म्याग्दीमा बेमौसमी वर्षाले कोदोमा क्षति गरेको छ। म्याग्दीको २० हजार ४८२ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिनमध्ये करिब एक हजार हेक्टरमा कोदो खेती हुने गरेको छ।

म्याग्दीको भकिम्ली, देवीस्थान, रुम, अर्मन, वरंजा, मुना, मुदी, गुर्जालगायतका गाउँमा लगाइएको कोदो बाली बेमौसमी वर्षाले क्षति गरेको किसानहरुले बताएका छन्। तर धानबालीमा मात्र क्षति पुगेको समाचार आउने गरेको उनीहरूको गुनासो छ।

‘धानबाली नष्ट भन्ने मात्रै समाचार आउँछन्, हाम्रो मुख्य बाली कोदो नष्ट भएको कसैले देख्दैनन्‚’ देवीस्थानकी इन्द्रमति फगामीले भनिन्‚ ‘खेतको धान मात्रै होइन, बारीको कोदो पनि केही छैन।’

कृषि ज्ञान केन्द्र म्याग्दीले बेमौसमी वर्षाले पुर्‍याएको क्षतिको विवरण संकलन भैरहेको जनाएको छ। ६ वटै स्थानीय तहहरुमा क्षतिको विवरण संकलन हुँदैछ।

मेहनत बढी लाग्ने र उत्पादन कम हुने भन्दै विस्तारै कम हुँदै गएको कोदो खेती कोरोना संक्रमणपछि भने बढेको मंगला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले बताए। बजारमा कोदोको माग बढेपछि दुई वर्षयता कोदो खेती वृद्धि भएको उनको भनाइ छ। गाउँघरमा त्यसै बाँझो रहेको बारीमा समेत कोदो खेती गरिएको छ।

गाउँघरमा कोदोको परिकारमा त्यति धेरै चासो नदिए पनि सहर बजारमा भने यसको माग बढ्न थालेको पाइन्छ। पर्यटकीय गाउँहरुमा त कोदोको परिकारले पर्यटकको स्वागत गर्ने क्रम बढ्दै गएको पाइन्छ। गाउँ घुम्न आउने पर्यटकलाई स्थानीय उत्पादन कोदोको परिकारले स्वागत गर्ने गरेको होटेल व्यवसायी मनमाया गुरुङले बताइन्।

कोदोमा प्रशस्त मात्रामा क्याल्सियम, म्याग्नेसियम, फस्फोरस, म्यागनिज, भिटामिन बी, टिप्टोफेन, फाइबर, एन्टिअक्सिडेन्टलगायत तत्वहरु पाइने ज्यामरुककोट स्वास्थ्य चौकीका चिकित्सक खगराज निउरेले बताए। तौल घटाउन, मुटुसम्बन्धी रोग नियन्त्रण गर्न, हाड बलियो बनाउन, स्वस्थ पेट बनाउन पनि कोदोलाई राम्रो मानिने उनको भनाइ छ।

Leave a Reply