---Advertisement---

सेवा निवृत्त सैनिकको रहर लाग्दो कालिज पालन

On: September 29, 2021 2:03 PM
Follow Us:

बेनी नगरपालिका-२ फापरखेतका नवीन घिमिरेको कालिज पालन यस क्षेत्रकै रहर लाग्दो र रमाइलो व्यवसाय बनेको छ। १७ वर्ष भारतीय सेनामा बिताएका उनले रञ्जिला कृषि तथा पशुपंक्षी फर्म दर्ता गरेर २०७७ फागुनदेखि कालिज पालन सुरु गरेका हुन्।

सात महिनाको अवधिमा राम्रो आम्दानी मात्रै गरेका छैनन् नयाँ व्यवसाय गरेर उदाहरणीय समेत बनेका छन्। २१ लाख रुपैयाँको लगानीबाट कालिज पालन सुरु गरेका घिमिरेको फर्ममा अहिले ६०० वटा कालिज हुर्कंदै छन्। यस अवधिमा उनले ११० वटा बिक्री गरिसकेका छन्।

‘भारतीय गोर्खा सैनिकमा हुँदा आफ्नै गाउँको जस्तै भूगोल भएको दार्जिलिङमा कालिज पालन गरेको देखेर म लोभिएको थिएँ‚’ ३९ वर्षीय घिमिरेले भने ‘पाँच वर्षपछि सेवा निवृत्त भएर गाउँ आएँ। यहाँ आउँदा नेपाल सरकारले कालिज पालनका लागि अनुमति दिएको थाहा पाएपछि तत्कालै कालिज पालन व्यवसाय सुरु गरेको हुँ।’

घिमिरेले सात रोपनी पाखोबारीलाई घेराबार गरेर जालीले छोपेको खोर बनाएका छन्। त्यही खोरमा ४०० भन्दा बढी ‘रिङनेट’ जातका कालीज हुर्किरहेका छन्। अधिकांश कालिज बिक्रीका लागि योग्य भएका घिमिरेले बताए। कालीज बेनी, भकुण्डे, बाग्लुङ र पोखराको बजारमा प्रतिगोटा ३ हजार ५०० रुपैयाँ दरले बिक्री हुने गरेका घिमिरेले जानकारी दिए।

कालिजका लागि उनले रैथाने आहारा (मकै, गहुँ, कोदो) का साथै बजारबाट आयातित दाना खुवाउने गरेका छन्। त्यसका साथै हरियो भुइँ तथा डाले घाँसबाट पनि उनले कालिजलाई दानाको व्यवस्थापन गरेको बताए। उनको फार्ममा स्थानीय तीन जना व्यक्तिले रोजगारी समेत पाएका छन्।

निकट भविष्यमा ह्याचिङ मेसिन राखेर आँफै चल्ला उत्पादन गर्ने र मासुका लागि भाले कालिजको संख्या बढाउने उनको योजना रहेको उनले सुनाए। पाँच महिनामा दुई किलोभन्दा बढी तौल हुने र ती कालिज मासु खानका लागि योग्य हुने उनले बताए।

धु्रबसागर शर्मा

धु्रबसागर शर्मा बेनीअनलाइनका संवाददाता हुनुहुन्छ।