मोनाको चौथो महाधिवेशन तथा बन्द सत्रमा जे देखियो !

0

म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) को गतहप्ता मात्र चौथो अधिवेशन सम्पन्न भयो । अधिवेशन पश्चात्को माहोललाई लिएर मोनाप्रति चासो राख्नेले सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया दिइरहेकै छन् । महाधिवेशन प्रतिनिधिको हैसियतमा म आफू प्रत्यक्ष उपस्थित रहेको हुँदा‘ र सञ्जालमा आएका केही क्रिया–प्रतिक्रियासहित मेरो मनमा खट्केका भावनालाई पोख्दैछु । यो लेख एक महाधिवेशन प्रतिनिधिको हैसियतमा लेखिएको हुँदा‘ यसको जिम्मेवार म आफैँ रहेको छु ।
महाधिवेशन २ दिनसम्म चल्ने कार्य तालिका थियो । कार्य तालिका अनुरूप महाधिवेशनको पहिलो दिनमा जिल्लामा बसोबास गर्ने विभिन्न जातजातिको पहिचान झल्कने झाँकीसहितको ¥यालीले बजार परिक्रमा गर्‍यो । मोनाप्रति झरी तथा कोरोनाका बाबजुद बेनीबासीले अथाह माया देखाए, जसको प्रशंसा जति नै गरे पनि कम हुन्छ । जिल्ला समन्वय समितिको सभा हलमा औपचारिक कार्यक्रम भयो । थुप्रैले भाषण गरे, नाचे गाए रमाए । मोनाको पुस्तक विमोचनदेखि सम्मान कार्यक्रम जोडिए । मोना कतारले वक्तृत्वकलाको विजेता घोषणा गरेर पुरस्कार समेत वितरण ग¥यो । वास्तवमै खुल्ला सत्र भने जस्तै भयो ।
महाधिवेशनको मुख्य मुटु मानिने बन्द सत्रको पहिलो दिन संस्थाको आयव्यय तथा साङ्गठनिक प्रतिवेदन पेश भयो र पास पनि भयो । एनइसीहरुले पनि आफ्नो कार्य प्रगति विवरण पेस गरे । म्याग्दीका महारथी महावीर पुनले समेत आफ्नो सुझाव मोनामा राखे । समग्रमा बन्दसत्र राम्रो भयो । बन्द सत्रको समापन गर्दै अध्यक्ष ओमनारायण जुग्जालीले सर्वाधिकार निर्वाचन समितिलाई सुम्पिए । अब मोना पुरै निर्वाचनमा होमियो ।
सहमति या निर्वाचन बाहेक अरू विकल्प निर्वाचन समितिसँग छैन र कहीँ हुँदैन पनि । मोनाको २०२१–२३ कार्यकालको अध्यक्ष पदका लागि निवर्तमान कार्य समितिका वरिष्ठ उपाध्यक्ष मीम पुर्जा (नेदरल्यान्ड) उपाध्यक्ष अमर छन्त्याल (अमेरिका) र महासचिव विक्रम कार्की (कतार) ले उम्मेदवारी दिएका थिए । पुर्जाले आफूले समन्वयकारी भूमिका निभाउन उम्मेदवारी दिएको प्रष्ट बताए भने कार्की छन्त्यालले आफ्ना आगामी कार्यदिशा तथा प्रतिबद्धता बन्द सत्र पश्चात् पेश गरे ।
निर्वाचन समितिले कार्की र छन्त्याल बिच सहमतिका लागि राति साढे आठ बजेपछि करिब डेढ घण्टा समय दियो तर सहमति भएन ।  संस्थाको जिम्मेवारी पूर्ण सचिव र महासचिव हुँदै अध्यक्षका प्रत्यासी बनेका कार्कीले उपाध्यक्ष छन्त्याललाई सहजै छाड्ने मनसाय देखाएनन् । कार्कीको दह्रिलो उपस्थिति निकै अर्थपूर्ण र सशक्त बन्दै गयो ।
मोनाको कार्यालय बेनीमा मध्यरातमा निर्वाचनका पदाधिकारी र मोनाका पदाधिकारी सहित बसेको बैठकले अध्यक्ष पदको लागि चिठ्ठा हालौँ, जसलाई पर्छ पर्छ भन्ने प्रस्ताव गरे तर त्यो प्रस्ताव मोना कतार तथा विक्रम कार्कीले ठाडै अस्वीकार गरे । बन्द सत्रलाई अर्को दिन विहान १० बजेसम्मका लागि निर्वाचन समितिले स्थगित गर्दै सूचना जारी गर्‍यो ।
अर्को दिन करिब ११ बजे फेरि म्याग्दी उद्योग वाणिज्य सङ्घको हलमा जम्मा भएर सहमति प्रयास थालियो । यो बेलासम्म मोनामा  सहमति हुन नसकेको सबैले बुझेका थिए । भर्चुअलबाट जोडिएका एनइसीका नेतृत्वकर्ताहरू तातिँदै दबाब बढाउँदै गए तर यता सहमति हुन सकेन । छलफलका क्रममा मोना कतारका तर्फबाट सहभागी मध्य म आफैँले निर्वाचन समिति समक्ष प्रस्ट रूपमा निर्वाचनको माग गरे । मैले “हामी हार्छौँ थाहा छ, कृपया हामी निर्वाचनबाट नै हार्न चाहन्छौँ निर्वाचन गराइयोस् र हराइयोस्” भनेर प्रस्ताव राखेको थिएँ तर जवाफमा मोना भर्खरै हिँड्दै गरेको संस्था भएको हुनाले निर्वाचन गराउन नहुने तर्क निर्वाचन समितिका संयोजकले सुझाए । त्यो सुन्ने हलमा करिब दर्जन थियौँ ।
