म्याग्दीको बेनी नगरपालिकाको आयोजनामा मङ्गलबारदेखि सदरमुकाम बेनीमा प्रधानाध्यापकहरुका लागि लेखा व्यवस्थापनसम्बन्धी तालिम सुरु भएको छ । विद्यालयमा आर्थिक कारोबार गर्दा प्रयोग हुने खाता तथा फारामहरुलगायत विविध विषयहरुमा जानकारी गराउने उद्देश्यसहित तालिम सञ्चालन गरिएको हो ।

तालिमको उद्घाटन गर्दै शिक्षा विकास तथा समन्वय इकाई प्रमुख दलबहादुर थापाले तालिमपश्चात् सिकाइलाई व्यवहारमा उतार्न सहभागीलाई सुझाव दिनुभयो । उहाँले विद्यालयमा भौतिक पूर्वाधार निर्माणका क्रममा केही विद्यालयहरुको अझै पनि बेरुजु बाँकी रहेकाले त्यसलाई सच्याउनुपर्ने बताउँदै परीक्षामा सहभागी हुने विद्यार्थीहरुको स्पष्ट रुपमा तथ्याङ्क अपडेट तथा फाराम भर्नुपर्ने बताउनुभयो ।

इकाई प्रमुख थापाले इमिस नभरेका विद्यालयहरुले अनिवार्य रुपमा कार्तिक मसान्तसम्म विवरण अद्यावधिक गर्न आग्रह गर्दै इमिस नभरेको खण्डमा नतिजा प्रकाशनमा समस्या हुनुका साथै विद्यार्थीको अनुदान रोकिनेतर्फ सचेत गराउनुभयो । उहाँले कार्यसम्पादन मूल्याङ्कन फाराम भर्दा धेरै त्रुटिहरु रहेकाले त्यसलाई सच्याउनुपर्नेमा जोड दिँदै विद्यालयको अभिलेख व्यवस्थापन गरी रुजु गर्नेतर्फ विशेष ध्यान दिन प्रअहरुलाई आग्रहसहित विद्यालयको आर्थिक लेखा प्रणालीलाई चुस्तदुरुस्त बनाउनुपर्ने बताउनुभएको छ ।

तालिमको उद्घाटनसत्र समापन गर्दै बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले विद्यालयमा अध्ययन गरिरहेको विद्यार्थी परीक्षा दिनबाट बञ्चित हुनुपर्ने अवस्था आउन नदिन समयमै परीक्षा फाराम भर्ने, रुजु गर्नेलगायत व्यवस्थापनतर्फ ध्यान दिन सुझाव दिनुुभयो । उहाँले नगरपालिकासहित कतिपय कार्यालयहरुमा महालेखा परीक्षण गर्दा बेरुजुको भोलुम ठूलो भए पनि घट्दै गैरहेको भन्दै यस्तो संवेदनशील विषयमा सम्बन्धित निकायले समेत राम्रोसँग चेकजाँच गरेर आवश्यक सल्लाह तथा सुझाव दिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवाल र सामाजिक विकास समितिका संयोजक एवं सिङ्गाका वडा अध्यक्ष गोविन्दप्रसाद पौडेलले तालिमको अवधि छोटो भए पनि यसलाई उपब्धिमूलक तथा प्रभावकारी बनाउनुपर्ने भन्दै विद्यालयमा रहेको बेरुजुलाई घटाउन आग्रह गर्नुभएको छ । म्याग्दी बहुमुखी क्याम्पसका पमुख गोरखबहादुर जिसीको विशेष उपस्थिति रहेको कार्यक्रम बेनी नगरपालिकाको शिक्षा शाखाका अधिकृत अर्जुन पौडेलको स्वागत र स्रोतव्यक्ति जयराम सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो ।

म्याग्दी क्याम्पसको सभाहलमा सुरु भएर दुई दिनसम्म चल्ने तालिममा बेनी नगरपालिका क्षेत्रभित्र सञ्चालित ५६ वटा सामुदायिक विद्यालयका प्रअहरु र मावि विद्यालयमा कार्यरत लेखापालसहित कुल ७० जनाको सहभागिता रहेको छ । तालिमको बेनी नगरपालिकाका लेखा अधिकृत मिनबहादुर बानियाँ, कोष तथा लेखा नियन्त्रक कार्यालय म्याग्दीका लेखापालद्वय भीष्म थापा, सुमन सुवेदी, बेनपाका लेखापालहरु रत्न केसी र माधव भूषालले सहजीकरण गरिरहनुभएको छ ।

तालिममा विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, लेखा सम्बन्धित कर्मचारी तथा सम्बद्ध निकाय र पदाधिकारीको भूमिका, विद्यालय अनुदान व्यवस्थापन तथा सञ्चालन, अनुदान प्रकारका स्रोतहरु, अनुदान परिचालनको तरिकालगायत विभिन्न विषयहरुमा सहजीकरण भैरहेको जनाइएको छ । 

 

Leave a Reply