घरबाट हराएको ५२ बर्षपछि म्याग्दीका एक पुरुषको पारिवारीक पुनर्मिलन भएको छ । वि.स. २०२३ सालमा घरपरिवारको सम्पर्कबाट हराएका बेनी नगरपालिका–४ थामडाँडाका ७५ बर्षिय गंगाबहादुर गुरुङ (जंगबहादुर भनिने) को मंगलवार मात्रै आफन्तसंग पुनर्मिलन भएको हो ।

वि.स. २००३ सालमा जन्मिएका गुरुङ तत्कालिन समयमा घरबाट हराएर सडक खन्ने काम गर्दागर्दै हराएको करिब चार बर्षपछि कैलालीको चुरे गाउँपालिका–३ मस्य गाउँमा पुग्नुभएको थियो । स्थानीय युवाले सामाजिक सञ्जालमा गुरुङको तस्बिर सहित बागलुङ, बेनी, तातोपानीको नाम लिने उहाँलाई आफ्नो पुख्यौली थलो फर्कन चाहेको सन्देश राखेपछि नेपाल रेडक्रस सोसाईटी म्याग्दीले गुरुङको खोजी सुरु गरेको थियो ।

रेडक्रस अन्तर्गत रहेको खोज तथा उद्धार सेवा केन्द्रले गुरुङको अवस्था र जिल्लामा सम्भावित आफन्तबारे खोजी गरेको थियो । खोजीका क्रममा थामडाँडाबाट बर्षौदेखि आफन्त हराएका परिवार सम्पर्कमा आएपछि गुरुङ र उहाँका आफन्तबिच टेलिफोनमा सम्वाद गराइएको थियो ।

कैलालीमा स्थानीय प्रतिष्ठीत एक व्यक्तिको साहरामा एक्लै बसोबास गर्दै आउनुभएका गुरुङ थामडाँडाका बलबिर गुरुङका हराएका माईला छोरा रहेको पुष्टि भएपछि रेडक्रस म्याग्दीको समन्वयमा उहाँका भाइका परिवारसंग मंगलवार पुनर्मिलन भएको छ । गुरुङका भाईका छोरा शेरबहादुर र छोरी विष्सु गुरुङले रेडक्रस म्याग्दीको समन्वयमा कैलालीमै पुगेर आफ्ना माईलो बुबालाई उद्धार गरि ल्याएका छन् ।
रेडक्रस म्याग्दीको कार्यालयमा औपचारिक रुपमा गुरुङको पारिवारिक पुनर्मिलन गराईएको थियो । रेडक्रस म्याग्दीका सभापति लेखबहादुर हमाल र अधिकृत धनन्जयकुमार श्रेष्ठ, सहित रेडक्रसकर्मीहरुको उपस्थितिमा गुरुङको पारिवारिक पुर्नमिलन गराइएको थियो ।

घरबाट हराएपछि भौतारिएका गुरुङ तत्कालिन समयमा अतरियादेखि डढेलधुराको महेन्द्रराजमार्गमा काम गर्दागर्दे ठेकेदारले पारिश्रमिक नदिएपछि पैदल हिँडेर कैलालिको मस्य गाउँमा पुग्नुभएको गुरुङले बताउनुभयो । उहाँलाई लिनका लागि आफन्त पुगेपछि गाउँलेहरुले भव्य सम्मान सहित विदाई गरेका थिए ।

Leave a Reply