दसैंको अवसरमा हिमालपारिको जिल्ला मुस्ताङको भ्रमणमा आएका पर्यटकलाई वर्षात्ले बेनी–जोमसोम सडक सास्ती बनेको छ । पाचँ दिनसम्म परेको अविरल वर्षाका कारण बेनी–जोमसोम सडक खण्डअन्तर्गत पर्ने म्याग्दीको रघुगंगा गाउँपालिका–३ को राहुघाटको पहिरो, अन्नपूर्ण गाउँपालिका–३ को काभ्रेभीर पहिरो र मुस्ताङको मार्फा खोलामा आएको बाढीका कारण मुस्ताङ भ्रमणमा आएका पर्यटक र यात्रुलाई सास्ती खेप्नुपरेको हो ।
म्याग्दी हुँदै मुस्ताङको भ्रमणमा दैनिक दुईदेखि तीन हजारकोे संख्यामा पर्यटक भित्रिएका छन् । राहुघाटमा सडकमाथिबाट खसिरहने पहिरो र हिलाम्मे सडकका कारण अधिकाँश सवारी साधन सडकमै फस्ने समस्याले यात्रुले घण्टौँसम्म जामको सामना गर्नुपरेको छ । काठमाडौं, पोखरा, चितवनलगायतका क्षेत्रबाट घुम्न आएका पर्यटकले राहुघाटको पहिरो काभ्रे र लेतेको जाम, मोटरसाइकल लगायतका सवारीसाधन हिलोमा फस्ने समस्याले पर्यटकले दुःख पाएको राहुघाटका व्यवसायी मिम थकालीले बताए ।
राहुघाटमा तीन दिनयता घण्टौंसम्म एक किलोमिटर लामो सवारी साधनको जाम हुने गरेको छ । राहुघाटको पहिरोले बेनी–जोमसोम सडक हुँदै मुस्ताङको भ्रमणमा जाने पर्यटक रघुगंगा र अन्नपूर्ण गाउँपालिकाका स्थानीयबासीलाई जिल्ला सदरमुकाम बेनी आवतजावत गर्न समेत सास्ती भएको छ । सडकलाई सामान्य रुपमा सञ्चालनमा ल्याउन प्रशासनले सम्बन्धित निर्माण कम्पनीलाई ताकेता गरे पनि उसले बेवास्ता गरेको छ । त्यसैगरी मुस्ताङको मार्फा खोलामा आएको बाढीले सवारी साधन वारपार गर्ने अस्थायी पुल पुरेपछि पर्यटकको यात्रा कष्टकर बनेको मुस्ताङका निरज थकालीले बताए । निर्माण व्यवसायी, जनप्रतिनिधि, प्रशासनको बेवास्ताप्रति पर्यटक आक्रोसित बनेका छन् ।

Leave a Reply