दशैँलाई लक्षित गरि हिमाल पारिको जिल्ला मुस्ताङबाट करिब १२ हजार भेडाच्याङ्ग्रा निकासी भएको छ । तिब्बतबाट भेडाच्याङ्गा नआएपछि बिगतको तुलनामा झण्डै आधाको संख्यामा भेडाच्याङ्ग्रा निकासी भएको हो । अघिल्ला बर्षहरुमा २० देखि २५ हजारको संख्यामा भेडाच्याङ्ग्रा निकासी हुँदै आएको थियो ।
निकासी भएका सबै भेडाच्याङ्ग्रा मुस्ताङमै उत्पादन भएको र करिब १२ हजारको हाराहारीमा जिल्लाबाट निकासी भएको पाईएको भेटरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्र मुस्ताङका अधिकृत ऋषिराम पोखरेलले जानकारी दिनुभयो । ‘‘स्वास्थ्य परिक्षणमा जम्मा ३ हजार ५६० पुगेको छ, व्यापारीहरुले संख्या घटाएर टिपाएको भएपनि जिल्लाको नाकाबाट बाहिरिएको रिपोर्टमा १२ हजारको संख्यामा भेडाच्याङ्ग्रा निकासी भएका छन’’–उहाँले भन्नुभयो ।
पशु चिकित्सकहरुबाट स्वास्थ्य परिक्षण गराउँदा प्रतिगोटा रु १५ रुपैयाँ शूल्क तिर्नुपर्ने भएकाले समेत व्यापारीहरुले आधाको मात्रै संख्या टिपाउने गरेको पाईएको छ । भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्र मुस्ताङले थासाङ गाउँपालिका, बंगुर जोन र धौलागिरि प्राविधिक शिक्षालयका पशु चिकित्सकहरुसंग समन्वय गरेर भेडाच्याङ्गाको स्वास्थ्य परिक्षण गर्ने प्रवन्ध मिलाएको थियो ।
कार्यालयका अनुसार, यस बर्ष मुस्ताङबाट ठुलो संख्यामा च्याङ्ग्रा र थोरै संख्यामा भेडा निकासी भएको छ ।यो बर्ष तिब्बतबाट भेडाच्याङ्ग्रा आयात नभएको र मुस्ताङका घुम्ती गोठ र खोरपालेहरुले उत्पादन गरेका भेडाच्याङ्ग्राले माग नधान्ने भएपछि कृषक र बिचका व्यापारीहरुले मुल्य बढाएका छन् ।
गत बर्षको तुलनामा मुस्ताङमै प्रतिगोटा ५ देखि १० हजारसम्म मुल्य बढेको व्यापारीहरुले बताएका छन् । जोमसोम पुगेर २ सय च्याङ्ग्रा खरिद गरि ल्याएका सिन्धुपाल्चोकका अमर बहादुर ठकुरीले अघिल्लो बर्षको तुलनामा प्रतिगोटा ५ देखि ११ हजारसम्म मुल्य बढी तिर्नुपरेको बताउनुभयो ।
‘‘अघिल्लो बर्ष प्रतिगोटा २५ हजारसम्ममा खरिद गथ्र्यौ, यो बर्ष ३५ हजार सम्म परेको छ, पोखरा सम्म पु¥याएर विक्रि गर्दा ४० हजार सम्ममा विक्रि गर्ने हो’’–ठकुरीले भन्नुभयो । यो बर्ष डोल्पाबाट आएका ४ हजार र बाँकी ८ हजार भेडाच्याङ्ग्रा मुस्ताङको लोमान्थाङ, छोसेर, छोण्हुप, सुर्खाङ, कागबेनी, झोङ, घमी, चराङ लगायतका स्थानका किसानले पालेका भेडाच्याङग्रा बजारमा भित्र्याईएको छ ।
म्याग्दी, पर्वत, बागलुङ, कास्की, बुटवल लगायतका क्षेत्रबाट मुस्ताङ पुगेका व्यापारिहरुले भेडाच्याङ्ग्राहरु बजारमा ल्याइसकेका छन् । बजारमा रोजा भेडाच्याङ्ग्रालाई ४५ हजारसम्म पर्ने गरेको छ । उच्च हिमाली भेगमा पालन गरिएका भेडाच्याङ्ग्राहरुले बिषेश गरी लेकालि जडिबुटिहरु खाने भएकाले दशैँ तिहार जस्ता पर्वहरुमा पोसिलो मासुको रुपमा मुस्ताङका भेडाच्याङ्ग्राको माग बढी हुने गर्दछ ।

Leave a Reply