यातायात व्यवस्था कार्यालय बागलुङले क्युआर कोड भएको अस्थायी लाइसेन्स बितरण थालेको छ ।

मंगलवार संक्षिप्त कार्यक्रम मार्फत कार्यालयले सेवाग्राहीको लाइसेन्स बितरण गरेर अभियानको थालनी गरेको हो । उक्त अबसरमा कार्यालयका प्रमुख पारसिंह थापाले स्मार्ट लाइसेन्स आउन ढीलाइ भएकोले एकबर्ष सम्मकालागि यो लाइसेन्स उपयोगी भएको बताए ।

चालकले सवारी लाइसेन्सको ट्रायल पास गरेपछि दिइने रसिद बोकेर हिड्दा धेरै पटक समस्या आएपछि कार्यालयले यो व्यवस्था गरेको हो । कागज लामो समय नटिक्ने, अक्षर मेटिने र अर्कालेपनि प्रयोग गर्न सक्ने भएपछि कार्यालयले स्मार्ट लाइसेन्स जस्तै देखिने र क्युआर कोड भएको लाइसेन्स बितरण गरेको हो ।

उक्त लाइसेन्समा ट्राफिक प्रहरी र कार्यालयले स्क्यान गरेर विवरण हेर्न सक्ने व्यवस्था गरिएको छ । उक्त लाइसेन्सको म्याद भने ५ बर्षकै हुनेछ । तर एक बर्षभित्रै स्मार्ट लाइसेन्स आइपुग्छ भनेर एक बर्षकालागि अस्थायी रुपमा बितरण गरिएको थापाले बताए । कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख बद्रीप्रसाद तिमिल्सिनाले सवारी नियम पालना गर्न सबैलाई आग्रह पनि गरे । उक्त लाइसेन्स लिएको अवधिमा ५ पटक भन्दा बढी नियम उलंघन गरेमा स्मार्ट लाइसेन्स दिन बाध्य नहुने समेत सुनाए । कारवाहीमा परेपछि उक्त कार्डमा नियम उलंघन गरेको रेकर्ड रहन्छ ।

बागलुङ स्थित यातायात व्यवस्था कार्यालयले बागलुङ सहित पर्वत, म्याग्दी र मुस्ताङको लाइसेन्स बितरणको काम गर्छ । सयौंले दिएको परीक्षापछि लामो समय सम्म स्मार्ट लाइसेन्स नआएकोले अनुगमन समेत फितलो भएको थियो । यो लाइसेन्स बितरणले अनुगमनपनि प्रभावकारी हुने थापाले बताए । Dhorpatandaily

Leave a Reply