राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीको पन्ध्रौँ बार्षिक साधारण सभा  सम्पन्न भएको छ । बेनीको पुन होटल एनड नान हाउसको सभाहलमा आयोजित साधारण सभाले संस्थाका सचिव पदम बिश्वकर्माले प्रस्तुत गर्नुभएको प्रगति प्रतिबेदन र कोषाध्यक्ष देबी जिसीले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिबेदनलाई सर्बसम्मत रुपमा पारित गरेको छ ।
साधारण सभाको उद्घाटन गर्दै प्रमुख अतिथि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रिय सदस्य लोक गायक कुमार पुनले कोरोना संक्रमणको प्रत्यक्ष असर कलाकारलाई परेको भन्दै सरकारले अब सांगीतिक कार्यक्रम संचालन गर्न अनुमति दिनुपर्ने बताउनुभयो । सबै कलाकारहरुको साझा घर प्रतिष्ठान भएकाले कलाकारको हरेक समस्यामा प्रतिष्ठानको साथ रहने बताउनुभयो ।
प्रतिष्ठान गण्डकी प्रदेशका द्वित्तिय उपाध्यक्ष आरसी पौडेलले लोक संस्कृति संरक्षणका लागि स्थानीय सरकारले चासो दिनुपर्ने बिषय औंल्याउनुभयो । कलाकारलाई प्रोत्साहन गर्ने खालका कार्यक्रम सरकारी तबरबाट नभएकाले त्यसतर्फ आवाज उठाउनु पर्नेमा पौडलले जोड दिनुभयो ।
म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष बेल बहादुर कटुवालले प्रतिष्ठान म्याग्दीको संस्थागत बिकासका लागि बिभिन्न कार्य योजना बनाएर अगाडि बढ्न सुझाव दिनुभयो । लोक भाकालाई बचाइ राख्नका लागि म्याग्दीका अग्रज गायकहरुले गाउनु भएको गीतहरुलाई पुन रेकर्ड गरेर बजारमा ल्याउन आवश्यक रहको उहाँको भनाई थियो । उहाँले जिल्लाका हरेक साँस्कृतिक कार्यक्रमहरुमा कलाकार ल्याउनका लागि प्रतिष्ठानले नेतृत्वदायी भूमिका निभाउनु पर्ने बताउनुभयो ।
नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष प्रकाश पौडेलले म्याग्दीका कलाकारले गायका गीतहरु चले पनि गायकहरु चल्न नसकेको बताउनुभयो । पौडेलले सम्झिदै भन्नुभयो, “म्याग्दीका गायक सम्भोज मल्लले गायको गोरी सुनरे गीत देश बिदेशमा चलेको छ, रबि कार्कीले गायको गीत जाम सुस्तै, प्रकाश दुतराजको घर कता हो बैनीको लगाएतका गीतहरु चर्चामा छन तर उहाँहरु गुमनाम जस्तै हुनुहुन्छ” । कलाकारहरु मिडिया मैत्री हुन आवश्यक रहेको पनि उहाँले बताउनुभयो ।
प्रतिष्ठान म्याग्दीका सल्लाहकार, अग्रज लोक गायीका धन कुमारी थापाले हिजो र आजको संगीत क्षेत्रको अबस्थाको बारेमा बोल्नुभएको थियो । कार्यक्रममा प्रतिष्ठान गण्डकी प्रदेशका सदस्य नकुल ढकाल, संगठन बिभाग सदस्य अमित बिश्वकर्मा, प्रतिष्ठान म्याग्दीका निबर्तमान अध्यक्ष कृष्ण जिसी, प्रतिष्ठान पर्बतकी प्रथम उपाध्यक्ष पुजा कार्की, राष्ट्रिय संगीतकर्मि संघ म्याग्दीका सहसचिव गोकुल सुनार लगाएतले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
साधारण सभा प्रतिष्ठान म्याग्दीका अध्यक्ष देबेन्द्र घिमिरेको अध्यक्षता, बरिष्ठ उपाध्यक्ष धु्रव जिसीको स्वागत र सचिव पदम बिश्वकर्माको संचालनमा सम्पन्न भएको थियो ।

Leave a Reply