बहुचर्चित कालीगण्डकी करिडोर अन्तर्गतको बेनी–जोमसोम सडकखण्डको काभ्रेभीर यस क्षेत्रका लागि सधै जोखिमपूर्ण बनेको छ। साँघुरो सडकको माथि र तल दुवैतर्फ सामान्य पानी पर्दासमेत पहिरो जाने र बाटो हिलो भएर सवारीसाधन चल्नै नसक्ने हुँदा हप्तैपिच्छे सो सडकखण्ड अवरुद्ध हुने गरेको छ ।

आइतबार रातिको सामान्य वर्षाले उक्त सडक खण्डको काभ्रेभीरमा सडकको दाँयातर्फ (तल्लोपट्टी) पहिरो गएपछि अवरुद्ध बनेको सो सडक तीन दिनपछि आज एकतर्फी रुपमा सञ्चालनमा आएको छ। हिमालपारीको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने उक्त ७६ किलोमिटर सडकखण्डको काभ्रेमा पहिरो गएर सडक अवरुद्ध भएपछि मुक्तिनाथ जाने र त्यहाँबाट फर्कने यात्रु अलपत्र परेका थिए ।

आइतबार रातिको वर्षाका कारण पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो। बर्सेनि पहिरो र नदी कटानका कारण निर्माणधीन बेनी–जोमसोम सडक निकै सास्तीमय हुने गरेको सो सडक खण्ड भएर नियमितरुपमा जोमसोम–बेनी गरिरहने व्यवसायी कृष्ण शर्मा सापकोटाले बताए ।

हिउँद याममा स्तरोन्नति गरिएको सडक बर्खायाममा विग्रदा आयोजना सम्पन्न हुनेमा चुनौती थपिएको छ। उक्त सडकअन्तर्गत म्याग्दीको गलेश्वर, बेगखोला, बैसरी, तातोपानी, दाना, रुप्से र काभ्रेभीरलगायतका सडकमा वर्षाले दुख दिने गरेको छ। लगातार वर्षाले सडक हिलाम्मे हुने, पहिरो जाने र सडकका संरचना भासिने गरेको दानाका पर्यटन तथा होटल व्यवसायी इन्द्रमान शेरचनले बताए ।

गत असारदेखिको वर्षाले सडक संरचनामा क्षति पुगेको छ भने सडकको अवस्था दयनीय बनेको छ। यहाँ सामान्य वर्षा हुँनासाथ ढुङ्गा, माटो र लेदोसहितको पहिरो खस्नुका साथै बाटो बगाउने र हिलो हुने समस्याले कतिबेला दुर्घटना हुने हो भन्ने भय रहिरहने स्थानीयवासी श्याम खत्रीले बताए ।

सडकखण्ड अन्तर्गत अन्नपूर्ण गाउँपालिका– ३ रुप्से छहरा, काभ्रेभीर, बाँदरजुंगे भीरमा सडकको अवस्था अत्यन्त दयनीय र डरलाग्दो रहेको अन्नपूर्ण गाउँपालिका– ६ का कृष्ण बरुवालले बताए। वर्षाका कारण ढुङ्गा र माटोसहितको लेदो खसिरहेकाले ठाउँठाउँमा पहिरो जाने क्रम भने अझै नरोकिएकाले यात्रु तथा सवारीसाधनलाई आवश्यक सुरक्षा सावधानी अपनाएर यात्रा गर्न अनुरोध गरिएको प्रहरीले जनाएको छ ।

बेनी–जोमसोम–कोरला सडक खण्डको विभिन्न चार ठाउँमा अहिले स्तरोन्नति तथा कालोपत्रको काम भइरहेको भएतापनि काभ्रेभीर भौगोलिक रुपमा नै अत्यन्त कमजोर र बढी जोखिमयुक्त रहेको स्थानीयवासी खड्क खत्रीले बताए। पहिराले काभ्रेमा करिब १५ मिटर सडक भासिएको, स्थानीयवासीको खेतीयोग्य जमिन बगेको र १५ घर जोखिममा परेका उनको भनाइ छ ।

बेनी–जोमसोम खण्डमा ४–५ ठाउँ अत्यन्त जोखिमयुक्त छ । बेनी–जोमसोम–कोरला आयोजनाले बेनी–जोमसोम (७६ किमि) र जोमसोम–कोरला (११० किमि) लाई दुई खण्डमा बाँडेर स्तरोन्नति गर्दैछ। त्यसअनुसार बेनी–जोमसोम खण्डमा दोहोरो सवारी चल्ने गरी कालोपत्र हुनेछ भने जोमसोम–कोरला खण्डको स्तरोन्नति भइरहेको छ ।

सडक क्षतविक्षत भएपछि मुक्तिनाथ दर्शन गर्न पुगेका तीर्थयात्रीसहित पर्यटक अप्ठेरोमा परेका छन्। सडक खण्ड अन्तर्गत तातोपानीको पोखरी, नागढुङ्गा, दानाको गुइँठे, काभ्रेभीर, मुस्ताङको थासाङ् गाउँपालिका–४ घाँसा, सिर्कु, मार्फाको स्याउबारी आसपासमा कालीगण्डकी नदीले व्यापक कटान गरेको छ ।

लगातारको वर्षा, भिरालो जमिन, भूमिगत पानी, कमजोर भूबनावट र कालीगण्डकी नदीको कटानले सडक छियाछिया परेको छ भने मोटरेबल पुलसमेत जोखिममा छन्। उत्तरी म्याग्दी हुँदै हिमाली जिल्ला मुस्ताङ जोड्ने एकमात्र राजमार्गको आधा दर्जन ठाउँमा तल र माथिबाट खसेको पहिराले भदौको पहिलो सातादेखि नै सडक नियमित सञ्चालन हुन सकेको छैन। भारी वर्षापछिको बाढीपहिराले म्याग्दी र मुस्ताङमा थुप्रै स्थान चर्किएको र भासिएको छ ।

बेनी–जोमसोम–कोरला सडक खण्डमा करिब पाँच अर्बको लगानीमा सडकको स्तरोन्नतिका काम भइरहेको छ। रु दुई अर्ब ४० करोड लागतको तल्लो खण्डमा विस्तार र कालोपत्र गर्ने र दुई अर्ब ६० करोडको लागतमा माथिल्लो खण्डको स्तरोन्नति हुने बेनी-जोमसोम-कोरला सडक आयोजनाले जनाएको छ । रासस

Leave a Reply