म्याग्दीको मंगला गाउँपालिका-५,अर्मनमा जन्मिएका प्रकाश दुतराजको पछिल्लो जाम भो माईली एल्बमको ‘लाहुर जाने रेलैमा’ बोलको गीत अहिले बालबालिका देखि बृद्धबृद्धासम्मको जिब्रोमा झुण्डिएको छ । युवापुस्ताले टिकटकमा गीतलाई भाइरल नै बनाएका छन् । अहिले सहरबजार देखि दुर्गम बस्तीसम्म यो गित गुञ्जिन्छ । यूटुवमा यो गीत साढे ३३ लाखले हेरेका छन् । यूवापुस्ताको रोजाईमा परेका दुतराजको हरेक गीतमा मौलिकता झल्किने गर्छ।

उनका हरेक रचनामा फरक स्वाद हुने भएकाले नै संगीतका पारखीले उनलाई नै खोज्छन्। त्यसैको परिणाम उनका पछिल्ला गीतहरूले यूटुवमा मनग्य कमाइरहेको छ । साधारण र हसिलो स्वभावका दुतराजले सबै उमेर समुहकालाई लक्षित गरी गीतहरू पस्किने भएकाले नै लामो समयसम्म जिब्रोमा भुण्डिने गरेको छ ।

म्याग्दीमा जन्मिएरका दुतराजले आयोजकको अनुरोधमा आफ्नो प्रस्ताव अनुसारको सम्झौता भएमात्रै कार्यक्रममा सहभागी हुन्छन् । उनले सांगीतिक कार्यक्रममा जानुभन्दा नयाँ रचनालाई बढी प्राथमिकता दिने गर्छन् । सर्जक दुतराज घरका पहिलो सन्तान हुन् । गीत गाउने रहरका बाबजुद पनि परिवारको आर्थिक विपन्नतालाई सम्पन्नतामा ढाल्नुपर्ने जिम्मेवारीका कारण धेरै अगाडी नै उनी दर्शकस्रोताको माझ आउन सकेनन् ।

सांगीतिक क्षेत्रमा दुतराजले गरिबीलाई पन्छाउन हरियो पासपोर्ट समेत बनाए । विदेश जान दिएको पैसा फस्यो तर उनले विदेशको सपनालाई चटक्कै बिर्सिएर नयाँ सोच र सपना बोकेर रित्तो झोला बोकेर गाउँ फर्किए । विदेशमा गएर घरको गरिबीलाई पन्छाउने सपना बोकेका दुतराजले काठमाण्डौबाट नेपाली संगीतका पारखीको मन मुटुमा बस्न सफल भएर गायन क्षेत्रमा प्रवेश गरे । दलालसँग पैसा फस्दा दुतराजको सपना नै फेरियो ।

उनले सिर्जना र स्वर भरेको ’जाम भो माइली’ बजारमा आएको छ। लोक लयमा आधारित उक्त गीतले उनलाई गायन क्षेत्रमा अझै बलियो बनाएको छ । करिब ७ महिनाअघि तयार पारेको उक्त गीतमा गरेको मेहनत अनुसारको नतिजा आएको दुतराजले बताए ।

बेनीअनलाइनसँगको छोटो कुराकानीमा दुतराजले अपेक्षाभन्दा बढी दर्शकले मन पराएको बताउँदै अवको अर्को कोशेलीमा समेत दर्शकको मन जित्ने गरी तयारी गरेको बताए । उनले आफ्नो गीत चर्चामा आउँदा जन्मभूमीलाई समेत सम्झिने गरेको बताए । म्याग्दी ऐतिहासिक, सामाजिक र सांस्कृतिक महत्वले थप अग्रणी भूमिका खेल्ने जिल्ला भएकाले आफुँलाई यहाँबाट धेरै मायाँ मिलेको बताए ।

‘अब मैले हरेक सिर्जनालाई धेरै मेहनत गर्नुपर्छ,‘एकपछि अर्को गीतले सोचेभन्दा बढी दर्शकले मन पराइदिँदा नयाँ गीतमा धेरै मेहनत गर्नुपर्ने अवस्था आएको छ’ प्रकाशले भने । उनले आफ्नो गीत मनोरञ्जनका लागि भन्दा पनि समाजको विकृती र सामाजिक सद्भावका लागि भएको बताए ।

पछिल्ला करिब आधा दर्जन गीतमा आरने, बैनी झ्यालैमा, घर कता हो बैनीको, पछ्यौरीको तातो, तिरिरि मुरली बज्यो तारेभीर,फूल लाउँथें शिरमा, अहिले चर्चामा आएको गीत जाम भो माइलीमा मानवीय र सामाजिक सन्देश लुकेको छ । ’जाम भो माइली’ मा उनले समाजमा भएको महिला बेचबिखनको विषय उठाएका छन्। ’आरने’ बोलको गीत ल्याएका थिए। जसमा समाज रहेको छुवाछुत प्रथा र भेदभावको सन्देश प्रसस्तै भेटिन्छ ।

त्यसबाहेक पनि यूटुवमा मिठो भ्यूज गएको गीतमा समाजको गहिरो सन्देश लुकेको छ । उनले तयार पारेका गीत करिब १० वटाको हाराहारीमा रहेका गीतहरूमा मानवीय भेदभाव, समाज,संस्कार र संस्कृति पक्षलाई प्राथमिकता दिने गरेका छन् । उनले गृह जिल्ला म्याग्दीको माटोले गीत सिर्जना गर्न सिकाएकाले आगामी दिनमा जिल्लालाई चिनाउने गरी काम गर्ने बताए।

 

Leave a Reply