नेपाल बाल सङ्गठनद्वारा सञ्चालित म्याग्दी बालगृहमा आवासीय सुविधासहित अध्ययनरत बालबालिकाहरुलाई बिहीबार लत्ताकपडा सहयोग भएको छ । प्रवासी म्याग्देलीहरु आबद्ध मोना हङकङद्वारा नेपालीहरुको मुख्य चाड बडादसैँ तथा तिहारको अवसरमा बालबालिकालाई लत्ताकपडा सहयोगका साथै भोजनग्रहण गराइएको हो ।

आफ्ना अभिभावकको अभावमा म्याग्दी बालगृहमा बसेर अध्ययन गर्दै आइरहेका बालबालिकाहरुलाई दसैँमा नयाँ लुगा फेरिदिने र मीठो खानेकुरा खुवाउने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको मोना हङकङले जनाएको छ । कार्यक्रममा बालगृहमा रहेका ११ जना बालबालिकाहरुलाई उनीहरुको इच्छा र चाहनाअनुसार जुत्तासहित एकएक सेट लत्ताकपडा वितरण गरिएको थियो ।

बालबालिकाहरुलाई लत्ताकपडा वितरण गर्दै मोना हङकङका संस्थापक अध्यक्ष एवं संरक्षक तुल्मराज राम्जालीले मोना हङकङका अध्यक्ष कर्ण पुन र नेपाल बाल सङ्गठन म्याग्दीका अध्यक्ष राजेश शाक्यको समन्वयमा लत्ताकपडा हस्तान्तरण तथा खाना खुवाउने कार्यक्रम गरिएको बताउनुभयो । उहाँले नेपालीहरुको दसैँ जस्तो ठूलो चाडमा बालबालिकालाई कम्तीमा पनि एकजोर नयाँ कपडा फेरिदिएर उनीहरुको हौसला बढाउन कार्यक्रम गरिएको बताउँदै प्रवासमा रहेपनि जिल्लाको शिक्षा, स्वास्थ्य, विपद्लगायत क्षेत्रमा सहयोग गर्दै आइरहेको बताउनुभयो ।

कार्यक्रममा गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा म्याग्दीका अध्यक्ष दिपक पौडेलले जिल्लाको सामाजिक क्षेत्रमा प्रवासी म्याग्देलीहरुको योगदान रहेकाले आफूहरु पनि प्रवासी तथा बाल सङ्गठनसँग आवश्यक सहकार्य गरी सामाजिक अभियानको क्षेत्रमा लाग्न तत्पर रहेको बताउनुभयो । कार्यक्रमको समापन गर्दै नेपाल बाल सङ्गठन म्याग्दीका अध्यक्ष राजेश शाक्यले बालगृहमा रहेका बालबालिकाहरुले दसैँमा हाम्रा पनि अभिभावकहरु रहेछन् भन्ने महसुस गर्नेगरी लत्ताकपडा सहयोगसहित खाना खुवाइएको बताउनुभयो ।

अध्यक्ष शाक्यले म्याग्दी बालगृहको क्षमता बढाउन आवश्यक पहल थालिएको बताउँदै आफू अध्यक्ष भएर आएपछि अहिलेसम्म जिल्लाको विभिन्न ठाउँका गरी १७ जना अनाथ बालबालिकाहरु सम्पर्कमा आएको जानकारी दिनुभयो । कार्यक्रम अध्यक्ष शाक्यको अध्यक्षता र सचिव सन्दीप खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो । २०२५ सालमा स्थापना भएको नेपाल बाल सङ्गठनमार्फत सञ्चालित म्याग्दी बालगृहमा अनाथ बालबालिकाहरुले आवासीय सुविधासहित विद्यालय तहको औपचारिक शिक्षा अध्ययन गर्दै आइरहेका छन् ।

Leave a Reply