शनिबारदेखि देशैभर सुरु भएको नेपाल कम्युनिष्ट पार्टी (एमाले)को प्रथम वडा अधिवेशन आइतबार पनि जारीरहेको छ । यसैक्रममा म्याग्दीमा जारी वडा अधिवेशनअनुसार यो समाचार तयार पार्दासम्म जिल्लाको ३५ वटा वडाहरुमा सर्वसम्मत नेतृत्व चयन सकिएको छ ।

आइतबार सम्पन्न प्रथम वडा अधिवेशनबाट मंगला गाउँपालिका–३ र ४ बरंजाको वडा अध्यक्षमा क्रमशः कुलबहादुर थापा र अर्जुन रोकामगर सर्वसम्मत चयन हुनुभएको छ । यसैगरी मालिका गाउँपालिका–२, रुमको वडा अध्यक्षमा उदयबहादुर बुढाथोकी र ५ नम्बर वडा देवीस्थानमा कुमार बुढाथोकी अध्यक्षमा सर्वसम्मत चयन भएको नेकपा एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।

त्यस्तै आइतबार नै सम्पन्न प्रथम वडा अधिवेशनबाट पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–५, मल्कबाङमा घनबहादुर दर्जी र ६ नम्बर वडा मराङमा ज्ञानबहादुर गर्बुजा वडा कमिटीको अध्यक्षमा चयन भएको एमाले अध्यक्ष श्रेष्ठले बताउनुभयो । उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिका–४, दग्नाममा ईन्द्रमान थजाली र ५ नम्बर वडा झिँमा तेजु शेरपुञ्जा वडा कमिटीको अध्यक्षमा चयन हुनुभएको छ ।

त्यसैगरी अन्नपूर्ण गाउँपालिका–१, दोवाको वडा कमिटी अध्यक्षमा कुलप्रसाद पूर्जा र ५ नम्बर वडा शिखमा तेसराम पूर्जा अध्यक्ष रहेको वडा कमिटी सर्वसम्मत रुपमा चयन भएको छ । यसअघि शनिबार बेनी नगरपालिकाको १० वटै वडाहरुमा सर्वसम्मत रुपमा एमालेको वडा कमिटी चयन भैसकेको छ । बाँकी रहेका केही वडाहरुमा अहिले पनि अधिवेशन चलिरहेको नेकपा एमाले म्याग्दीले जनाएको छ ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको बीचमा पार्टी एकता भएर नेकपा बनेको भए पनि लामो समयसम्म पार्टीका गतिविधिहरु हुन सकेनन् । गएको फागुन २३ गते सर्वोच्च अदालतको फैसलाअनुसार नेकपाको एकता भङ्ग भएर पुनः दुवै पार्टी पुरानै अवस्थामा फर्किएका थिए । लामो समयपछि टोलसम्मै पार्टीका गतिविधिहरु सञ्चालन भएपछि नेता, कार्यकर्तामा उत्साह छाउनुका साथै एमालेप्रति आम जनताको लहर बढ्दै गएको देखिन्छ ।

Leave a Reply