सहमति नभए पछिको अन्तिम विकल्प निर्वाचनमा जानु हो तर निर्वाचनमा जान समिति नै तयार नहुनु नै मोना कतार बाहिरिनुको प्रमुख कारण हो । सिधा भन्नु पर्दा हामी निर्वाचन गराउन तयार छौँ भन्ने तर बन्द सत्रको २ दिनसम्म निर्वाचन नगराउनु नै मोना, केही कथित पिआरवाला र निहित केही व्यक्तिको स्वार्थमा हिँडेको÷हिँडाइएको प्रस्ट बुझ्न अब सक्नु भएन र ? तै पनि प्रयास गरौँ न त भनेर मिलाउने जिम्मा निर्वाचन समितिलाई नै दिएर जाऊँ न त भनेर सर्वाधिकार प्रदान गरियो तर सहमति हुन सकेन ।
सोही दिन प्रत्याशी छन्त्यालले विक्रम कार्की अध्यक्ष हुँदा‘ आफू वरिष्ठ उपाध्यक्षमा नबस्ने भनी ठाडो अपमान गरे । तर उनलाई अध्यक्ष स्विकारेर विक्रम कार्की वरिष्ठमा चैँ बस्दिन पर्ने भन्ने छन्त्यालको बोलीमा निर्वाचन समितिले लगभग हो मा हो मिलाए । यही समयको आसपासमा भर्चुअल रूपमा जोडिएका मध्य १३ वटा एनइसीहरुले ध्यानाकर्षण पत्र जारी गर्दै निर्वाचनमा नजान र बरियताको मापदण्डमा जान सुझाए । सरसर्ती हेर्दा सामान्य लागे पनि त्यो पत्रले बन्द सत्रलाई नयाँ दिशा दियो र निर्वाचन समितिले त्यसैलाई आधार बनाउन खोज्दै सबैसँग भर्चुअल रूपमा कुरा गर्ने भनी नयाँ नाटक मञ्चन ग¥यो । पटक पटक भएका छलफल प्रयासमा संस्थाका जिम्मेवार मानिसहरू खाडीलाई नेतृत्व दिन तयार देखिएनन् । कार्की तथा मोना कतारको अपमान हुँदै गए पछि विक्रम कार्कीले उम्मेदवारी फिर्ता गरे । कार्कीसँगै निर्विरोध निर्वाचित रमेश पौडेलले सचिव पदबाट राजिनामा दिए र उनको ठाउँमा विधान मिचेरै कोरियाका अध्यक्षलाई ल्याएर सचिव बनाए पिआरवालाले ।
धेरैलाई लाग्ला आफ्नाले नपाए पछि चर्कियो भनेर कदापि होइन । खाडी राष्ट्रले म्याग्दीमा गरेको योगदान, त्यसमा पनि मोना कतारको योगदानको मूल्याङ्कन नगरी अवमूल्यन गर्दा परेको चोटलाई निचोरेको हो । कदले सानो थिए होलान् विक्रम कार्की तर योगदानले कहाँ सानो थिए र अवमूल्यन गरियो भन्ने प्रश्नको उत्तरको खोजी हो । म एक मोनाको पहिलो महाधिवेशनदेखि जोडिँदै आएको एक प्रतिनिधि तथा संस्थापक सदस्यको नाताले यहाँ प्रश्न गर्दछु ती १३ एनइसीलाई ! तपाइँको महाधिवेशन प्रतिनिधिले प्रतिव्यक्ति ३ हजार तिरेर पाएको मताधिकार माथि हस्तक्षेप गर्ने बिना हस्ताक्षरको पत्र जारी गर्नुपूर्व के ती प्रतिनिधिलाई सोध्नु भयो एक पटक ? यदि निर्वाचनप्रक्रिया त्यति खराब हो भने किन पठाएको प्रतिनिधि ? महाधिवेशन प्रतिनिधिको मताधिकार कुल्चने हक तपाइँहरुलाई कसले दियो ?
अब हेर्न बाँकी छ २ वर्ष पछि महाधिवेशन प्रतिनिधि चाहिन्छ कि नै ? अहिले खाडीबाट प्रतिनिधित्व गरेकाहरुको मनोभाव कस्तो रहन्छ ? आइडी तथा पिआरवालाले खाडीको अपमान मात्र गरेनन् मनोबल समेत गिराइदिएका छन् । अन्तिममा चौथो महाधिवेशनबाट बाहिरिएको मोना कतारको आगामी यात्रा सामाजिक रूपमा अविचलित रहनेछ तर मोना आइइसीसँग सहकार्य हुन्छ या हुँदैन त्यो गर्भमै रहेको छ । आगामी पाँचौ महाधिवेशनमा प्रतिनिधिहरू यो कार्यसमितिले कुन नैतिकताले के प्रयोजनका लागि माग्छ होला ? पद्धति समात्न खोजेको मोनाको आगामी कार्यकालका लागि हुनेवाला अध्यक्ष दधिवल खड्कालाई अग्रिम रूपमा हार्दिक बधाई ! नोटः यो लेखकको निजी विचार हो

Leave a Reply