म्याग्दीको धवलागिरी ७ स्थित ऐतिहासिक ताकमकोतमा भएको छेलो फाल्ने प्रतियोगितामा मालिका-१ निस्कोटका याम परियार विजयी भएका छन्। आठ दशमलव पाँच किलोग्राम तौल फलामको छेलोलाई सहभागी मध्य सबैभन्दा टाढा फालेका ३९ वर्षीय यामलाई आयोजकले पहलमान घोषणा गरेका थिए।

प्रतियोगितामा ताकम र आसपासका गाउँका २२ जना युवाहरुले सहभागिता जनाएका थिए। पश्चिम म्याग्दीको महत्वपूर्ण शक्तिपिठ मानिने ताकमकोतको छेलो प्रतियोगितामा विजयी हुनेलाई सो क्षेत्रमा पहलमान मान्ने गरिन्छ।

हरेक वर्ष महानवमी पर्वको अवसरमा छेलो फाल्ने प्रतियोगिता आयोजना गरेर पहलमान पहिचान गर्ने चलन रहेको पुजा व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका वडा अध्यक्ष कलानिधी सुवेदीले बताए।

यामले पछिल्लो १६ वर्षयता मालिका गाउँपालिकामा आयोजना हुने छेलो फाल्ने प्रतियोगिताको उपाधीमा कब्जा जमाउदै आएका छन्। ताकमकोतको प्रतियोगितामा सहभागिता जनाएको पहिलो पटकमै यामले सफलता हात पारेका हुन्। निरन्तरको अभ्यास, शारिरिक व्यायाम र स्वच्छ खानपानले उपाधी जिताउन सहयोग गरेको यामले बताए। यसअघि वि.स. २०७० देखि ७६ सम्म सात वटा उपाधी जितेका ताकमका अशोक केसीले यसपाली भने सहभागिता जनाएनन्।

म्याग्दीको प्रमुख शक्तिपिठ ताकमकोतमा जगन्नाथ, अन्नपूर्ण, दुर्गा लगायत देवी देवताको मुर्ती रहेका यहाँ नवदुर्गा, जेष्ठी पुर्णीमा, मंसिर पुर्णीमा, चैत्राष्टमी पर्वका अवसरमा विशेष मेला लाग्ने गर्छ।

वि.स १२४६ देखि १५४५ सम्म बगाले थापाको र १५४६ देखि १८८२ सम्म मल्ल राजाले कोत घरको रुपमासमेत प्रयोग भएको उक्त मन्दिरमा ऐतिहासिक महत्वका तोप, तरबार, खुँडा, खुकुरी, ढाल लगायतका हातहतियार छन्।

जगन्नाथ अन्नपूर्ण मन्दिरमा पुजाआजा र भाकल गरेमा मनोकाक्षा पुरा हुने विश्वास छ। यस वर्षको दसैंको नवमीका दिन करिब पाँच हजार जनाले ताकमकोतमा पूजाआजा गरेका पुजा व्यवस्थापन समितिका सदस्य तेजिन्द्र थापाले बताए। Source: Annapurnapost.com

Leave a Reply