गीतमा सुनिएका मानबहादुर गन्धर्वका शब्दहरुमा नेपाली ग्रामीण परिवेशको यथार्थ बयान भेटिन्छ । फाँटैभरी लहलहै झुलेका धान । गोठैभरी गाईवस्तु । खोरमा बाख्रा र कुखुरा ।करेसाबारीमा तरकारी । बारीमा कोदो । चारैतिर हरियाली । वरिपरी साह्रोगाह्रो पर्दा सघाउने आफन्त र इष्टमित्र । यो शारदीय मौसममा देखिने गाउँको चित्र हो ।
एक÷डेढ दशक अघिसम्म ‘गाउँमा अभाव छ,अवसरै छैन’ भन्ने मानसिकता व्यापक थियो । तर,अहिले समय फेरियो । देशमा संघीय व्यवस्था लागु भएपछि दुर्गम गाउँको मुहार पनि उजेल्लिएको छ ।
गाउँ–गाउँ, बस्ती–बस्तीमा सिहंदरबार पुगेको अनुभुति गरिएको छ । गाउँका वस्ती वस्तीमा मोटरबाटो पुगेको छ । बजारको सामान गाडी चढाएर घरको आँगनमै झार्न सकिन्छ । खरबारीको घाँस ट्याक्टर वा मोटरसाइकलमा गोठमै पुग्छ । गाउँमा उत्पादन गरिएको वस्तु मान्छेले नबोकिकनै बजारका पसल पसलमा पु¥याउन सकिन्छ ।
अहिले गाउँमा सुन्दर प्रकृति, आवश्यक विकास र थुप्रै अवसर सबै छन् । छैनन् त केवल प्रकृति,विकास र अवसरलाई सदुपयोग गर्ने युवा । ‘युवा नहुँदा गाउँ, गाउँघरजस्तो लाग्दैन । गाउँले, गाउँले जस्ता देखिदैनन्’ आफ्ना २६ वर्षीय छोरालाई विदेश जानबाट रोकेर गाउँमै कृषिकर्ममा लगाएका बगरफाँटका दुर्गावहादुर थापाले भने,‘मुलुकमा आएको ठूलो परिर्वतनसँगै गाउँलेका रहर र सपनामा पनि परिवर्तन आएको छ । केटाकेटी १० पास गरेपछि सहर पस्छन् । १२ पास गरे परदेशी बन्छन् । विदेश जान गाउँमा होड चल्छ । गाउँमा रहेका अवसरहरु प्रति त कसैको आँखै लाग्दैन ।’
म्याग्दीमा केही समययता विदेशबाट फर्केर गाउँमै उद्यम गर्ने युवाहरुको संख्या बढ्दै गएपनि विदेश नै नगई गाउँमा नै अवसरहरुको खोजी गर्ने युवाहरु भने नगण्य मात्रामा रहेका छन् ।
‘स्कुले बालबालिकाहरुदेखि लिएर ४५ वर्षीय वयस्क व्यक्तिले समेत विदेशकै चाहना राखेको हुन्छ’, बुद्ध एकेडेमीका शिक्षक प्रेम शाहीले भने ‘कक्षामा बालबालिकालाई भविष्यमा तिमी के बन्ने चाहना राखेका छौ ? भनेर सोध्ने हो भने धेरैको मुखबाट ‘लाहुरे’ शब्द फुत्त निस्कन्छ ।’
‘युवाहरु आफ्नो रहरलेभन्दा पनि घरका अभिभावकको कहरले गर्दा विदेशिन वाध्य भएका हुन्’, बेनीका दण्डपाणी शर्मा भन्छन्,‘फलानोको छोरो विदेश गएर यो ग¥यो,त्यो ग¥यो,तँ गाउँमै हल्लिएको छस्,खाएको छस्,बूढा बाबु वल्लो घर छोरालाई गाली गर्दै कराएको पल्लो घर सुनिन्छ,वातावरण नै यस्तो भैदिए पछि एक्लै युवाले मात्रै के के पो गरोस् ।’
युवाहरुमा सकेसम्म युरोप, अमेरिकामा ‘सेटल’ हुन’ नसके खाडी मुलुकमै गएर भए पनि केही कमाएर फर्कने भन्ने मानसिकताले गर्दा गाउँमा रहेका रोजगार र आय आर्जनका अवसर र सम्भावनाहरु ओझेलमा परेका यहाँका जानकारहरुको भनाइरहेको छ ।
रोजगारीका लागि विदेश पसेका युवाहरुबाट म्याग्दीमा वार्षिक तीन अर्बको हाराहारीमा रेमिट्यान्स भित्रिने गरेको गरिमा विकास बैंक बेनीका प्रमुख कमल ढुंगाना बताउँछन् ।
रेमिट्यान्सले पैसा त आयो तर पैसासँगै गाउँमा खुशी भने आउन सकेको छैन । छोरा छोरीले विदेशमा कमाएको पैसाबाट किनिएका शहरका घर र घडेरीमा गाउँका वृद्धवृद्धाहरु बसाइ सर्न मानेका छैनन् । गाउँको चिसो पानी, उर्बर माटो र त्यही माटोमा लडिबुडी खेलेर हुर्केको जवानी त्यती सजिलै विर्सन उनीहरु तयार छैनन् । उनीहरुमा गाउँप्रतिको अगाध प्रेम अझै छ ।
कोरोना महामारीका कारण नेपालको मात्रै होइन विश्वकै अर्थतन्त्र डामाडोल छ । विदेशमा रोजगार गुमाएका युवाहरु गाउँमा फकिएका छन् । उनीहरुमा पुनः विदेश फर्केर काम गर्ने रहर छैन । युवाहरु ‘इनफ इज इनफ’ भन्दै सडकमा समेत उत्रिन थालिसकेका छन् ।
वैदेशिक रोजगारीबाट युवाहरू घर फर्केपछि रेमिटान्सका भरमा सहरमा बसेका परिवार गाउँ पसेका छन् । गाउँ विस्तारै रमाइलो बन्दै जान थालेको छ
म्याग्दीमा ग्रामीण र कृषि पर्यटनको सम्भावना पनि उत्तिकै बढेको छ । विदेशमा काम गरेर फर्केका कामदारमा कुनै न कुनै सीप हुन्छ । सोही सिप प्रयोग गरेर गाउँमै आयआर्जनसँग युवाहरु जोडिन थालेका मालिका गाउँपालिकाका
प्रमुख श्रीप्रसाद रोका बताउँछन् । अहिलेको अवस्थालाई अभाव होइन अवसरको रुपमा लिइ युवाहरुकोे सपनालाई साकार पार्न स्थानीय सरकार लागिपरेको अध्यक्ष रोकाले बताए ।
गाउँमा पैदलमार्ग, परम्परागत एवंम ऐतिहासिक स्थल, ताल, खोला, झरना आदिलाई पर्यटन केन्द्र बनाउन सकिने उनको भनाइरहेको छ । स्थानीय परिकार र संस्कृतिको स्वादमा होम स्टेहरू सञ्चालन गर्ने गाउँपालिकाको योजना रहेको उनी सुनाउँछन्