खेतमा धान झुल्दा

बारीमा कोदो फूल्दा
दशै आएछ भन्ने लाग्यो
तर मन भारी भएर थाक्यो ।

देखेँ, मेरो बिरङ्गिएको घर
देशमा झाङ्गिएको कोरोना कहर
देखेँ, निलो आकाशमा गएका
युवा युवतीहरु,
काठको बाकसमा आएका
त्यसैले लाग्यो देश र म दुबैलाई
दशै आएन क्यारे ।

तर देखेँ,
करेसामा फूलेका थुङ्गे फूल
जसले दशै डाकिरहेछ
छिमेकी पनि घर रङ्गाउँन
सिपका साथ लागिरहेछ ।
देखेँ,
म वनमा घास काट्न जाँदा
छिमेकी,
बैंकमा पैसा साट्न गएको
त्यसैले दशै आएछ भन्ने लाग्यो ।

सम्झेँ,
घर जहानका लुगा फाटेका
देखेँ, आमा मेरी दशैका लागि
धान नभएर मकै पिँध्न आँटेका
त्यसैले लाग्यो दशै आउन लागेछ ।
तर
न जमरा छरेको छु
न दक्षिणाको सामा गरेको छु
त्यसैले,
दशै दशा जस्तै लागिरहेको छ ।

तर तिमी,
आउनु पर्छ मेरा घर
जहाँ मासु भात हैन
मायाको साथ छ
दुर्गा माताको वास छ
त्यसैले तिमी आउनुपर्छ ।

यदि,
तिमी आएनौ भने
बुवाका आत्मा भत्किने छन्
मन मेरा त्यसै छट्पटीने छन्
आमाका आँखाबाट आसु झर्नेछन्
दाइ मेरा जीउँदै मर्ने छन् ।
त्यसैले,
तिमी आउ चेली, सम्झी माइतीघर
म तिमीलाई दक्षिणा दिन नसकुँला
तर आमाका अमूल्य आशीर्वाद र
दुई थोपा आँसु अवश्य दिनेछु ।

(विजया दशमी २०७८ को हार्दिक मंगलमय शुभकामना)
मनकुमार जुग्जाली
मंगला-१, भर्जुला, म्याग्दी
शिक्षक श्री थाइबाङ्ग आधारभूत विद्यालय
मंगला-१, थाइबाङ्ग, म्याग्दी

Leave a Reply