संघर्षले स्थापित बनेका गायक वसन्त थापा

0

वसन्त थापा, व्यक्ति एक परिचय अनेक । नेपाली सांगीतिक क्षेत्रमा यो नाम नसुनेको र नचिनेको सायदै होलान् । गाउँले परिवेशमा जन्मे, हुर्के र पढ्दै गीत संगीतमा लाग्नु भएका थापाको चर्चा अहिले सर्वत्र छ । बागलुङको गलकोट नगरपालिका वडा नम्बर ७ मल्म गाउँमा सामान्य परिवारमा जन्मिनु भएका थापालाई सानैदेखि गीत संगीतमा लाग्ने हुटहुटी थियो । वनपाखामा गाउँदै बाल्यकाल बिताउनु भएका थापाले भौगोलिक विकटता र स्रोत साधानको अभावका कारण आफ्नो कला सुरुवातमा स्थानीय स्तरमै सीमित बन्यो ।

अहिलेको जस्तो सूचना प्रविधिको सहज पहुँच र पर्याप्त स्रोत साधान नहुँदा उहाँको क्षमता हुँदाहुँदै पनि खुम्चिएर बस्नु पर्ने अवस्था थियो । गाउँका पाखा पखेरामा सुसेली हाल्दै, गीत गुनगुुनाउँदै हुर्किनु भएका थापाका अहिले राष्ट्रिय अन्तर्राष्ट्रिय जगतमा गीतहरु निकै लोकप्रिय छन् ।

माध्यमिक शिक्षा गाउँकै जनहित माध्यमिक विद्यालय, कक्षा ११ र १२ गलकोट हटियामा सकाएर स्नातक तहको पढाइका लागि थापा २०६० सालमा राजधानी छिर्नु भयो । थापा काठमाडौँ छिर्ने समय जनयुद्ध कालको थियो । त्यतिबेला काठमाडाँै प्रवेश गर्नलाई त्यत्ति सजिलो थिएन । यद्यपि थापा विभिन्न बाधा अवरोधलाई पार लगाउँदै राजधानी यात्रा तय भयो ।

त्यस समयमा तत्कालीन शाही नेपाली सैनिकले दिएको दुःखको नमिठो अनुभव थापासँग छ । गाउँले परिवेशमा हुर्के बढेका थापालाई काठमाण्डौमा घुलमिल हुन र त्यहाँको वातावरणसँग समाहित हुन केही कठिनाई पनि भयो । यो स्वभाविक पनि थियो । पढाईका लागि काठमाण्डौं प्रवेश गर्नुभएका थापालाई गायक बन्छु भन्ने त्यतिबेला सम्म थिए । तर, गीत गाउने रहर भने थियो । गीत गाउने हुटहुटीका कारण थापा पढाईमा मात्रै सीमित रहन सक्नु भएन ।

अन्ततः उहाँ गीत संगीत क्षेत्रमा सक्रियतापूवृक लाग्नु भयो । गीत संगीतमा लाग्दा उहाँले विभिन्न आरोह अवरोह पार गर्दै जाँदा गायकको नयाँ परिचय मात्रै पाउनु भएन, पृथक पहिचान सहित सांगीतिक क्षेत्रमा स्थापित हुनुभएको छ । गाउँ घरमा हुँदा सानैदेखिनै गीत गुनगुनाउने थापाले  २०६०÷६१ सालदेखि गीत संगीतको क्षेत्रमा औपचारिक यात्रा आरम्भ गर्नुभयो । सबै गीत संगीत सुन्ने र गुनगुनाउने गरे पनि नेपाली मौलिक लोक गीत संगीत थापाको ‘ब्राण्ड’ बन्यो ।

थापाका सालको पात टपरी हुनी, स्यानीमाया, सयको गुन तिरौला हजारौले, माया हाँसेको, जाम सुस्तै, चौतारीको बर, खेतमा बोके झार, आज सँगै कहाँ को भोली, ए वारि घुम्टे पारी गाजा लगायतका पृथक स्वादका दर्जनौ हिट गीत छन् ।

६० को दशकमा ‘पश्चिमाञ्चल’ बोलको गीतमा शब्द संगीत भर्नुभयो । त्यतिबेला अहिलेको जस्तो युट्युवहरुको प्रचलन थिएन । गीत बजारमा ल्याउनका लागि क्यासेटहरु मार्फत् ल्याउनु पर्ने अवस्था थियो । उतिबेला अहिलेको जस्तो सूचना प्रविधिको सहज पहुँच नभएको हुँदा गीत संगीत सुन्नका लागि रेडियोको नै भर पर्नु पर्ने अवस्था थियो ।

