म्याग्दीमा शुक्रबार नेपाल सम्बत ११४२ को स्वागत गरिएको छ । नेपाल भाषा मंकाःखलले जिल्ला सदरमुकाम बेनी बजारमा झाँकी सहितको ¥याली र शुभकामना आदानप्रदान गरेर नेपाल सम्बत ११४२ को स्वागत गरेको हो । धिमेबाजा सहितको ¥यालीले बेनी बजार परिक्रमा गरी खलको निर्माणाधिन सभाहलमा पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो । कार्यक्रममा सहभागीहरुले राष्ट्रिय बिभुत शंखधर शाख्वाको तस्बिरमा माल्यार्पण गरेर उहाँको योगदानको चर्चा गरेका थिए ।

संबिधानसभा सदस्य तथा एमाले नेता नवराज शर्मा र नेपाली काँग्रेस म्याग्दीका उपसभापति माधवप्रसाद रेग्मीले जनतालाई ऋणमुक्त बनाउन शंखधर शाख्वाले गरेको निर्णय नेपालीका लागि महत्वपूर्ण योगदान भएको बताउनुभयो । भाषा मंका खल म्याग्दीका संस्थापक अध्यक्ष सुर्दशनकुमार श्रेष्ठले नेपाल सम्बत नेवार समुदायको मात्र नभई नेपालको मौलिक सम्बत भएको बताउनुभयो । नेपाल सम्बतलाई राष्ट्रिय मान्यता र नेपाल भाषालाई सरकारी कामकाजमा प्रयोग गर्नुपर्ने उहाँको भनाई थियो।

जातीय संस्थाको तर्फबाट प्रेम नेपालीले सबै जातजातीबिच सद्भाव कायम राख्न र संस्कृतिको संरक्षण गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा संबिधानसभा सदस्य तथा काँग्रेस नेता रेशमबहादुर बानिया, बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, नेकपा एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठ लगायतको उपस्थिति थियो । कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए ।

भाषा मंका खल म्याग्दीका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बेनीमा सबै जातजाती, संघ संस्था र सभा समारोहका लागि प्रयोग गर्न मिल्ने गरि करिब आठ सय जना क्षमताको सभाहल निर्माणको क्रममा रहेको बताउनुभयो । चन्दा मार्फत हालसम्म ३५ लाख रुपैयाँ खर्च भएको सभाहललाई पुर्णता दिन करिब एक करोड रुपैयाँ खर्च लाग्ने उहाँलेब बताउनुभयो । स्वर्गीय चन्द्रशेखर श्रेष्ठले ४ आना र स्वर्गीय काशीप्रसाद श्रेष्ठले पाँच आना जग्गा उपलब्ध गराउनुभएको थियो । थप २० आना जग्गा खरिद गरेको छ ।

शुभकामना आदानप्रदान कार्यक्रमको अवसरमा अमेरिकामा रहेका दलप्रसाद श्रेष्ठ र पुष्पा श्रेष्ठले तीन लाख ३३ हजार ३३३ रुपैयाँ ३३ पैसा, तारा श्रेष्ठ जोशी र कृष्णबाबु जोशीले एक लाख १५ हजार उपलब्ध गराउनुभएको थियो । दुई महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको सभाहल उद्घाटनका क्रममा आम्दानी खर्च बिबरण सार्वजनिक गरिने अध्यक्ष श्रेष्ठले बताउनुभयो।तुलप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यता र ज्ञानेन्द्रप्रसाद श्रेष्ठको सञ्चालनमा सम्पन्न कार्यक्रममा बेनपा–७ का वडा अध्यक्ष समेत रहनुभएका भाषा मंका खलका पुर्ब अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले स्वागत गर्नुभएको थियो ।

Leave a Reply