म्याग्दीको बेनी नगरपालिका २ रत्नेचौरका एक व्यक्तिले आफ्ना पितृहरुको स्मरणमा मन्दिर निर्माण र व्यवस्थापनका लागि रु २० लाख मूल्य बराबरको जग्गा निशुल्क दान गर्नुभएको छ ।

रत्नेचौरको भीरमुनी निवासी धान्यबहादुर बोगटीले सो क्षेत्रको पुरानो पन्चेस मुरी सुनझाक्रीको मन्दिर (थान) निर्माण र व्यवस्थापनका लागि रु २० लाख मूल्य बराबरको जग्गा निशुल्क मन्दिरको नाममा दान गर्नुभएको हो ।
रत्नेचौरको रमणीय फाँट र गाउँको शिरानमा रहेको प्राचिन पन्चेसमुरी मन्दिरलाई जग्गा प्राप्त भएपछि अहिले सो मन्दिरसम्म पुग्ने बाटो,रंगरोगन र सरसफाइ गरेर आकर्षक बनाइएको स्थानीय भरत खत्रीले जानकारी दिनुभयो ।
भानु माध्यमिक विद्यालयका प्रधानाध्यापक समेत रहनुभएका खत्र्रीले दिनुभएको जानकारी अनुसार पहिला मन्दिर अत्यन्तै साँघुरो ठाउँमा रहेकोले पूजाआज गर्न भक्तजनहरुलाई निकै दुःख हुने गरेको थियो ।
पन्चेसमुरी सुनझाँक्री मन्दिर व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका बोगटीले आफ्ना पितृहरुको सम्झनामा जग्गा प्रदान गरेपछि सो ठाउँको स्वरुप नै परिवर्तन भएको रत्नेचौरको सामाजिक र शैक्षिक कार्यहरुमा लागिपर्नुभएका प्रअ खत्रीले बताउनुभयो ।
“पहिला निकै समस्या थियो,बाघ भालु लुक्ने झाडी जस्तो ठाउँमा रहेको मन्दिर (थान) वरीपरी व्यक्तिगत जग्गा भएकोले पूजाआजा गर्न समस्या हुने गर्दथ्यो” खत्रीले भन्नुभयो “तर अहिले जग्गा प्राप्त भएपछि मन्दिर व्यवस्थापनका साथै फराकिलो बाटो निर्माण,रंगरोगन गरेर आकर्षक बनाएका छौं ।”
बेनी–बागलुङ सडकको बीच भागमा पर्ने रत्नेचौर पर्यटन र कृषिको लागि अत्यन्त आकर्षक स्थल बनेको छ । यहाँ विशेषगरी कृषि पर्यटन फस्टाउँदै गएको स्थानीयले बताएका छन् । समथर फाँट,फाँटको बीचमा चिटिक्क पारिएको कालोपत्रे सडक,उत्तरतर्फ देखिने धवलागिरि,निलगिरि,अन्नपूर्ण,माछापुच्छ«े लगाएतका हिमालहरु,दक्षिणतर्फ नजिकै देखिने प्रशिद्ध धार्मिक तथा पर्यटकीय स्थल पञ्चकोट,क्षेत्रीय स्तरको विशाल खेलमैदान,राजा गिर्वाणयुद्ध शाहले निर्माण गर्न लगाएको प्राचिन बूढो पोखरी, भौतिक पूर्वाधार र गुणस्तरका दृष्टिले नमूना बनेको स्थानीय भानु माध्यमिक विद्यालय,खेतमैदानबाट देखिने नागवेली कालीगण्डकी,कुडुले लगाएत यहाँबाट धौलागिरि क्षेत्रका दर्जनौं गाउँहरु हेर्नका लागि यहाँ पर्यटकहरु आउनेगरेका छन् ।
रत्नेचौरमा पछिल्लो समय कृषि,पशुपालन र होटल रेष्टुरेण्ट संचालन गर्ने क्रम बढेको छ । पन्चेसमुरी सुन झाँक्रीको मन्दिर व्यवस्थापन र रंगरोगन पछि यस क्षेत्रमा थप एक पर्यटकीय क्षेत्र विस्तार भएको खत्रीले बताउनुभएको छ ।

Leave a Reply