म्याग्दीको बेनी नगरपालिका २ फापरखेतका आइते दर्जीले दुवै आँखा देख्नुहुन्न । शारीरिक रुपमा समेत कमजोर जन्मदेखि नै दृष्टिबिहीन दर्जीको जिम्मेवारी भने थेगिनसक्नुको छ । हुर्केका दुईवटा छोरा बेरोजगार छन् भने कमाइखाने जग्गा जमिन नहुँदा आफूले गिट्टी गुट्ने र श्रीमतिले दैनिक ज्याला मजदुरी गरेर साँझ विहानको गर्जो टार्दै आएका छन् ।
उनको दयनीय अवस्था देखेर देश विदेशमा रहेका केही व्यक्तिहरुको सहयोगबाट निर्माण गरिएको सानो घरमा बस्दै आउनुभएका दर्जीलाई अघिपछि त खासै नियास्रो लाग्दैन । तर,जब चाडवाड आउँछन् तब आफ्नो अवस्था र गरिबीलाई धिक्कार्न मन लाग्छ ।
अहिले हुनेखाने र शारिरिकरुपमा सबल व्यक्तिहरुलाई दशैंको रौनकले छोएको छ । देश विदेशमा रहेका परिवारका सदस्यहरु जमघट हुने, मीठामीठा परिकार खाएर रमाउने, आपसमा खुसी साट्ने गरिरहँदा आइते दर्जी जस्तै अत्यन्त विपन्न परिवारलाई भने ‘साँझ खाए बिहान के खाउँ’ भन्ने चिन्ताले पिरोलिरहेको छ ।
बेनी नगरपालिका ५ पुलाचौरको पुरण्यका गणेश दर्जीको अवस्था पनि आइतेको भन्दा कम दयनीय छैन । शारीरिक रुपमा सबल भएपनि गणेश दर्जीलाई भाग्यले भने कहिल्यै साथ दिएन । आफ्नो बुबाको जग्गा जमिन अर्कैले रजिष्ट्रेशन पास गराएर हडपेपछि सुकुम्वासी बनेका ४२ वर्षिय गणेशले बाल्यकालदेखि अहिलेसम्म कहिल्यै पनि सुखको सास फेर्न सकेका छैनन् ।
लोग्ने स्वास्नी, दुई छोरी र आमा गरी पाँच जना परिवारको जिम्मेवारी एउटै व्यक्तिको काँधमा आउँदा जग्गा जमिन र नियमित आम्दानीको कुनै स्रोत नभएका गणेश सधैं के खाने र कसरी आङ छोप्ने भन्ने पिरलोले नै रन्थनिने गर्छन् ।
यी दुईजना दर्जी बन्धुहरुको जस्तै अवस्था भएका धेरै व्यक्तिहरु हुन् । जसलाई न चाडवाडको रमाइलोले छुन्छ, न त दशैं तिहारजस्ता पर्व आउनु र नआउनुमा कुनै फरक नै पर्छ । वडादशैंमा हुनेहरुका लागि किनमेल सुरु भइसकेको छ । तर, फापरखेतका आइते र पुरण्यका गणेशजस्तै म्याग्दीका धेरै विपन्न परिवारका सदस्यलाई भने दशैंको कुनै माहोल लागेको छैन । छरछिमेकी दशैंको जोहो गर्नतिर लागेका छन् । घरमा परिवार जम्मा भएका छन् । तर, गरिबहरुको घरमा दशैंको लागि केही सोचिएकै छैन ।
गरिब र विपन्न बर्गको उत्थानका लागि सरकारले दिने सहुलियत र सुविधाहरु पनि वास्तविक गरिब र विपन्न वर्गको पहुँचसम्म पुग्न सकेको देखिदैन । राजनीतिक रुपमा पहुँच भएका, टाँठाबाठा व्यक्तिहरुले नै गरिबको नाममा आएको सहुलियत र सुविधाहरु दुरुपयोग गर्ने गरेको बेनी नगरपालिका ५ पुरण्यका यामबहादुर दर्जीले बताए ।
“हामीलाई त केही छैन, अलिअलि भएपनि खेतवारी छ, झुपडी नै भए पनि आफ्नै जग्गामा बसेका छौं, हातगोडा सबल छन्, परिश्रम गरेर खान्छौंं, चाडपर्व मनाउँछौंं” यामबहादुरले भने “तर, गणेश जस्ता निरिह, केही नभएका र बोल्न सक्ने ल्याकत पनि नभएका अति पीडित र विपन्नको नाउँमा आउने सुविधा र सहुलियत त सम्वन्धित व्यक्तिले पाए उनीहरुको अवस्था केही सुधार हुन्थ्यो होला नि ।”
त्यसैगरी ज्यामरुककोटकी ६९ वर्षिया गङ्गादेबी सार्कीका श्रीमान १० वर्षदेखि बेपत्ता छन् । उनी अहिले सेउलीबजारको सुकुम्बासी जग्गामा बसोबास गर्दै आएकी छन् । उनको नाममा जग्गा जमिन केही छैन । ज्यामरुककोट फापर खेतकै पतिराम सार्की बेसाहारा छन् । उनका न सन्तान छन् न सम्पत्ति नै ।
त्यस्तै ४० वर्षिया तुलसी सार्की एकल महिला हुन् । उनको पनि सम्पत्तिको नाउँमा तिलराख्ने ठाउँ समेत नभएको उनी बताउँछिन् । त्यस्तै घरबार बिग्रेर माइतै बसी, अरुको घरमा निमेक गरेर दुईवटा बालबच्चा हुर्काइरहेकी फापरखेतकै ४५ वर्षिया बैरी सर्किनीको अवस्था पनि अत्यन्तै कहाली लाग्दो रहेको छ ।
यी सबै व्यक्तिहरुलाई दशैंको कुनै पनि रौनक र रमाइलो छैन । रातदिन गरिबीमा पिल्सनु र आधा पेट खाएर साँझ विहान घचेट्नु बाहेक अर्को उपलव्धी अहिलेसम्म जीवनमा प्राप्त नभएको उनीहरुको भनाइरहेको छ ।
“सबैको घरमा दशैं आएको छ, तर हाम्रो घरमा दशा लागेको छ” फोनमा कुरा गर्दै गणेशले भने “छोरीहरुले नयाँ कपडा र मीठो खानेकुरा चाहियो भन्छन्, आफूलाई साँझ विहानको गास जुटाउनै धौ धौ परेको छ, कहाँबाट ल्याउनु नयाँ कपडा र मीठो खानेकुरा ।”
दशैं हुनेखाने र भए खाने वर्गको बीचमा ठूलो खाडल बनेको यहाँका वुद्धिजीविहरु बताउँछन् । हुनेखानेहरुले जति महङ्गो भए पनि रामै्रसंग दशैं मनाउँदा नहुनेहरुको मनमा खिन्नता उत्पन्न हुन्छ । यसले गर्दा कतिपय व्यक्तिहरु चोरी, बदमासी जस्ता अपराधजन्य कार्यहरुमा समेत लाग्ने गर्दछन् ।

Leave a Reply