टि–२० विश्वकपमा पाकिस्तानले लगातार तेस्रो जित हात पारेको छ । शुक्रबार दुबइमा भएको खेलमा पाकिस्तानले अफगानिस्तानलाई ५ विकेटले हराएको हो । टिमको जितमा महत्वपूर्ण भूमिका खेलेका बाबर आजमले अर्धशतक बनाएका थिए । यो इनिङमा पाकिस्तानी कप्तान आजमले भारतीय कप्तान विराट कोहलीको विश्वरेकर्ड ध्वस्त पार्दै नयाँ रेकर्ड बनाएका छन् ।

बाबर आजम टि–२० अन्तर्राष्ट्रियमा कप्तानको रुपमा खेल्दै सबैभन्दा छिटो १ हजार रन पूरा गर्ने खेलाडी बनेका छन् । आजमले कप्तानको रुपमा खेल्दै केवल २६ इनिङमा १ हजार रन पूरा गरेका छन् । यसअघि सबैभन्दा छिटो १ हजार रन बनाउने कप्तानको रेकर्ड विराट कोहलीको नाममा थियो । कोहलीले ३० इनिङमा १ हजार रन पूरा गरेका थिए । यो सूचीमा कोहलीपछाडि दक्षिण अफ्रिकाका फाफ डु प्लेसिस (३१), अस्ट्रेलियाका आरोन फिन्च (३२) र न्यूजिल्याण्डका कप्तान केन विलियमसन (३६) छन् ।

बाबरले टि–२० अन्तर्राष्ट्रियमा कप्तानको रुपमा सबैभन्दा धेरै अर्धशतकको रेकर्ड पनि बनाएका छन् । हिजो बाबरले कप्तानको रुपमा १३ औं पटक अर्धशतक बनाए । यससँगै उनी सबैभन्दा धेरै अधृशतक बनाउने कप्तानको सूचीमा विराट कोहलीसँगसँगै साझा रुपमा शीर्ष स्थानमा पुगेका छन् । कोहलीले पनि कप्तानको रुपमा अहिलेसम्म १३ अर्धशतक बनाएका छन् । dcnepal.com

Leave a Reply