उत्तरतर्फ आँखै अगाडी चाँदी झै सेता टलक्क टल्केका हिमश्रृङ्खला,नजिकै सुन्दर नगरी बेनी बजारलाई काखमा राखेर नागबेली हुँदै बगेका म्याग्दी नदी र कालीगण्डकी । हरिया बगैंचा, रुखका बुट्यानहरु, हावामा बयेली खेलिरहेका फूलहरु, भुर्र—भुर्र उडिरहेका चराहरु अनि बेपर्वाह आपसमा प्रेमलाप गरिरहेका जोडीहरु देखिने लभ्लीहिल (प्रणयशिखर) पर्यटकको पर्खाइमा छ ।
आसपासमा देखिने हिम ऋङ्खला, चौफेरै देखिने हरियाली र आकर्षक भू–बनोटलगायत मनमोहक दृश्यले यो ठाउँलाई प्रेममैत्री बनाएको छ ।
सदरमुकाम बेनीको दक्षिणी मोहोडाको शिरमा रहेको लभ्लीहिल प्रेमजोडीको रोजाइमा पर्न थालेको छ । प्राकृतिक सौन्दर्यमा हराउँदै आपसमा बाँधिएर सुदूर अतितको कल्पनामा डुबुल्की मार्न दैनिक सयौंको सङ्ख्यामा यहाँ आउने प्रेमजोडीहरु यहाँबाट देखिने रोमाञ्चक दृश्य हेर्दै प्रेममा डुबुल्की मारिरहेका देखिन्छन् । कोरोना भाइरस (कोभिड— १९) संक्रमणका डरले साउन महिनासम्म सुनसान देखिएको लभ्लीहिल हिजोआज आफ्नै लयमा फर्किन थालेको छ ।
बेनीबाट ३० मिनेटभित्रै पुग्न सकिने बेनी नगरपालिका–२ खबरा नजिकै अवस्थित लभ्लीहिलमा ‘मर्निङ वाक’, ‘इभनिङ वाक’ गर्नेदेखि दिउँसोको समयमा घुम्न आउने आन्तरिक पर्यटक र प्रेमको तिर्खा मेट्न आउने थुप्रै तन्नेरीहरुका कारण हिजोआज लभ्लीहिल गुलजार बन्दै जान थालेको छ ।
पूर्वाधार निर्माणसँगै पछिल्लो समय म्याग्दीको सदरमुकाम बेनीबजार नजिकै रहेको पर्यटकीय तथा रमणीयस्थल लभ्लीहिल पर्यटक आकर्षणको केन्द्र बने पनि लकडाउनले यसलाई ओझेलमा पारेको थियो । तर अहिले कोरोना संक्रमणको दर केही कम भएकोले यहाँ रौनक शुरु भएको स्थानीय चन्द्रबहादुर कार्कीले बताउनुभयो ।

आन्तरिक र बाह्य पर्यटकको मुख्य आकर्षणको केन्द्रका रुपमा रहेको लभ्लीहिल विशेषगरी युवायुवतीका लागि ‘डेटिङ स्पोट’का रुपमा विकसित भएको छ ।
विभिन्न जिल्लाबाट म्याग्दीको बेनीबजारमा आउने आन्तरिक पर्यटकका लागि पनि आकर्षक गन्तव्यस्थल बनेको छ, लभ्लीहिल ।
बेनीबजारसँगै जोडिएको खबरा नजिकैको खाराको डाँडोलाई लभ्लीहिल नामाकरण गरिएको छ ।
लभ्लीहिलबाट बेनीबजार, गलेश्वर, पौलस्त्य आश्रम, जगन्नाथ मन्दिर, भकिम्लीको स्वर्गाश्रम, पर्वत बेनी र मल्लाज लगायतका क्षेत्रहरु देख्न सकिन्छ । यसैगरी म्याग्दी जिल्लाको अधिकांश भू–भागका साथै उत्तरी पर्वतको जलजला गाउँपालिकासहित संसारको सातौं अग्लो चुचुरो धौलागिरि, अन्नपूर्ण हिमाल तथा सूर्योदयको समेत यहाँबाट अवलोकन गर्न पाइन्छ । बेनीबजार आसपासका क्षेत्रबाट बग्ने म्याग्दी र कालीगण्डकी नदीको बहावलगायत आकर्षक दृश्यको अवलोकन गर्न सकिने सदरमुकाम नजिकको गन्तव्य भएकाले पनि यहाँ थप पूर्वाधार तथा प्रचारप्रसार भएमा आर्थिक कारोबार र नयाँ वस्तीको समेत सम्भावना रहेको छ ।
केही वर्षयता दैनिकजसो समूह बनाएर घुम्न जाने स्थानमा परेको लभ्लीहिललाई आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्नेगरी पर्यटकीय गन्तव्य बनाउनुपर्ने जिल्लाका पर्यटन व्यवसायीहरु बताउँछन् । लभ्लीहिलमा रेष्टुरेन्ट, भ्यू टावर, स्वीमिङ पुललगायत बालबालिकादेखि वृद्धवृद्धाहरु रमाउने स्थलका रुपमा विकसित भैरहेको छ ।
यस क्षेत्रमा खान, बस्नका लागि आवश्यक व्यवस्थासहित थप पर्यटन पूर्वाधार निर्माण भएमा म्याग्दी र मुस्ताङ भ्रमणमा आउने पर्यटकलाई आकर्षित गर्न सकिने स्थानीयवासीको भनाइ छ ।

Leave a Reply