दशैं विदा सकिइसकेको छ । दशैं मनाउन आ–आफ्नो गाउँमा आएकाहरु कार्यक्षत्रमा फर्किन हतारिएका छन् । तर,आइतवार साँझदेखि परेको वर्षा रोकिएको छैन । ग्रामीण सडकहरु अवरुद्ध छन् । लगातारको वर्षाले सडकमा सवारी साधन चल्न नसक्ने अवस्था आएपछि दशैं मनाएर कार्यक्षत्रमा फर्किनेहरु समस्यामा परेका छन् ।
टीका थाप्न आफन्तकोमा गएका व्यक्तिहरुले समेत ग्रामीण सडकका कारण सास्ती भोग्नुपरेको छ ।
खुलेको मौसममा दशैँ मनाइरहेकाहरूलाई आइतबार रातिदेखि निरन्तर भइरहेको वर्षाका कारण समस्या उत्पन्न भएको छ। कालोपत्रे सडकको सुविधा भएको ठाउँमा वर्षाकै बीचमा पनि सवारी फाट्टफुट्ट चले पनि ग्रामीण क्षेत्रमा आउजाउ गर्ने गाडी सञ्चालनमा समस्या हुँदा गन्तव्यमा फर्किनेलाई सास्ती भएको पीडितहरुले बताएका छन् ।
दशैं मनाउन घरमा आएका ज्यामरुककोटका योगराज शर्मालाई आफ्नो कार्यक्षेत्र दाङमा पुग्न समस्या भएको छ ।‘अस्ती आइतवारदेखि लगातार पानी परिरहेको छ,वर्षाका कारण गाउँबाट बागलुङसम्म जाने गाडी चलेका छैनन्’ जनता क्याम्पस दाङका क्याम्पस प्रमुख शर्माले भने ‘बागलुङदेखि पोखरासम्मको सडक पनि जोखिमयुक्त रहेकोले आज मंगलवार जाने आँट गर्न सकिन् ।’
शर्माको जस्तै समस्या धेरैले भोगेका छन् । दशैं विदामा मुस्ताङ र म्याग्दीको घोडेपानी,पुनहिल लगाएतका पर्यटकीय क्षेत्रमा घुमघामका लागि आएका व्यक्तिहरु सडककै कारण आफ्नो घरमा फर्किन नसकेका नवलपुरको गौडाकोट नगरपालिका १२ हर्कपुरबाट मुस्ताङ भ्रमणमा आउनुभएका शिवराज पोख्रेलले बताए ।
वर्षाका कारण पहिरो र सडकमा बगेको लेदोले गर्दा बेनी–जोमसोम सडक खण्डको काभ्रेभीर,रुप्से छहरा लगाएतका स्थानमा सडक अवरुद्ध हुँदा यात्रीहरु अलपत्र पर्ने गरेका छन् । उता जाँदा गाडीमा घोडेपानी नजिक पुगेकाहरु पmर्किने समयमा पानी परेर गाडी नचलेपछि पैदल नै बेनी आउन वाध्य भएका स्थानीय पर्यटन व्यवसायीहरुले बताएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीले दशैँलगत्तै गाडीको चाप बढ्न थाले पनि आइतबारदेखिको वर्षाका कारण सञ्चालनमा आएकामध्ये ३० प्रतिशत जति सवारी साधनहरु संचालन हुन नसकेका जनाएको छ ।
म्याग्दीका प्रायःसबै ग्रामीण क्षेत्रमा कच्ची सडक छन्। अलिकति वर्षा हुनासाथ पनि सडक चिप्लिने, पहिरो झर्ने, भेलको कटानले बाटोको स्वरूपै नरहने लगायतका कारणले गर्दा सर्वसाधारण र यात्रुहरुले सास्ती खेप्दै आएका छन् ।

Leave a Reply