२०६० साल चैत ७ गतेको रात धेरै म्याग्देलीहरुका लागि ‘भय र काल’को रात बन्यो । तत्कालिन नेकपा माओवादीले बेनी आक्रमण गरेको त्यो रात अझै पनि यहाँका वासिन्दाहरुले विर्सन सकेका छैनन् । सोही आक्रमणको जगबाट नै तत्कालिन नेकपा माओवादी सात दलीय मोर्चामा सहभागी हुने आधार बन्यो र २०६२÷०६३ को ऐतिहासिक जनआन्दोलन सफल भयो । राजतन्त्रको अन्त्य भै गणतन्त्र स्थापना,नयाँ संविधान र संघीय व्यवस्थाको शुरुवात भयो ।
यी त भए राजनीतिक परिवर्तनका कुरा । बेनी आक्रमणले राजनीतिक परिवर्तनको आधार मात्र तयार गरेन, धेरैको ज्यान पनि लियो । अंगभंग बनायो । उठीवास लगायो । त्यो दुःखद घटनाबाट पिरोलिएर खाडी पसेका यहाँका केही व्यक्तिहरुले भने जीवनमा चमत्कारिक परिवर्तन गरे । ती व्यक्तिहरु मध्येका दुई जना प्रतिनिधि पात्र हुन् बेनी नगरपालिका ५ पुलाचौरको पुरण्यका डिलबहादुर दर्जी र रिजन दर्जी ।
स–साना झुपडीमा गरिब र दलितहरु बसोबास गर्दथे बेनी नगरपालिका ५ पुरण्यको वस्तीमा । दुई दशक अघिको त्यो गाउँको जीर्ण अवस्था अहिले भने एकादेशको कथा जस्तै बनेको छ ।
अहिले एकादेशको कथा बनेको पुरण्य गाउँको व्यथा माओवादीले बेनी आक्रमण गर्दा अर्थात् २०६० साल चैत ७ गते पछि बल्ल छताछुल्ल भयो । गरिबीको मारमा पिल्सिएका त्यहाँका दलितहरु दैनिक ज्याला मजदुरीका लागि टाढाटाढाका गाउँमा जानुपर्ने वाध्यता थियो । यही क्रममा गाउँका ७ जना व्यक्तिहरु सदरमुकाम बेनी बजारको पारीपट्टि पर्ने बेनपा २ को खबरामा घर निर्माण गर्न गएका थिए । राती कटेरामा सुतेका बेला सेनाको नाइटभिजन हेलिकोप्टरबाट वर्षेको गोलीले तीन जना ठहरै भए । त्यो रात बेनी आक्रमणको रात थियो । आफ्ना तीनजना साथीहरु मारिएपछि बचेका अरु ४ जना घर फर्के । ती चार जनामध्येका दुईजना थिए डिलबहादुर दर्जी र रिजन दर्जी ।
घरको अवस्था अत्यन्त कमोजर भएकाले उनीहरुले डर मानेर घरमै बसीरहे विहान बेलुकीको छाक टर्दैनथ्यो । दिनहरु वित्दै गए । बेनी आक्रमणको घटनाले उत्पन्न गराएको डर पनि विस्तारै विस्तारै कम हुँदै गयो । मानिसहरु पुनः आफ्नै लयमा फर्किन थाले ।
यसै मेसोमा पुरण्यका डिलबहादुर, रिजन, यामवहादुर लगाएतका कैयौं युवाहरु खाडी मुलुक पसे । कतार, साउदी, युएई पसेका ती युवाहरुको मिहिनेतले सार्थकता पाउन थाल्यो । उनीहरुले पैसा कमाएर घरमा रहेका आफन्तलाई पठाउन थाले । अनि फेरियो पुरण्य गाउँको मुहार ।
