---Advertisement---

म्याग्दीमा वर्षा र हावाहुरीले २०० हेक्टरको धानबालीमा क्षति

On: October 23, 2021 8:57 AM
Follow Us:

बेमौसमी वर्षा र हावाहुरीका कारण म्याग्दीमा २०० हेक्टर क्षेत्रफलमा गरिएको धानबालीमा क्षति पुगेको छ। गत असोज ३१ रातिदेखि कात्तिक ४ गते बिहानसम्म भएको वर्षा र हावाहुरीका कारण धान बालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ।

 

 

केन्द्रका अनुसार जिल्लाभर तीन हजार ८९२ हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ। केन्द्रका वरिष्ठ बागवानी विकास अधिकृत किरण सिग्देलका अनुसार म्याग्दीका ६ वटै स्थानीयतहबाट संकलन गरिएको प्रारम्भिक विवरणअनुसार काटेर खेतमा सुकाएको धान भिजेर र पाक्नै लागेका धानको बोट हावाहुरीले ढलाएर क्षति पुर्‍याएको छ।

सिग्देलका अनुसार लेकाली क्षेत्रमा काटेर खेतमा सुकाएको धान पाँच दिनसम्मको लगातारको वर्षाले भिजेर खेतमा नै दाना झरेको छ। तल्लो क्षेत्रमा पाक्ने लागेका धानको बोट हावाहुरीले ढलाएको छ।

म्याग्दीको रत्नेचौर, बगरफाँट, फापरखेत, गरापानी, खबरा, सीम, बाबियाचौर, पुलाचौर, अर्मन, कुहूँ, देविस्थानलगायतका ठाउँमा लगाइएको धानबालीमा क्षति पुगेको हो। यस वर्ष धान रोप्ने समयमा प्रर्याप्त वर्षा भएको, धानमा रोग किराको प्रकोप नदेखिएको र सिंचाइको सुविधा पनि पुगेकाले विगतका वर्षका तुलनामा धान उत्पादनमा बृद्धि हुने किसानले आशा गरेका थिए। तर‚ थन्क्याउने बेलामा भएको बेमौसमी वर्षा र हावाहुरीका कारण धान बालीमा क्षति पुगेपछि किसानहरु चिन्तित बनेका हुन्।

म्याग्दीमा गौरिया, जेठो बुडो, जर्नेली, पहेँले, मार्सी, ताकमारे, भट्टे, छमरुङ, माछापुच्छ्रे, अन्नपूर्ण ३, खुमल ४, खुमल १०, लुम्ले २ लगायतका उन्नत जातका धान खेती हुने गर्छ। गत वर्ष तीन हजार ९२५ हेक्टरमा १३ हजार ६२६ मेट्रिक टन धान उत्पादन भएकोमा यस वर्ष धान भित्राउने समयमा भएको मौसमी प्रतिकुलताका कारण उत्पादन घट्ने भएको छ।

धु्रबसागर शर्मा

धु्रबसागर शर्मा बेनीअनलाइनका संवाददाता हुनुहुन्छ।