म्याग्दी सदरमुकाम बेनीमा ११ औं केन्द्रिय तोरन्ल गोल्डकप अन्तर क्षेत्रीय तारा खेल प्रतियोगिता सुरु भएको छ । थकाली सेवा समिति नेपालको आयोजना र बेनी क्षेत्रको सहआयोजनामा शुक्रबारदेखि उक्त प्रतियोगिता सुरु भएको हो । तीन दिन सम्म सञ्चालन हुने प्रतियोगितामा १८ समुहले सहभागि छन् ।

कार्यक्रमको उद्घाटन गर्नुहुँदै प्रतिनिधि सभा सदस्य प्रेमप्रसाद तुलाचनले  अग्रजहरुको योगदानलाई सम्मान गर्दै खेलकुद सहित थकाली समुदायको कला,भाषा र संस्कृतीको जगेर्ना र संरक्षणमा लाग्न आग्रह गर्नुभयो ।

बि.सं.२०४७ देखि सुरु भएको तोरन्ल गोल्डकप प्रत्येक तीन–तीन बर्षमा आयोजना गरिँदै आएको थकाली सेवा समिति नेपालका सोमप्रसाद तुलाचनले बताउनुभयो । २०७७ मा हुनुपर्ने प्रतियोगिता कोरोना महामारीको जोखिमका कारण एक बर्ष पछि धकेलिएको उहाँको भनाई छ । यसअघि चन्द र सहयोग संकलन गरेर आयोजना गरिँदै आएको गोल्डकप यसपाली भने ५१ लाख रुपैयाँको अक्षयकोष स्थापना गरिएको अध्यक्ष तुलाचनले जानकारी दिनुभयो ।

उहाँका अनुसार कोषमा निर्माण व्यवसायी महासंघका तत्कालिन अध्यक्ष स्वर्गिय शरदकुमार गौचनको नाममा उहाँकी श्रमती आशाले दश लाख रुपैयाँ सहयोग गर्नुभएको छ । प्रतियोगिताको बिजेता समुहले सुनको पाँच तोलाको मेडल ,रनिङ शिल्ड , कप र एक लाख रुपैयाँ पाउनेछन् । दास्रो ,तेस्रो ,चौथो र सान्त्वना हुनेले क्रमश पचास हजार ,पच्चिस हजार, दश हजार र पाँच हजार रुपैयाँ पाउने थकाली सेवा समितिका महासचिव रबिन शेरचनले जानकारी दिनुभयो । प्रथम पुरस्कार सांसद तुलाचन,दृत्तिय पुरस्कार बुद्धिप्रसाद शेरचन र तेस्रो पुस्कार रमेश भट्टचनले प्रायोजन गर्नुभएको आयोजकले जनाएको छ ।

परापुर्व कालमा खेतिबाली लगाएर र थन्काएपछि मनोरञ्जनका लागि तारो खेल्ने चलन थियो । तारो खेललमा बाँसको धनुषवाण र लेकाली भेगमा पाइने जरबुताको तिर हुन्छ । करिब देढ सय मितर वारीपारी राखिएका दुई वटा काठका फ्ल्याकमा तिर हान्ने गरिन्छ । १५ दोहोरको खेलमा सबै भन्दा धेरै फल्याकमा तिर लगाउने समुह विजयी हुनेगर्दछन् । त्यसैगरी फल्याकको विच भागमा राखिने गोलो आकारको सानो भागमा तिर लगाउनेलाई खोल भएको मानिन्छ । प्रतियोगिताको उद्घाटन हुनुपुर्व समुदायको जातीय पहिचान झल्कने झाँकी र बाजागाजा सहित बजार परिक्रमा गरिएको थियो । कार्यक्रममा बेनी नगरपालिकाका नगर प्रमुख हरिकुमार श्रेष्ठ ,गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजिव गुरुङका स्वकिय सचिव रोहित गुरुङ ,वडा नम्बर ७ का वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ लगायतले शुभकामना व्यक्त गर्नुभयो ।

Leave a Reply