रेडियोमै अग्रज गायकहरुको गीत सुन्दै हुर्किनु भएका थापाले गाउँ घरमा गाइने लोकभाका पनि सुन्ने र गुनगुनाउने अवसर प्राप्त गर्नुभयो । गाउँमा गाइने लोकभाका र रेडियोहरुमा बज्ने गीतहरुबाट प्रभावित हुनु भएका थापालाई सानैदेखि गीत गाउने रहर भने नभएको होइन । त्यो रहरलाई थापाले काठमाडौँ गएको केही समयमै पुरा गर्नुभयो ।

पढ्ने उद्देश्यले काठमाडौँ गए पनि थापाले केही समय पढाईलाई निरन्तरता दिनुभयो । पछि–पछि गीत संगीतलाई पनि जोड दिन थाल्नुभयो र ‘पश्चिमाञ्चल’ पछि ‘निलो फेवा ताल’ को बोलको गीत बजारमा ल्याउनु भयो । उक्त गीत थापाको पहिलो स्वर भरेको गीत हो । थापाले अहिले सम्म दर्जनौँ गीतमा स्वर, दर्जनौँ गीतको सिर्जना र सयौँ गीतमा संगीत भर्नु भएको छ ।

थापाले संगीत भर्नु भएको ‘सालको पातको टपरी’ नेपाली गीत संगीतकै इतिहासमा सबैभन्दा बढी रुचाइएको लोक दोहोरी गीत बनेको छ । जसलाई युट्युवमा ७ करोड २३ लाख बढी पटक हेरिएको छ । गायक थापाका ‘सालको पातको टपरी’ भन्दा अगाडि आएका सयौँ गीतले पनि नेपाली लोक संगीतको बजारमा ख्याती कमाई सकेका छन् । हजारौँ दर्शक स्रोताले मन पराएका छन् ।

थापाले आफ्नो बाल्यकाल गाउँमै लोक गीत संगीत सुन्दै हुर्केको र त्यसको प्रभावका कारण आफू संगीत क्षेत्रमा लागेको बताउनुहुन्छ । गाउँमा रेडियोमा अग्रज कलाकारहरुको गीत सुन्ने र आफूले पनि प्रयास गर्दै गर्दा गीत संगीत प्रति मोह बढेको उहाँको भनाई छ ।

‘म गाउँमा जन्मे, हुर्केको मान्छे हुँ, हाम्रो गाउँनै संगीतमय थियो, बुढापाकाहरुले गाउने, रेडियोहरुमा गीत सुन्ने गर्थेँ, माध्यमिक तहसम्म गाउँमै पढियो, जसले गर्दा गाउँको त्यो प्रभाव प¥यो, सानैबाट गीत गाउँथे,’ थापाले भन्नुभयो ।

गायक थापाले ६० साल तिर स्नातक अध्ययनका लागि काठमाण्डौँ छिरेको सुनाउँदै त्यति बेला आफूलाई गायक हुन्छु भन्ने नसोचेको तर १÷२ वटा गीत गाउने रहर चाही रहेको सुनाउनुभयो । ‘म काठमाडौँ चाहीँ ब्याचलर्स पढ्ने भनेर आएको हुँ, गायक बन्छु भन्ने त थिएन तर गीत चाहीँ गाउँछु भन्ने थियो,’ उहाँले भन्नुभयो ‘पछि पढाईसँगै संगीत तिर पनि जोडिएँ ।’

गीत संगीतमा लाग्दा सुरुवाती दिनमा गीत रेकर्डिङ, प्रकाशन, बजारिकरणमा निकै दुःख भोग्नु परेको बताउनुहुन्छ । सुरु–सुरुमा गीतहरु बजारमा ल्याउन समस्या परे पनि पछि–पछि आफै व्यवस्थापन गर्दै गएको बताउनुहुन्छ ।

‘गाउँको सामान्य परिवारको म, सुरु सुरुमा गीतहरु बजारमा ल्याउन पनि समस्या हुन्थ्यो, पारिवारिक अवस्था पनि त्यस्तै थियो,’ थापाले विगत स्मरण गर्दै भन्नुभयो ‘पछि गीतहरु चल्न थाले, खर्च पनि व्यवस्थापन हुँदै गयो, वातावरण केही सहज बन्दै गयो ।’ अहिलेका सर्वाधिक चर्चित गायकको सूचिमा दर्ज भएका गायक संगीतकार थापा भोलिका दिनमा अझै मौलिक गीत संगीत आम श्रोता दर्शकका माझमा प्रस्तुत गर्ने सोच र योजना रहेको बताउनुहुन्छ ।

Leave a Reply