भकारीबाट बोरा र डालीमा सीमित हुँदै छ खाद्यान्न

0

आज अक्टोवर १६ अर्थात् ४१ औँ विश्व खाद्य दिवस । ‘स्वस्थ भविष्यका लागि सुरक्षित खाना’ भन्ने नाराका साथ आज विश्वभर यो दिवस मनाइँदै छ ।
सन् १९४५ अक्टोबर १६ मा स्थापना भएको संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको आह्वानमा सन् १९८१ अक्टोबर १६ तारिखदेखि यो दिवस मनाउन थालिएको हो ।
नेपालमा पनि कृषिको उब्जनी बढाएर खाद्य सुरक्षाको संरक्षणमा जोड दिँदै कार्यक्रम गर्ने गरिन्छ ।
नेपालमा विश्व खाद्य दिवस मनाउन थालेको ४० वर्ष वितेपनि खाद्यान्नको अवस्था भने ओरालो झर्दै गइरहेको छ । दुई दशक अघिसम्म म्याग्दीका ग्रामीण क्षेत्रका प्रत्येक घरमा अन्नले (धान,कोदो) भरिएका भकारी, टिन र थुन्सेभरी चामल,घरको वार्दलीमा मकैको बुर्चो,आगनमा थाँक्रो देखिने गर्दथ्यो । तर अहिले गाउँघरमा भकारीमा अन्न होइन,बोरा र डालीमा मात्रै सीमित हुन थालेको छ ।
समय फेरिएको छ । युवा पलायन र कृषिप्रतिको वितिष्णाका कारण अहिले गाउँघरका खेतवारी बाँझै रहेका छन् । कोभिड १९ को महामारी शुरु भएपछि दुई वर्षयता गाउँमा फर्कनेहरुको संख्या बढेसंगै धान फल्ने खेत र कोदो झुल्ने बारीमा तरकारी,फलफूल र पशुपालन गरिए पनि खाद्यान्न उत्पादनतर्फ कसैको चासो नरहेको स्थानीयहरुले बताएका छन् ।
अहिले शहरमा मात्रै होइन ग्रामीण क्षेत्रका घरहरुमा समेत अन्न भण्डारण गर्ने भकारी देख्नै मुस्किल हुने गरेको बेनी नगरपालिका २ का ८५ वर्षिय बेदप्रसाद उपाध्यायले भने ‘बजारबाट ल्याएको चामलको बोरा र तेलको पोकाबाट विहान बेलुकीको भान्छा उम्किन्छ’ उपाध्यायले भने ‘हाम्रो पालामा भकारीबाट धान झिकेर,ढिकीमा कुट्दै एक वर्षसम्म पुग्ने चालम हुन्थ्यो, अहिले खेती गर्नै छोडे,कहाँबाट हुनु भकारीमा धान ।’
नेपालमा अहिले पनि अधिकांश घरधुरीहरु कृषीकर्म संगै माटो खनीखोस्रिएर आफ्ना जिवीका चलाँउदछन् । अझै पनि ६० प्रतिशत भन्दा बढी जनसंख्या कृषि कार्यमा प्रत्यक्ष र परोक्ष किसिमले संलग्न रहेको तथ्याङ्क रहेको छ । तर,खाद्यान्न उत्पादन भने घट्दै गएको कृषि तथा सहकारी मन्त्रालयको तथ्याङ्कले पुष्टि गर्दछ ।
विश्व खाद्यान्न तथा कृषी संगठन (एफ.ए.ओ) का अनुसार जलवायू परिवर्तनले निम्त्याएको सबैभन्दा ठूलो चुनौती भनेको खाद्यान्न संकट नै हो । स्थानीय विशेषता रहेका अन्नवाली विस्तारै उत्पादन हुन छाड्नु, अत्यधिक विषादीको प्रयोगले उत्पादनशिल विशेषतायूक्त माटोको क्षमतामा ह्रास आउनु र विस्तारै रैथाने विउ विजन लोप हुँदै जानू २१ औं शताब्दिको खाद्यान्न व्यवस्थापनको चुनौति भएको एपm.ए.ओको प्रतिवेदनमा भनिएको छ ।
५० बर्ष अगाडीको शहर र आजको शहर तुलना गर्ने हो भनें उव्जाउने हात भन्दा खाने मुख मात्र बढेका हुनाले खाद्यान्न संकट व्यबस्थापनका लागि चुनौति भएको अन्तराष्ट्रि कृषि वैज्ञानिकहरुले बताएका छन् ।
विश्व खाद्यान्न तथा कृषी संगठनको हालसालैको एक तथ्याकंका अनुसार सन् २०२५ सम्ममा बिश्वमा खाधान्न अभाव भएर बिकसीत देशका ठूला ठूला निगमहरु बिकासोन्मुख देशका खाली जमिनमा कृषी गर्न लगानी गर्ने दावा गरिएको छ ।
संसारका न्यूनतम् आर्थिक अवस्था भएका विपन्न वर्गहरुमा कृषक, माछा मार्ने मान्छेहरु र घरपालुवा जनावर पाल्ने जस्ता पेशागर्ने मान्छेहरु छन् जसलाई बढ्दो पृथ्वीको तापक्रम, प्रकृती अनि मौसम सम्बन्धि बारम्बार हुने प्रकोपहरुले धेरै दुःख दिनेगर्दछ । अर्कोतर्फ पृथ्वीको जनसंख्या पनि दिनानूदिन बढ्दो क्रममा छ र बढ्दो जनसंख्याको यो अनुपातलाई खाद्यान्न पर्याप्ततातर्फ लैजान कृषिका पारम्परीक विधीहरुलाई पनि जलवायू परिवर्तन अनुकूल बनाउँदै अझ उत्पादनमुखी र ब्यवसायीकरण गर्न जरुरी देखिएको बताइएको छ ।
सन् १९६० को दशकमा नेपाल संसारभरि चामलको धेरै निर्यात गर्ने देशहरुमा छैठौं स्थानमा पर्दथ्यो तर विस्तारै नेपालमा कृषिकार्य ह्रास हुँदै गयो र आज नेपालले चामल लगायत धेरै कृषिजन्य उत्पादनहरु आयात गर्नुपर्ने अवस्थामा आइपुगेको अन्तराष्ट्रिय कृषि वैज्ञानिक टीकाबहादुर कार्कीले बताए ।

