नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनका लागि गाउँ तथा नगरमा पालिका नेतृत्वका लागि निर्वाचन सम्पन्न भएको छ ।
गत शनिवार र आइतबार म्याग्दीका ६ वटै स्थानीय तहहरुमा सम्पन्न निर्वाचन र सर्वसहमतिमा गरिएको नेतृत्व चयनले म्याग्दी कांग्रेसमा युवा आकर्षण बढ्दै गएको पाइएको छ ।
नेतृत्व चयनका लागि प्रजातान्त्रिक विधिबाट सौहार्दपूर्णरुपमा सम्पन निर्वाचन भनिए पनि स्थानीय तहका वडावडासम्म कांग्रेस केन्द्रको रोगको संक्रमण फैलिएको संकेत देखिएको छ । सर्वसाधारणहरुले यसलाई ‘झ्याङ्गिँदै गरेको कांग्रेसको रुखमा गुटको जालो’ भनेर बुझेका छन् ।
म्याग्दीमा पनि जिल्ला नेतृत्वमा स्पष्टरुपमा दुई गुट देखिएको छ । पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षबाट जिल्ला सभापति खमवीर गर्बुजा र बरिष्ठ नेता रामचन्द्र पौडेलको पक्षबाट निवर्तमान  सभापति तथा संविधान सभाका सदस्य रेशमबहादुर बानियाँ देखिनुभएको छ ।
दुबैजना कांग्रेस म्याग्दीको जिल्ला सभापति पदका प्रत्यासी हुनुहुन्छ । गर्बुजा र बानियाँ दुवैजना म्याग्दी कांग्रेसका दरिला व्यक्तित्व भए पनि निर्वाचनमा एक जनाको मात्रै जीत हुनेहुँदा अर्को पक्षको व्यवहार र सक्रियतामा म्याग्दी कांग्रेसको भविष्य निर्धारण हुने कांग्रेसका कार्यकर्ताहरुले बताएका छन् ।
पालिकास्तरबाट दुवै पक्षको मिश्रित परिणाम आए पनि नेतृत्व तहमा वर्तमान सभापति गर्वुजा पक्षको नै पल्ला भारी देखिएको छ । यसले निवर्तमान सभापति बानियाँ पक्षको मन अमिलो भए पनि मुहारमा भने मुस्कान देखाउनु पर्ने बाध्यता आएको म्याग्दी कांग्रेसका शुभेच्छुक संघसंस्थाका प्रमुखहरुले बताएका छन् । ‘मनमा रहेको अमिलो तुस धेरै समय रहन नहुने, लोकतान्त्रिक पार्टीको लोकतान्त्रिक पद्यतिको रुपमा निर्वाचनलाई लिएर एक ढिक्का भएर म्याग्दी कांग्रेसलाई जिल्लामा पहिलो पार्टी बनाउनु पर्ने कांग्रेसका कार्यकर्ता तथा शुभेच्छुकहरुको भनाइरहेको छ ।
म्याग्दी कांग्रेसका पालिका हाक्ने हस्तीहरु
म्याग्दीको बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिकामा मतदानबाट नेतृत्व चयन गरिएको छ भने अन्य ४ गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको हो । बेनी नगर सभापति पदमा रविन्द्र कार्की निर्वाचित भएका छन् । आइतबार सम्पन्न निर्वाचनमा कार्कीले सभापतिका उम्मेदवार विक्रम बोगटीलाई ८ मतले पराजित गर्दै विजयी भएका निर्वाचन अधिकृत निरञ्जन राजभण्डारीले जानकारी दिए ।
निर्वाचन अधिकृत राजभण्डारीका अनुसार कुल १ सय ७१ जना मतदाता रहेको बेनी नगरपालिकामा १ सय ६८ जनातले मतदान गरेका थिए । कार्कीले ७६ मत ल्याएर विजयी भए भने बोगटीले ६८ मतमै चित्त बुझाउनु परेको छ । त्यसैगरि उपसभापतिमा हरि पौडेल र गंगाबहादुर खत्री विजयी भएका छन् । पौडेलले ७३ र खत्रीले ७२ मत प्राप्त गरेका छन् । सचिवमा ज्ञानेन्द्र श्रेष्ठ झलक जिसी बिजयी भएका छन् । श्रेष्ठले ८१ र जिसीले ६७ मत  प्राप्त गरेका छन् । नवनिर्वाचित नगर सभापति कार्कीले लोकतान्त्रिक पद्धतीमा प्रतिस्पर्धामा गएपछि जितहार स्वभाविक रहेको बताउँदै सबैलाई मिलाएर काँग्रेसलाई बलियो बनाउने प्रतिबद्धता जनाएका छन् ।
त्यसैगरी सहसचिब पदमा स्यानिमाया कार्कि ८१ र शान्ति शर्माले ७५ मत प्रााप्त गरेर विजयी भएका छन् । नगर समितिको लागि पार्टीको केन्द्रिय सभापति निकट जिल्ला सभापति खमविर गर्वुजा पक्षबाट कार्की र बरिष्ट नेता रामचन्द्र पौडेल निकट निवर्तमान जिल्ला सभापति रेशम बानियाँ पक्षबाट बोगटीले सभापतिमा प्यानल उम्मेदवारी दिएका थिए । उता अन्नपूर्ण गाउँपालिकाको सभापतिमा बलबहादुर तिलिजा निर्बाचित भएका छन् । सभापतिका प्रत्यासी कृष्णप्रसाद बरुवाललाई एक मतले पराजित गर्दै तिलिजा निर्वाचित भएका हुन् । १२८ जना मतदाता मध्ये ११७ मत खसेको र दुई मत बदर भएको जनाइएको छ ।
बेनी नगरमा निर्वाचित सभापति कार्की र अन्नपूर्णमा निर्वाचित तिलिजा दुबै जना जिल्ला सभापति खमविर गर्वुजा पक्षका उम्मेदवार हुन् ।
यता रघुगंगा गाउँपालिका स्तरीय प्रथम अधिवेशनबाट मनकुमार शेरपुञ्जा सर्वसम्मत सभापतिमा चयन भएका छन् ।
रघुगंगा गाउँपालिका–६ पाखापानीका वडा अध्यक्ष समेत रहेका युवा नेता शेरपुञ्जालाई सभापतिका प्रत्यासी भवबहादुर भण्डारी र जीवनकुमार मल्लले समर्थन जनाएपछि सर्वसम्मत नेतृत्व चयन भएको हो । विधानमा दुई÷दुई उपसभापति र सचिब रहने प्रावधान रहेपनि स्थानीय सहमती अनुसार तीन÷तीन जना बनाइएको निर्वाचन समितिले जनाएको छ ।
पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिकाको सभापतिमा प्रेम पुन सर्वसम्म निर्बाचित भएका छन् । मालिका गाउँपालिकाको सभापतिमा खिम पुन सर्वसम्मत निर्बाचित भएका छन् । दरबाङमा भएको पालिका अधिवेशनबाट पुनको नेतृत्वमा ४५ सदस्यीय कार्यसमिति सर्बसम्मत चयन भएको हो ।
मंगला गाउँपालिकाको सभापतिमा नरसिंह खत्री सर्वसम्मत रुपमा चयन भएका छन् । गाउँपालिकाको केन्द्र बाबियाचौरमा भएको पालिका अधिबेशनले खत्रीको नेतृत्वमा ३५ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो ।


Leave a Reply