घरमा आर्कषक टिभी, गोठमा दुहुनो भैसी र बैंकमा पैसा,अनि शहरमा घर घडेरी केही वर्ष अगाडिसम्म पुरुन्नेका दलित समुदायलाई सपना जस्तै लाग्ने यो अवस्था अहिले उनीहरुले नै भोग्न पाएका छन् ।
आर्थिक अवस्था कमजोर भएकै कारण दैनिक ज्याला मजदुरी गरेर घरखर्च चलाउने गरेका पुरुन्नेका दलितहरुको दैनिकीमा अहिले पत्याउनै नसकिने किसीमले परिवर्तन आएको छ । गाउँबाट धमाधम वैदेशिक रोजगारमा जानेको लर्को लाग्न थालेपछि पुरुन्नेवासीको हातमा मोबाइल, घरमा महँगो टिभी, श्रीमती र छोराछोरीको घाँटीमा सुनको सिक्री, हातमा औंठी र सहर बजारमा घरघडेरी समेत छन् ।
पुरुण्डीका यामबहादुर दर्जीले दिएको जानकारी अनुसार १०३ घर परिवार रहेको पुरुण्डीको दलित वस्तीबाट अहिले एकाध बाहेक सवै घरका युवाहरु विदेशमा गएका छन् । आर्थिक अत्यन्त कमजोर भएपछि छिमेकीको घरमा भाडा, दैनिक मजदुरी गरेर गास जुटाउने गरेका यहाँका दलित परिवार घरका उमेर पुगेका भाइ छोरालाई ऋण खोजेर विदेश पठाएको केही वर्षमै गाउँमा आफ्नै घरसहित आधुनिक सुविधा उपभोग गरिरहेका छन् ।
गाउँघरमा ज्याला मजदुरी गरेर दिन विताउने गरेका यहाँका युवाहरु विदेश गएर धमाधम रेमिट्यान्समार्फत पैसा पठाउन थालेपछि पुरुन्नेमा व्यक्तिगत आर्थिक जीवनस्तरका साथै सरसफाइ, जीवनशैली, जनचेतना र अन्य व्यवहारमा समेत परिवर्तन आएको गाउँका अगुवा यामबहादुर दर्जीले बताउनुभयो ।
पुरुन्नेका अधिकांश घरबाट खाडीमुलुक कतार, साउदी अरब, बराइन, मलेसिया, भारतलगायतका देशमा गएपछि गाउँको रुप फेरिएको छ । आर्थिकस्तरमा परिवर्तन भएसँगै सरसफाइसहित जनचेतनामूलक कार्यमा समेत गाउँले सक्रिय रहेका छन्। पुरुन्नेमा मासिक ३० लाख रुपैयाँ बढी रेमिट्यान्सबापतको रकम भित्रिने गरेको स्थानीयले बताएका छन्।
आर्थिकस्तरमा परिवर्तन भएपछि सरसफाइ, नयाँ प्रविधिको प्रयोग, शिक्षादिक्षामा समेत सहज भएको छ। बालबालिकाले समेत निजी तथा गाउँकै सामुदायिक विद्यालयमा समेत उत्कृष्ट अङ्क ल्याउन सफल भएका छन्। श्रीमान् विदेश गएपछि महिलाले गाउँमा फेन्सी, सिलाइकटाइ, खुद्रा पसलसहित विभिन्न स्वरोजगारमूलक काम गरिरहेका छन्।
त्यसैगरी केही युवाहरुले बैदेशिक रोजगारबाट कमाएको पैसाले पोखरामा घडेरी किनेर घर समेत बनाएका छन् । ती मध्येका एक युवा हुन् रिजन दर्जी । ४३ वर्षिय दर्जी विगत १३ वर्षदेखि युएईमा छन् । उनले यो अवधीमा २ छोरी, १ छोरा र श्रीमतीले चाहेको पुर्याइदिनुका साथै पोखरामा घडेरी किनेर घर समेत बनाएको गणेशले बताए ।

Leave a Reply