दशैको रौनक : उमेर बढ्दै जादा घट्दै जाने

0

म सानो थिए । म स्कुल पढ्थे। जब दशैको माहोल सुरु हुन्थ्यो। ढुङ्गा माटोले बनेको स्कुल छ्यापिन्थ्यो घर छ्यापिन्थ्यो। दशै तिहार मनाउने भनेर झन्डै १ महिना स्कुल बिदा हुन्थ्यो। टन्न होमवर्क हुन्थ्यो तर पनि दशैको माहोलले त्यो बेवास्ता हुन्थ्यो।।

आमाबुबालाई रोएर, घुर्काएर, फकाएर जे सम्म सकिन्थ्यो सबै गरेर नयाँ लुगा किन्न लगाउथे, किनिदिनु हुन्थ्यो। स्कुलको ड्रेस नयाँ भए पनि लगाएर टीका थाप्थे। कुनै दशैमा जाङ्गे टि-सर्त किनिदिनु हुन्थ्यो, त्यसमा पनि मजा थियो। लुगा के थियो कस्तो थियो मतलब थिएन बस् नयाँ भए पुग्थ्यो। हिडेर मामाघर जान्थे । मामा माइजुसङ्ग टीका लगाइन्थ्यो। आशिर्वाद लिइन्थ्यो तर ध्यान दक्षिणामा हुन्थ्यो। टीका लगाएर ट्वाइलेटमा गएर पैसा गन्नुको मजा छुट्टै थियो।अझ आफुले सोचेको भन्दा बढी दक्षिणा पाउदाको खुशीको त के कुरा गर्नु, कुरै नगरौ।

दाइ, अंकलहरुले गाउँमा पिङ हाल्थे। आफू सानो परियो कसैले पालो दिदैनथ्यो।पिङ खेल्न कि त आफू भन्दा ठुलाहरुलाई भन्नुपर्थ्यो, कि त बिहान अरु कोहि नउठ्दै जानू पर्थ्यो, कि त बेलुकी सबै घर जादा सम्म कुर्नुपर्थ्यो। तर पनि त्यतिबेला मेरा पनि साथिहरु थिए। उनिहरु पनि म जस्तै थिए। बिहानै आउथे अबेर सम्म बस्थे र पिङ खेलेर जान्थे। जे होस बालापनको दशै सबैको उस्तै थियो। रमाइलो थियो। अहिले सम्झिदा छुट्टै आनन्द आउँछ ।

अहिले दशै पहिलेको जस्तै गरि आउँछ। तर रमाइलो लाग्दैन। मनले रोनक मान्दैन।पहिल्यै जसरी पिङ थापिदैन आजभोलि । वर्षदिन सहर बस्छु।दशैको बेलामा घर आउछु र पनि मनमा पहिलेको जसरी उमंग आउदैन।बाल्यकालमा अरुको रोजाईमा किनेको कपडाले दिने जति खुसी अहिले आफैले रोजेर किन्दा पनि आउदैन। सायद उमेर बढ्दै जादा खुशी घट्दै जाने नियम रहेछ दशैको।

अहिले उमेर बढ्दै गयो। बाल्यकालमा जसरी नयाँ लुगा, सेल रोटी, पिङ्ले खुशी दिदैन। उतिबेला मामाघर जानुको खुसी, दक्षिणाले नाघेको सिमानाको खुसीले अहिले त्यस्तै दिनहरुले ल्याउदैनन। दिन पहिले जस्तै भए पनि समय पहिले जस्तै रहेन । अहिलेको दशैको मज्जा लिनको लागि फेरि बाल्यकालमै पुग्नुपर्छ।

Leave a Reply