सामाजिक विकास कार्यालय म्याग्दीको आयोजनामा आइतबारदेखि सदरमुकाम बेनीमा सञ्चालित अभिमुखीकरण कार्यक्रम आज सकिएको छ । म्याग्दी जिल्ला भित्रका स्थानीय तहहरु तथा जिल्लास्तरका सरोकारवालाहरुलाई लक्षित गरेर अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको थियो । सामाजिक विकास कार्यालय म्याग्दीद्वारा चालु वर्षमा सञ्चालित विभिन्न कार्यक्रमहरुको बारेमा जानकारी गराउन कार्यक्रम आयोजना गरिएको कार्यालयले जनाएको छ ।

स्थानीय तह, जिल्लास्थित कार्यालयहरुबीच सामञ्जस्यता कायम गर्ने र सामाजिक विकास कार्यालयको योजना तथा नीतिमा मूल प्रवाहीकरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो । दुई दिनसम्म चलेको कार्यक्रममा आइतबार सामाजिक विकास कार्यालयको भूमिका, सार्वजनिक सेवा प्रवाह र सुशासन, बालबालिका तथा अपाङ्गतासम्बन्धी ऐननियम र त्यसमा भएका अधिकारको प्रयोग, स्थानीय तहमा लैङ्गिक उत्तरदायी बजेटका विषयमा सहजीकरण गरिएको थियो ।

यसैगरी सोमबार सार्वजनिक सेवा प्रवाहमा आध्यात्मिक चिन्तन र सकारात्मक सोचको विकास, लैङ्गिक हिंसा, बालविवाह, दाइँजो प्रथा, मानव बेचबिखन तथा ओसारपोसार र जातीय भेदभावसम्बन्धी वर्तमान अवस्थाको तथ्याङ्क एवं सोसम्बन्धी कानुनी उपचारका प्रावधान, बालमैत्री स्थानीय शासन, स्थानीय सरकार सञ्चालन ऐन २०७४ लगायतका विषयहरुमा सहजीकरण गरिएको थियो ।

अभिमुखीकरण कार्यक्रमको म्याग्दीका जिल्ला न्यायाधीश तेजनारायण पौडेल, प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी राना, सामाजिक विकास कार्यालय बागलुङका प्रमुख डम्बरबहादुर जिसी, म्याग्दी प्रमुख रमेश थापा, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नवराज केसी, बेनी नगरपालिकाका शाखा अधिकृत युवराज थापा र बह्माकुमारी ईश्वरिय विश्वविद्यालयका सञ्चालिका रिना दिदीले सहजीकरण गरेका थिए ।

कार्यक्रममा जिल्लास्थित स्थानीय तह, सरकारी कार्यालय र संघसंस्थाबाट गरी कुल १८ जना प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा जिल्लाको स्थानीय तह र महिला तथा बालबालिका शाखामा कार्यरत कर्मचारीहरुले आ–आफ्नो पालिकामा भए गरेका कार्यक्रमको बारेमा जानकारी गराएका थिए ।

Leave a Reply