कोरोना भाइरसको जोखिमलाई मध्यनजर गदैं जिल्ला प्रशासन कार्यालय म्याग्दीले तिहारको समयमा हुने देउसीभैलो खेल्न रोक लगाएको छ । जिल्लामा कोरोना संक्रमतिको संख्या थपिदै जान थालेपछि सरोकारवाला निकाय, स्थानीय तहका जनप्रतिनिधि लगायतको सुझावको आधारमा जिल्ला सुरक्षा समितिको बैठकले देउसीभैलो खेल्न, भेला भई गरिने शुभकामना आदानप्रदान,खेलकूद लगायतका क्रियाकलाप सञ्चालन नगर्न समेत निर्देशन गरेको प्रशासनले जनाएको छ।

कोरोना भाइरस समुदायस्तरमै देखिएको अवस्थामा महामारी नियन्त्रणका लागि चाडपर्व लक्षित सुरक्षा योजना कार्यान्वयनमा समेत देउसीभैलो कार्यक्रम सञ्चालन नगर्ने भएकाले सबै स्थानीय तहमार्फत सूचना समेत जारी गरिएको सहायक प्रजिअ सुवास शर्मा पौडेलले बताए ।

‘यसबर्ष पनि देउसीभैलोमा रोक लगाइएको छ,‘स्थानीय तहले समेत रोक लगाएकाले गाउँगाउँमा समेत समुदायलाई खेल्न नदिन अपिल गरेका छौ’ पौडेलले भने ।

घरदैलोमै पुगेर खेलिने देउसीभैलोका कारण सङ्क्रमणको जोखिम भएकाले सर्तकता आवश्यकता रहेको प्रशासनले जनाएको छ । कोरोनाको खोप अभियानसँगै पछिल्लो समय संक्रमतिको संख्या समेत देखिन थालेपछि भिडभाड हुने गतिविधि नियन्त्रणमा प्रशासनलाई सरोकारवाला निकायले दवाव दिएका थिए ।

जिल्ला प्रशासन कार्यालयले निर्णयको अटेर गरी खेलेमा सूचना समेत दिन अनुरोध गरेका छन् । बेनी नगरपालिका सहित जिल्लाभर विभिन्न स्थानमा मेलापर्व सञ्चालन भइरहेको अवस्थामा सूचना जारी गरेपनि पूर्णरुपका कार्यान्वयन हुनेमा समेत आशंका गरिएको छ ।

यूवा क्लवले आयोजना गरेको मेलापर्व समेत रोक्न स्थानीय तहमार्फत प्रशासनले अनुरोध गरेको छ । त्यस्तै तिहारको बेला पटाका, आतसबाजीलगायतका विष्फोटक पदार्थ ओसारपसार तथा प्रयोगमा समेत प्रहरीले कडाई गरेको छ । दशैंयता संक्रमति बढेको अवस्थामा चाडपर्वमा थप कडाई आवश्यक रहेको स्वास्थ्यका जानकारहरु बताउँछन् ।

Leave a Reply