मोनाको प्रतिबद्धता राजनीतिक दलको चुनावी घोषणा पत्र जस्तै

0
1

म्याग्दीको विपद्को सारथीको रुपमा स्थापीत मोनाले स्थापनाकालदेखि नै घोषणा गर्दै आएको उत्पादनमूलक क्षेत्रमा लगानी भित्र्याउने घोषणा अधुरै छ । मोनामा नै आबद्ध भएका व्यक्तिहरूको लगानीमा अघि बढाइएका जलविद्युत आयोजनाहरू थलिनुले मोनाको उत्पादनमुलक क्षेत्रमा गर्ने भनिएको सामूहिक लगानीमाथि प्रश्न उब्जाएको छ ।

प्रवासी म्याग्देलीहरूको लगानीमा अघि बढाइएका मालिका गाउँपालिका–६ मा निर्माणाधीन २५ मेगावाट क्षमताको दरबाङ म्याग्दीखोला र रघुगंगा गाउँपालिका–७ चिमखोलामा निर्माण गरिने भनिएको ५ मेगावाट क्षमताको मोना बगरखोला जलविद्युत् आयोजनाले गति लिन सकेका छैनन् । हरेक अधिवेशनमा प्रवासी पुँजी, शिप र ज्ञानलाई जिल्लाको उत्पादनमुलक क्षेत्रमा लगानीको रुपमा भित्र्याउने घोषणा हुँदै आएको छ ।

महाधिवेशनमा विमोचन गरिएको ‘मोना स्मारिका’मा मोनाका संस्थापक महासचिव शिवकुमार बरुवालले स्थापनाकालमा लिएका लक्ष्य र उदेश्यहरूको समिक्षा गर्दै घोषित उदेश्यहरूको कार्यान्वयनमा जुट्नुपर्नेमा जोड छ ।

‘‘मोनाले परोपकारी क्षेत्रमा यथेष्ट रचनात्मक कार्य गर्न सफल भएको छ, तर यसैमा मात्रै अल्झिएर बस्न हुँदैन, सुरुवातदेखि नै घोषणा गरेको उत्पादनमुलक क्षेत्रमा सामुहिक लगानीको घोषणालाई मोनाको नयाँ अध्यायको रुपमा अघि बढाउन माग छ । म्याग्दी प्राकृतिक स्रोत र साधनले भरिपूर्ण जिल्ला भएकाले जल, जमिन, जंगल, जडिबुटी र जनशक्तिको अधिकतम उपयोग गर्ने गरि पुँजी र प्रविधिलाई लगानीको रुपमा भित्र्याउनुपर्ने बरुवालको धारणा छ ।

मोनाले सन २०१६ मा तत्कालिन जिल्ला विकास समितिसंगको सहकार्यमा अघि सारेको फ्री वाइफाइ जिल्ला बनाउने महत्वकाँक्षी योजनालाई घोषणामा मात्रै सिमित बनाएको छ । तत्कालिन समयमा विभिन्न देशमा रहेका प्रवासी म्याग्देलीहरूमार्फत संकलन गरिएको लाखौँ रकम समेत उपयोगविहिन बनेको प्रवासी म्याग्देलीहरूले नै गुनासो गर्दै आएका छन् ।

त्यसैगरि सन २०१७ मा दरबाङमा सम्पन्न भएको मोनाको दोस्रो महाधिवेशनमा महिलाहरूको हक, अधिकार सुरक्षित र आत्मनिर्भर गराउने योजना सहित रु १ करोडको अक्षयकोष बनाउने घोषणा गरिएको र लाखौँ बोल रकम संकलन भएको घोषणा गरिएको भएपनि उक्त अक्षयकोष अहिलेसम्म पनि कार्यान्वयनमा आउन सकेको छैन् ।

‘‘हालसम्म ९० लाख बोलकबोल भएको छ, तर त्यसको आधा रकम पनि जम्मा हुन सकेको छैन, कोषलाई कसरी परिचालन गर्ने अझै अन्यौल छ’’–मोनाका वर्तमान कार्यसमितिका एक पदाधिकारीले बताए ।

परोपकारी र मानविय सेवासँगै अब प्रवासमा आज्रित ज्ञान, सीप र पुँजीलाई जिल्लामा भित्र्याउने , उत्पादनमुलक र रोजगार सिर्जना गर्ने क्षेत्रमा लगानी गर्ने मोनाको प्राथमिकता हो, प्रवासी जिल्लाबासीबाट सामुहिक लगानी भित्र्याउन मोना इन्भेस्टमेन्ट कम्पनीलाई अघि बढाउने तयारी रहेको निर्वाचित अध्यक्ष अमर छन्त्यालले बताए ।

म्याग्दीमा उत्पादन हुने सिमि, चामल, टिमुर, च्याउ, गुन्द्रुक लगायतलाई उपजहरूलाई ब्राण्डिङ गरेर अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउन सकिनेसमेत बताए ।एक दशक पार गर्दा मोनाले म्याग्दीमा दैवि प्रकोप पीडितलाई राहत तथा सहयोग, आर्थिक अभाबको सामना गरिरहेका गरिब विपन्न परिवारका विरामीहरूको उपचारमा आर्थिक सहयोग जुटाउने कार्यमा प्रसंसा बटुलेको छ ।

प्रवासमै समस्यामा परेका जिल्लावासीको उद्धार, तथा रोजगारको बन्दोबस्त मिलाउने काम गरेको छ । एक दशकको अवधिमा मोनामार्फत विश्वका विभिन्न २८ वटा मुलुकमा रहेका म्याग्देलीहरूलाई गोलबद्ध गर्न सफल भएको मोना अन्तर्राष्ट्रियका निर्वतमान अध्यक्ष ओमनारायण जुग्जालीले दिए । प्रवासमा रहेका म्याग्देलीहरूको साझा चौतारीको रुपमा रहेको मोना सन २००७ देखि स्थापित भएको थियो । यो समाचार धिरन खत्रीले कारोबार राष्ट्रिय दैनिकमा लेखेका छन् ।