वैदेशिक रोजगारीले डेढ दशकमै फड्को मारेको बेनीको पुरण्य गाउँ आर्थिक स्थितिसँगै फेरियो जीवनशैली

0

०६० साल चैत ७ गतेको रात धेरै म्याग्देलीका लागि ‘भय र काल’को रात बन्यो। तत्कालीन नेकपा माओवादीले बेनी आक्रमण गरेको त्यो रात अझै पनि यहाँका बासिन्दाले बिर्सन सकेका छैनन्।

सोही आक्रमण नै तत्कालीन नेकपा माओवादी सातदलीय मोर्चामा सहभागी हुने आधार बन्यो र ०६२/६३ को ऐतिहासिक जनआन्दोलन सफल भयो। राजतन्त्रको अन्त्य भई गणतन्त्र स्थापना, नयाँ संविधान र संघीय व्यवस्थाको शुरुवात भयो।

यी त भए राजनीतिक परिवर्तनका कुरा। बेनी आक्रमणले राजनीतिक परिवर्तनको आधार मात्र तयार गरेन, धेरैको ज्यान पनि लियो। अंगभंग बनायो। उठीबास लगायो।

त्यो दुःखद घटनाबाट पिरोलिएर खाडी पसेका यहाँका केही व्यक्तिले भने जीवनमा चामत्कारिक परिवर्तन गरे। तीमध्ये दुई जना प्रतिनिधि पात्र हुन्–बेनी नगरपालिका–५ पुलाचौर पुरण्य गाउँका डिलबहादुर दर्जी र रिजन दर्जी।

को हुन् डिलबहादुर र रिजन?

स–साना झुपडीमा गरिब र दलितहरूको बसोबास थियो बेनी नगरपालिका–५ पुरण्य बस्तीमा। दुई दशक अघिको त्यो गाउँको जीर्ण अवस्था अहिले भने एकादेशको कथाजस्तै बनेको छ।

अहिले एकादेशको कथा बनेको पुरण्य गाउँको व्यथा माओवादीले बेनी आक्रमण गर्दा अर्थात् ०६० साल चैत ७ गतेपछि बल्ल छताछुल्ल भयो। गरिबीको मारमा पिल्सिएका त्यहाँका दलितहरु दैनिक ज्याला मजदुरीका लागि टाढाटाढाका गाउँमा जानुपर्ने बाध्यता थियो।

यही क्रममा गाउँका ७ जना  सदरमुकाम बेनी बजारको पारी पर्ने बेनी नगरपालिका–२ को खबरामा घर निर्माण गर्न गएका थिए। राति कटेरामा सुतेका बेला सेनाको नाइटभिजन हेलिकोप्टरबाट बर्सिएको गोलीले ३ जना ठहरै भए। त्यो रात बेनी आक्रमणको रात थियो।

आफ्ना ३ साथी मारिएपछि बचेका अरु ४ जना घर फर्के। ती ४ मध्येका २ जना थिए–डिलबहादुर दर्जी र रिजन दर्जी।

यसरी फेरियो आर्थिक स्थिति

आर्थिक स्थिति अत्यन्त कमजोर भएकाले उनीहरू डराएर घरमै बसीरहे बिहान बेलुकीको छाक टर्दैनथ्यो। दिन बित्दै गए। बेनी आक्रमणले उत्पन्न गरेको त्रास पनि विस्तार विस्तार कम हुँदै गयो। मानिसहरू फेरि आफ्नै लयमा फर्किन थाले।

यसै मेसोमा पुरण्यका डिलबहादुर, रिजन, यामबहादुरलगायत कैयौं युवा खाडी मुलुकतिर लागे। कतार, साउदी, युएई पसेका ती युवाको मिहिनेतले सार्थकता पाउन थाल्यो।

उनीहरूले पैसा कमाएर घरमा रहेका आफन्तलाई पठाउन थाले। अनि फेरियो पुरण्य गाउँको मुहार।

