धेरै मानिसहरुको रहर काठमाण्डौंमा घर बनाउने,त्यही बस्ने र रमाउने हुन्छ । यही रहर पूरा गर्नका लागि कैयौं व्यक्तिहरु विदेश जान्छन् । गाउँको जाय जेथा बेचेरै भए पनि दुई तीन आनाको टुक्रे जग्गा किनेर काठमाण्डौंमा घर बनाउँछन् । तर म्याग्दीका एक जना व्यक्ति काठमाण्डौबाट गाउँमा फर्केर स्थानीय जातका कुखुरा पालन र १४ रोपनी क्षेत्रफलको धान फल्ने खेतमा केराखेती गरेर गाउँमा नै रमाएर बसेका छन् ।
काठमाण्डौंको गोंगबुमा रहेको आफ्नो पाँच तले घर अरुलाई भाडामा दिएर गाउँ फर्किनुभएको बेनी नगरपालिका वडा नं २ बगरफाँटका दुर्गाबहादुर थापाको दैनिकी कुखुरा र केरा खेतीको स्याहार सुसारमा वित्ने गर्छ ।
विहान उठेदेखि राती नसुतुन्जेलसम्म उनी कुखुराको खोर र केरावारीमा नै व्यस्त रहन्छन् । काठमाण्डौंको बसाइलाई बीट मारेर गाउँ फर्किएका ५४ वर्षिय थापाले गाउँमा रहरलाग्दो गरी कुखुरा पालन र केरा खेती गरेका छन् । रु ८ लाखको लगानीमा उनले स्थानीय जातका कुखरा पालन गरेका छन् । ‘खोर बनाउन र कुखुराका चल्ला खरिद गर्न रु ८ लाख लगानी भैसकेको छ’ थापाले भने ‘काठमाण्डौंको एकांकी जीवन भन्दा यही आनन्द छ । आफ्नै माटोमा रमाउनुको मज्जै बेग्लै हुँदो रहेछ । मनमा शान्ति छ,शरीरमा स्फुर्ति छ,यहाँभन्दा बढी के चाहियो र ?’
दुई वर्षअघि कोभिड १९ को सङ्क्रमण शुरु हुने वित्तिकै श्रीमती,छोरा र बुहारी सहित गाउँ फर्किएका थापाले कोरोना सङ्क्रमणको पहिलो लहर शुरु हुने वित्तिकै ८ रोपनी जग्गामा करिब एक हजार केराका विरुवा लगाउएर कृषि कर्मको शुभारम्भ गरेका थिए । ‘यो खेतमा पहिला धान फल्थ्यो,धान खेती गर्न लागत बढी लाग्ने,उत्पादन कम हुने, झन्झटिलो हुने र कृषि मजदुरको पनि अभाव हुने भएकाले मैले धान फल्ने खेतमा केरा खेती गरेको हुँ’ घर पछाडीको केरा बारीलाई देखाउँदै थापाले भने ‘दुई वर्ष भयो,अव आउँदो वर्षदेखि केरा विक्रि गरेर वार्षिक रु चार लाख भन्दा बढी कमाइ गर्ने लक्ष्य लिएको छु ।’ थापालाई उनकी श्रीमती र छोराले पनि सघाउने गरेका छन् ।
त्यसैगरी थापाले यस क्षेत्रमा नै पहिलो पटक व्यवसायिक रुपमा स्थानीय जातका कुखुरा पालन गरेका छन् । उनको खोरमा अहिले ६ सय बढी स्थानीय जातका कुखुरा विक्री गर्नका लागि योग्य भएका छन् ।
प्रति कुखुरा करिब तीन किलो ग्राम बराबरका छन् । प्रतिगोडा रु २ हजारका दरले विक्रि गर्न शुरु गरेका छन् । दशैंमा विशेष छुटका साथ कुखुरा विक्री गर्ने थापाले बताए । ‘मैले रहरले गरेको व्यवसाय हो,एकै पटक धेरै नाफा कमाउने उद्धेश्यले मैले व्यवसाय गरेको होइन,ग्राहाकलाई खुसी बनाएर पठाउने र सन्तुष्टि दिलाउने मेरो प्रयास हुने छ ।’ थापाले भने ।
घर वरिपरि रहेको १४ रोपनी जग्गामध्ये ८ रोपनीमा केरा खेती र बाँकी ६ रोपनीमा फलफूल,तरकारी खेती गर्नुका साथै कुखुराको खोर बनाएका छन् । साना ठूला गरी ३ वटा खोरमा उनले स्थानीय जातका कुखुरा पालेका छन् । एउटा खोरमा कालिज प्रजातिको ‘कक्कड’ नामक कालो कुखुरा पनि विक्री योग्य भएका छन् ।
करिब २० वर्ष कोरिया बसेर फर्किएका थापा काठमाण्डौंमा घर बनाएर एक दशकसम्म होटेल व्यवसायमा पनि गरे । आफ्नै घरमा संचालन गरेको सपना गेष्ट हाउस अहिले अर्कैलाई भाडामा दिएर गाउँमा आइ कृषिमा रमाएको उनले बताए ।
‘जीवनमा धेरै दुःख गरियो,धेरै थोरै कमाइयो पनि’ थापाले भने ‘तर,कही पनि मन रमाउन सकेन,त्यसैले आफ्नै गाउँ फर्किआयौं ।’

Leave a Reply