानकारी दिनुभयो ।

धर्म भकारी अलि पहिलैबाट सञ्चालित थियो, त्यसलाई थप व्यवस्थापनका लागि २०६८ मा प्रगतिशिल महिला अन्न वचत तथा कृषि सहकारी संस्था स्थापना गरी सहकारीमार्फत सञ्चालन गर्दै आएका छौ, तर पछिल्लो समय खाद्यान्नको आयातका कारण धर्म भकारीको महत्व कम हुदै गएको पौडेलको भनाइ छ ।

९० जना शेयर सदस्य रहेको संस्थाले मंसिरमा ८० मुरीसम्म धान संकलन गर्दै आएको थियो । पछिल्लो समय घटेर ३२ मुरीमा पुगेको संस्थाका कोषाध्यक्ष तिल कुमारी थापाले जानकारी दिनुभयो । संस्थाले शेयर सदस्यहरुसंग शेयरका रुपमा धान संकलन गर्ने र संकटको समयमा सदस्यहरुलाई नै उपलब्ध गराउदै आएको छ । संस्थाबाट धान लैजाने सदस्यले मंसिरमा ५ पाथीको थप एक पाथी सहित संस्थामा धान बुझाउनु पर्दछ । धान लगेको सदस्यले मसिरमा धान नै उपलब्ध गराउनु पर्छ, धानको सट्टा पैसा दिन पाइदैन ।

चाडबाडको समयमा चामलको अभाव हुने भएकाले विगतमा यो निकै प्रभावकारी थियो, कोषाध्यक्ष थापाले भन्नुभयो,–‘पछिल्लो समय पैसा र खाद्यान्नको अभाव हुन छोडेपछि धर्म भकारीको महत्व पनि क्रमश कम हुदै गएको छ ।’

पहिले पहिले चाडबाडको समयमा चामल नपाइने समस्या थियो, त्यतिबेला धर्म भकारी आवश्यक ठानेर स्थानीय अगुवाहरुले यसको सञ्चालन गर्नु भयो, हराउला कि भन्ने चिन्ता भएपछि सहकारीमार्फत व्यवस्थापन गर्दै आएका छौ, तर अझै यसलाई व्यवस्थापन गर्न संस्थालाई धौ धौ परेको संस्थाका सचिव सरिता शर्मा पौडेलले बताउनुभयो ।

संस्थाले पछिल्लो समय सदस्यहरुसंग साप्ताहिक रुपमा वचत संकलन र कर्जा लगानी समेत गर्दै आइरहेको छ । हामी अझै अलमलमा छौ, कसरी यसलाई संरक्षण गर्ने र सहकारीलाई सदस्यहरुको सेवामा लगाउने भन्ने विषयमा सरोकारवालाहरुका तर्फबाट सहयोगको अपेक्षा गरिएको अध्यक्ष पौडेलले बताउनुभयो ।

गाउँघरमा उत्पादन हुने खाद्यान्न लगायतका वस्तुहरुको उत्पादन, भण्डारण र प्रयोग कम हुदै गएको, आयातित खाद्यान्नका कारण गाउँका जनताको आम्दानी बजार झरेको र विभिन्न प्रकारका विषाधि प्रयोग भएका खाद्यान्न खान थालेका कारण रोगको प्रकोप समेत बढेको धौलागिरी गाउँपालिका वडा नं. ७ का वडा सदस्य तथा जिल्ला वचत तथा ऋण सहकारी संघ म्याग्दीका अध्यक्ष अमृता भण्डारीले जानकारी दिनुभयो ।

गाउँमा चाडबाडको समयमा चामलको समस्या हुन नदिन, महिलाहरुलाई संगठित भएर काम गर्न, नेतृत्व विकासका लागि सहयोग पुगोस भनेर धर्म भकारी सञ्चालन गर्नुका साथै त्यसको संरक्षणको जिम्मा महिला सहकारीलाई दिएको वडा सदस्य देवेन्द्र थापाले बताउनुभयो । उहाँले धर्म भकारीलाई सबैको सहयोग र समन्वयमा निरन्तर सञ्चालन गर्नु पर्नेमा जोड दिनुभयो ।

ग्रामीण क्षेत्रमा सहकारीहरुले जनताको आयस्तर उठाउन तथा सहज जीवन यापनका लागि विभिन्न गतिविधिहरु सञ्चालन गर्दै आएका छन्, सहकारीहरुको प्रवर्धनका लागि स्थानीय तह लगायत सरकारी निकाय र अन्य संघ संस्थाहरुको समेत सहयोग हुनु पर्नेमा स्थानीयले जोड दिएका छन् ।

सहकारीको पहिचान र स्थानीयको लक्ष्य मर्न नदिन हामी निरन्तर प्रयासमा छौ, सकेसम्म धर्म भकारीलाई व्यवस्थित गरेर चलाउने हाम्रो लक्ष्य छ । अन्य क्षेत्रको पनि सहयोग भयो भने हामी सहजै व्यवस्थापन गर्न सक्छौ, कोषाध्यक्ष थापाको भनाइ छ । Source: आदर्श अनलाइन

Leave a Reply