बेनी–जोमसोम–कोरला सडक खण्ड स्तरोन्नति गर्न आजदेखि दैनिक १० घण्टा बन्द हुने भएकाे छ । नियमित सडक सञ्चालन गर्दा विस्तारमा समस्या भएपछि आज बिहानदेखि अर्को सूचना जारी नहुँदासम्म गाडी बन्द र काम गर्ने गरी बिहान तथा दिउँसो गरी दैनिक १० घण्टा सडक बन्द हुने जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

सडक स्तरोन्नतिका लागि मुस्ताङको सिमानामा पर्ने म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाको काभ्रेभिरमा मर्मत र गाडी एकसाथ आवतजावत गर्न नसक्ने तथा चलाउँदा पनि अत्यन्तै जोखिमयुक्त हुने भएकाले जोखिमबाट सम्भावित दुर्घटना रोक्न गाडी आवागमन बन्द गर्नुपरेको प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले बताउनुभयो ।

उहाँका अनुसार दैनिक बिहान ७ बजेदेखि ११ बजेसम्म तथा दिउँसो १ देखि ५ बजेसम्म गाडी सञ्चालन रोकेर सडक स्तरोन्नतिको काम गरिनेछ । त्यस्तै बेलुकी ७ देखि बिहान ७ बजेसम्म र दिउँसो ११ देखि १ बजेसम्म बाटो खुला रहनेछ । यस समयमा ठूला गाडीलाई रुप्से आसपासका क्षेत्रमा रोक्न र पैदलयात्रीलाई पारिबाट गन्तव्यमा पुग्ने गरी वातावरण बनाउन आवश्यक सहयोग गर्ने उहाँले बताउनुभयो ।

काभ्रेभिर बेनी–जोमसोम सडकको जोखिमयुक्त सडक पनि हो । हरेक वर्ष नेपाली सेनाको सहयोगमा विस्फोटक पदार्थको प्रयोग गरी सडक चौडा गर्ने कामसमेत हुँदै आएको छ । भारत र चीनलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाले ७६ किलोमिटर लामो बेनी–जोमसोम सडकको काम पछिल्लो समय तीव्र गतिमा अगाडि बढाइएको छ ।झण्डै छ अर्ब रुपैयाँ लागतमा बन्ने राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक आयोजना २०७४ सालदेखि निर्माण सुरु गरिएको हो ।

Leave a Reply