तिमी,
लहलह फूलेको
लटरम्म फलेको
अनि,
भुइँमा झुलेको
असाध्यै सुहाएको थियो ।
तिम्रो त्यो रुपदेखि
किसानका मनभरिका
थरिथरिका सपना
पूरा भयो भन्ने आभास भयो ।
तर,
जब तिमी ढल्यौ,
केवल तिमी मात्रै ढेलका छैनौ
त्यो विचरा! पौरखी,
किसान ढलेको छ
भित्र भित्रै जलेको छ
उसको,
सपना गलेको छ ।

हिजोसम्म तिमीलाई देखेर
पूर्णिमाको चन्द्रमा झैँ चम्किलो
ऊ,
तिमी ढलेपछि
अाैँसिकाे कालो रातभन्दा अन्धकार भएको छ ।
किनकि तिमी ढलेपछि
त्यो बर्षे हिलो
खोला त्यो धमिलो
नभनी, तिमीलाई
मनकारी उसले
भकारी भर्ने अनि तिमीलाई रोप्नेलाई
तिमी नै दिने सपना देख्दै
तिमीलाई रोपेको थियो ।
अब, ऊ तिमी नै ढलेपछि के दिन्छ?

उसका कति मिठा सपनाहरु थिए ।
तिम्रा लागि,
नयाँ भकारी
हुँदै थिए तयारी
देवी जस्ती बुहारी
मंसिरमा भित्र्याउने सपना उसका,
सपनामै सिमित भएको छ ।
उसका दुधे बालक,
अब भोकै हुनेछन्
देखेर तिमीलाई
उसका वृद्ध बुवा
ठहरै पर्नेछन् ।
त्यसैले तिमी मात्रै ढलेनौ
विचरा!
ऊ पनि ढलेको छ ।
मनकुमार जुग्जाली
मंगला-१, भर्जुला, म्याग्दी
शिक्षक श्री थाइबाङ्ग आधारभूत विद्यालय
मंगला-१, थाइबाङ्ग, म्याग्दी
(धानको क्षति व्यहोरेका किसानलाई क्षतीपूर्ती देउ सरकार!)

Leave a Reply