नेपालीहरु वैदेशीक रोजगारप्रति आकर्षित हुन थालेपछि हाम्रा हलो र जूवाहरुमा खिया लाग्न थालेका छन्, गोरु र गोठ सुनसान भएको छ । भकारीवाट झिकेर खाइने धान चामलको साटो बोरामा पसलबाट अन्न आउन थालेको छ तर हाम्रो उब्जनशील खेत र माटोहरु बाँझै छन् । ती खेतहरुको अनि माटोको उचित प्रयोग गर्नसक्ने प्रविधी, पूँजी र सीप भएमा नेपालीहरु विदेशिन नपर्ने उनको भनाइरहेको छ ।
स्कूलको पाठ्यक्रममा पूर्वब्यवसायीक शिक्षाका रुपमा कृषि कार्य र औजारहरुका बारेमा शिक्षा दिने बिषय हटाइएकोले विद्यार्थीहरुलाई कृषिकार्य प्रति उत्सुक्ता जगाउन र ज्ञान बढाउन नसकिएको सेवानिवृत्त शिक्षक धनबहादुर घिमिरेले बताए । नेपाली माटो ब्यवसायीक प्रकृतीमा खोस्रिने प्रणाली विकसित गरी देशमैं कृषि औजारका कारखाना र अनुसन्धान कार्य पूर्नजीवित गराएर कृषिलाई सहज कर्जा र पूँजी उपलब्ध गराउन नसक्नेहो भने नेपालका ग्रामीण क्षेत्रहरुमा समेत भोकमरीको समस्या उत्पन्न हुनसक्ने उनको भनाइ छ ।
कृषि क्षेत्रमा देखिएको बिचौलिया प्रवृत्तिको अन्त्य , कृषक र उपभोक्तहरुबिचको पारदर्शी सम्बन्ध, भूमीको न्यायपूर्ण वितरण, सिंचाइको सुविधा र समयानुकुल हुने गरी बजार ब्यवस्थापन नभएसम्म खाद्यान्न उत्पादनमा नेपाल आत्मनिर्भर हुन नसक्ने सम्वन्धित क्षेत्रका विज्ञहरुको भनाइरहेको छ ।

Leave a Reply