बेनी नगरपालिका २ बगरफाँटकी ६८ वर्षिया यामकुमारी शर्माले १३ मार्च २०२१ सम्म मात्र उपभोग्य मिति रहेको वाइवाइ चाउचाउ बजारबाट ल्याएर आफ्नो ११ वर्षिय नातिलाई दिइन् । अंग्रजी लिपिमा अग्रेजी मिति नै राखेर बिक्री गरिएको त्यो चाउचाउको उपभोग्य म्याद कहिलेसम्म छ भनेर न शर्माले हेर्न जानिन् न त उनको नातिले नै । उनको नातिले आधा चाउचाउ खाइसके पछि बाहिरको प्याकेटमा हेर्दा त्यो चाउचाउको उपभोग्य म्याद सकिएको ६ महिना भैसकेको थियो ।

त्यस्तै ज्यामरुककोटका विनायक सापकोटाले स्थानीय बजारबाट २ किलो मुस्ताङी भनिएका आलु, प्रतिकिलो १ सय रुपैयाँका दरले किनेर घरमा लगे । तरकारी बनाउन आलु काट्ने बेलामा आधा भन्दा बढी आलु कुहेका, बाहिर ठीकै देखिए पनि भित्र किरा र रोग लागेर निलो भएका पाइए ।
यी त केही प्रतिनिधिमूलक उदाहरणहरु मात्रै हुन् । म्याग्दीको सदरमुकाम बेनी लगाएत अन्य ग्रामीण बजारहरुमा अनुगमन गर्ने निकायहरुको उदासिनताका कारण व्यापारीहरुले सामानको मूल्य र गुणस्तरमा मनपरी गर्दै आएका छन् ।
म्याग्दीको सदरमुकाम बेनीबजार लगाएत पश्चिम म्याग्दीको दरवाङ, सिंगातातोपानी, बाबियाचौर, उत्तरी म्याग्दीको गलेश्वर, तातोपानी लगायत अन्य ग्रामिण क्षेत्रका पसलहरुमा एउटै सामानको मूल्य पनि फरकफरक हुने गरेको स्थानीय वासिन्दाहरुको भनाइरहेको छ ।
“सदरमुकाम र ग्रामिण क्षेत्रका अधिकांश पसलहरुले म्याद नाघेका खाद्य लगाएत दैनिक उपभोग्य सामाग्रीहरु फरक फरक मूल्यमा बेचिरहेका छन्, बजारमा व्यापारीहरुको मनपरी छ, नियमनकारी निकाय नदेखेजस्तो गरिरहन्छ” मालिका गाउँपालिका ७ बिमका टेकबहादुर जुग्जालीले भने “यो त अचाक्ली नै भयो, पैसा तिरेर किनेको सामान खान लायककै हुँदैन ।”
अहिले बजारमा खाने तेल, मैदा, चिनी, दाल, चामल लगाएत दैनिक उपभोग्य वस्तुहरुको मूल्य आकासिएको छ । उपभोग्य बस्तुको मूल्यमा वृद्धि भए पनि आम उपभोक्ताहरुले बढी मूल्य तिरेर भए पनि खरिद गर्न बाध्य भएको विषयमा गुनासो आएको म्याग्दी उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष सुविन श्रेष्ठले बताए ।
“तेलमा मूल्य बढेको अवस्था देखिन्छ, अन्य उपभोग्य बस्तुमा धेरै गुनासो आएको छैन” श्रेष्ठले भने । तेलको मूल्य स्थानीय ब्यापारीले भन्दा पनि कम्पनीबाटै बढेको अवस्थाका बारेमा जिल्ला प्रशासन कार्यालयमा समेत जानकारी गराइएको उनले बताए ।
यता जिल्ला प्रशासनबाट हुने बजार अनुगमन औपचारिकतामा मात्रै सीमित हुने गरेको पाइन्छ । सहायक प्रजिअको नेतृत्वमा हुने बजार अनुगमनबाट समेत महंगी नियन्त्रण हुने गरेको छैन । केही दिन अगाडी समेत बजार अनुगमन गरिएको थियो । बजार क्षेत्रमा दैनिकी उपभोग्य बस्तुको मूल्य कसरी बढी रहेछ भन्ने बिषयमा सम्बन्धित निकायले चासो देखाउनु पर्नेमा उपभोक्ताले माग गरेका छन् ।
म्याग्दीको सदरमुकाम बेनीमा चिनीको मूल्यमा मनपरी हुन थालेको छ । चाडपर्वहरु नजिकिएसंगै बेनीबजार तथा आसपासमा क्षेत्रमा केही ब्यापारीले चिनीको प्रतिकेजी रु ९० देखि १ सय ५ रुपैयाँसम्म लिने गरेको पाइएको हो ।
यता यता बजार अनुगमनको अधिकार पाएको जिल्ला प्रशासन कार्यालय बेमौसमी अनुगमनमा मात्र ध्यान दिने गरेको छ। प्रशासनकाअधिकारीहरुले मनपरी मूल्य लिनेहरुलाई कारवाहीको दायरामा ल्याउने बताएका छन् ।
बेनीबजारमा चाडपर्वको समयमा मनपरी मूल्य लिन थालेपछि गुनासो आएको पसलमा ग्राहक नै बनेर जाने तयारी समेत भइरहेको स्रोतले जनाएको छ । कालोबजारी रोक्न ब्यवसायीलाई समेत प्रशासनले अपिल गरेको छ । यता ग्रामीण क्षेत्रमा समेत दैनिकी उपभोग्य बस्तुको मूल्य आकासिएको छ । ढुवानी खर्च, बजारमै मूल्य आकासिएको जस्तो कारण देखाउँदै ग्रामीण क्षेत्रमा समेत खाद्यान्न सहित उपभोग्य वस्तुमा जथाभावी मुल्य लिने गरेको उपभोक्ताले गुनासो गर्ने गरेका छन् । File photo

Leave a Reply