सोरठी र देउसीभैलोको संरक्षणमा जुटे स्थानीयवासी

0

उमेरले ६० वर्ष पार गरिसकेका म्याग्दीका चिमखोला, बेगखोला, पाखापानी, ठाडाखानी र बगरफाँटका ज्येष्ठ नागरिक सोरठी गीत र परम्परागत देउसीभैलोको संरक्षणमा जुटेका छन्।

पौराणिक तथा ऐतिहासिक कथा समेटेर विविध लय र तालमा मारुनी नाचसहित सोरठी गाउने चलनलाई निरन्तरता दिन चार गाउँका पुरानो पुस्ता सक्रिय भएका हुन्। त्यसैगरी बेनी नगरपालिका–२ बगरफाँटका पुरानो पुस्ताका अग्रजहरु मौलिक देउसीभैलोको महत्व र भाव नयाँ पुस्तालाई बुझाउन देउसी भैलो कार्यक्रम आयोजना गरेर संरक्षणमा जुटेका हुन्।

मौलिक थाली नाचको उद्गमस्थल चिमखोला, मगर संस्कृतिको आँखीझ्याल मानिने बेगखोला, शेरपुजा र पाइजाको पुख्र्यौली गाउँ पाखापानी र छन्त्याल समुदायको खुला सङ्ग्रहालय मानिने ठाडाखानीका पाका पुस्ताले लोप हुँदै गएको सोरठी संस्कृतिलाई बचाउन नयाँ पुस्ताका बालबालिका र युवायुवतीलाई प्रशिक्षणसमेत दिन सुरु गरेका स्थानीयवासी टेकबहादुर छन्त्यालले बताए। छयात्तर वर्षीय छन्त्याले भने, ‘अघिल्लो पुस्तासँगै मौलिक कला, संस्कृति हराउने डरले संरक्षणको पहलमा जुटेका हौँ।’

सोरठी गीतको समूहमा वृद्ध कलाकारदेखि युवासम्म सम्लग्न छन्। छन्त्यालका अनुसार यो गीत प्रदर्शनकै लागि विभिन्न ठाउँबाट माग आउने गरेको छ। गाउँमा भुमे सोरठी संरक्षण समिति नामको संस्था नै गठन गरेर सोरठी संरक्षणमा जुटेको बेगखोलाका दलबहादुर पुनले बताए। समितिले प्रस्तुतिलाई व्यवस्थित र आकर्षक बनाउन एकै खाले पोशाकको समेत व्यवस्था गरेको छ।

कलाकारमा गाउने समूह, मादले, मारुनी, पुर्सुङ्गेको आवश्यकता पर्छ। पुरुष कलाकार पनि महिलाकै भेषमा मारुनी बनेर नाच्ने परम्परा छ । मादलकै तालबाट गुरु ‘बा’को निर्देशनानुसार अन्य कलाकारले गायनमा सघाउँछन्। मगर समुदायमा विवाह, व्रतबन्धदेखि सार्वजनिक समारोह, मेलापर्व र उत्सवमा समेत सोरठी प्रस्तुत गरिन्छ।

सोरठी गीत विशेषगरी तिहारका बेला रामलीला, कृष्ण चरित्रजस्ता ईश्वरीय भक्तिगानका रूपमा गाउने प्रचलन छ। तर पछिल्लो समय यसको उचित प्रवद्र्धन हुन नसकेको संस्कृतिकर्मीहरू बताउँछन्। यता क्षेत्री र ब्राह्मण समुदायको बाहुल्य रहेको बगरफाँटमा पनि स्थानीय दुर्गाबहादुर थापा, पार्वती शर्मालगायत ज्येष्ठ नागरिकको पहलमा मौलिक देउसीभैलोको संरक्षण अभियान थालिएको छ। File photo

Leave a Reply