घरमा आकर्षक टिभी, गोठमा दुहुनो भैंसी र बैंकमा पैसा, अनि शहरमा घरघडेरी केही वर्ष अगाडिसम्म पुरुण्यका दलित समुदायलाई सपनाजस्तै लाग्ने यो अवस्था अहिले उनीहरूले नै देख्न पाएका छन्।

आर्थिक अवस्था कमजोर भएकै कारण दैनिक ज्याला मजदुरी गरेर घरखर्च चलाउने गरेका पुरुण्यका

पुरुण्यका दलितको दैनिकीमा अहिले पत्याउनै नसकिने परिवर्तन आएको छ।

सुधारिएको आर्थिक स्थिति

गाउँबाट धमाधम वैदेशिक रोजगारमा जानेको लर्को लागेपछि पुरुण्यवासीको हातमा मोबाइल, घरमा महँगो टिभी, पत्नी र छोराछोरीको घाँटीमा सुनको सिक्री, हातमा औंठी र सहर बजारमा घरघडेरीसमेत छन्।

पुरुण्यका यामबहादुर दर्जीले दिएको जानकारीअनुसार १ सय ३ घर परिवार रहेको पुरुण्यको दलित बस्तीबाट अहिले एकाधबाहेक सब घरका युवा वैदेशिक रोजगारीमा गएका छन्।

दैनिक मजदुरी गरेर गाँस जुटाउने गरेका यहाँका दलित परिवार घरका उमेर पुगेका भाइ छोरालाई ऋण खोजेर विदेश पठाएको केही वर्षमै गाउँमा आफ्नै घरसहित आधुनिक सुविधा उपभोग गरिरहेका छन्।

गाउँघरमा ज्याला मजदुरी गरेर दिन बिताउने गरेका यहाँका युवा विदेश गएर धमाधम रेमिट्यान्समार्फत पैसा पठाउन थालेपछि पुरुण्यवासीको जीवनस्तरका साथै सरसफाइ, जीवनशैली, चेतना र अन्य व्यवहारमा समेत परिवर्तन आएको अगुवा यामबहादुरले बताए।

वैदेशिक रोजगारीले फेरियो गाउँ

पुरुण्यका अधिकांश घरबाट खाडी मुलुक कतार, साउदी अरब, बहराइन र मलेसियालगायत देशमा गएपछि गाउँको रूप फेरिएको छ। आर्थिकस्तर परिवर्तन भएसँगै सरसफाइसहित जनचेतनामूलक काममा समेत गाउँले सक्रिय छन्।

पुरुण्यमा मासिक ३० लाख रूपैयाँभन्दा बढी रेमिट्यान्सबापत भित्रिने गरेको स्थानीयले बताएका छन्। आर्थिक स्थिति फेरिएपछि सरसफाइ, नयाँ प्रविधिको प्रयोग, शिक्षादीक्षामा समेत सहज भएको छ।

बालबालिकाले समेत निजी तथा गाउँकै सामुदायिक विद्यालयमा समेत उत्कृष्ट अंक ल्याउन सफल भएका छन्। पति विदेश गएपछि महिलाले गाउँमा फेन्सी, सिलाइकटाइ, खुद्रा पसलसहित विभिन्न स्वरोजगारमूलक काम गरिरहेका छन्।

त्यसैगरी केही युवाले वैदेशिक रोजगारबाट कमाएको पैसाले पोखरामा घडेरी किनेर घरसमेत बनाएका छन्। ती मध्येका एक युवा हुन् रिजन दर्जी।

४३ वर्षीय दर्जी विगत १३ वर्षदेखि युएईमा छन्। उनले यो अवधिमा २ छोरी, १ छोरा र पत्नीले चाहेको पुर्‍याइदिनुका साथै पोखरामा घडेरी किनेर घरसमेत बनाएका छन्।

Leave a Reply