म्याग्दीको बेनी नगरपालिका १ रत्नेचौर र बागलुङको बागलुङ नगरपालिका–४ कुँडुले जोड्ने ३ सय ८८ मिटर लामो र १ सय मिटर अग्लो झोलुङ्गे पुलको निर्माण कार्य शुरु भएको छ ।
नेपाल सरकारको सस्पेन्सन ब्रिज डिभिजनले दुई जिल्लाको सिमानामा पर्ने ठुलो खोलामा पुल निर्माण थालेको हो । रु ३ करोडको लागतमा थानी हिमशिखर जेभीले उक्त पुल निर्माण गर्न लागेको हो ।
बागलुङको बाङ्गेचौर र पर्वतको अदुवाबारी जोड्ने सांसारकै लामो झोलुंगेपुल निर्माण गरेको कम्पनीलेनै यो पुलको काम थालेकाले समयमा काम सकिने सर्वसाधारणमा आशा पलाएको भानु माध्यमिक विद्यालय रत्नेचौरका प्रधानाध्यापक भरत खत्रीले बताए ।
प्रअ खत्रीका अनुसार पुल निर्माण भएपछि एक घण्टाको बाटो पाँच मिनेटमा छोटिने भएको छ । पुलले सर्वसाधारणलाई आवतजावतमा सहज हुनुका साथै रत्नेचौरमा आन्तरिक पर्यटकहरुको समेत बृद्धि हुने आशा गरिएको छ ।
असोजको अन्तिम साता निर्माण सम्झौता गरेको कम्पनीले दश महिनामा पुल तयार गर्नुपर्ने छ । ‘पहिलो चरणको लेआउटको काम सकियो, अब फाउण्डेसनको काम सुरुहुन्छ’ कम्पनीका प्रतिनिधि नरहरी खड्काले भने ।
दैनिक सयौं सर्वसाधारण ओहोर दोहोर गर्ने ठुलो खोला खोँचमा पुल बन्दा एक घण्टाको पैदल यात्रा पाँच मिनेटमा छोटिने छ । पुल निर्माणका लागि संघीय सांसद भुपेन्द्रबहादुर थापाले पटक पटक नेपाल सरकारको ध्यानाकर्षण गराउँदै आएका थिए ।
पुल दुई जिल्लाको मितेरी सिमा हुने सर्वसारणको आशा छ । पुल निर्माण पछि रत्नेचौरमा उत्पादन हुने कृषि उपज,दुध लगाएतका सामानहरुलाई बजारीकरण र पैदल मार्गहुँदै बेनी बागलुङ गर्ने सर्वसाधारणको लागि सहज हुने स्थानीयको विश्वास रहेको छ ।

Leave a Reply