म्याग्दीको मालिका गाउँपालिका-५, देविस्थानकी मनिशा सुनारले बेनी नगरपालिका–२ बगरफाँटका रबिन दर्जीलाई टीका लगाइदिईन् ।अभिभावकले कलिलै उमेरमा छोडेर गएपछि साहराविहिन भएका दर्जी र सुनार २०७६ सालमा नेपाल बाल संगठनद्धारा सञ्चालित बालगृहमा प्रवेश गरेपछि पहिलोपटक भाईटीका लगाएर सामुहिक तस्वीर खिचे ।

मनिशा र दर्जी दुबैले जन्मदिने बुबालाई गुमाएपछि बालगृहमा बाध्य भएर प्रवेश गरेका थिए । उमेरले मनिशाभन्दा रबिन ४ महिना कान्छा छन्। मनिशाको घरमा एक दाई भएपनि उनी चाडपर्वमा घर जान्निन् ।

उनीहरूजस्तै बेनपा–९,तोरीपानीकी रोजी पौडेल,मंगला गाउँपालिका–२¥यालेखोरकी करिना कार्कीले बेनपा–६ का अजय कार्की र धवलागिरी गाउँपालिका–१ गूर्जाका निराजन छन्त्याललाई तेलको धाराले छेकेर दीर्घायु कामना गदै परम्पराअनुसार सप्तरङ्गी टीका,सयपत्री फूलका माला लगाइदिए ।

बालगृहमा करिब एक दशक अगाडी प्रवेश गरेकी पौडेलले पहिलोपटक विधि अनुसार भाईटीका लगाएको बताईन् ।‘भाईटीकाको महत्व मैले पनि पछि थाहा पाए,‘टीका र फूलको माला लगाउन पाउँदा निकै खुसी भएको छु’पौडेलले भनिन्।

दिदीभाइ तथा दाजुबहिनी बिच प्रेम र आत्मीयता बढाउने पर्वका रूपमा चिनिने भएकाले जति नै टाढा भएपनि भाइटीकाका बेला सम्झिने वातावरण बनेको बताईन् ।

चाडपर्वमा रमाईलो वातावरण बाहेक भाईटीकाको महत्वका बारेमा जानकारी नभएपनि हसिलो अनुहारमा टिका थापेका थिए । अष्ट्रेलियामा रहेका म्याग्देली चेलीले निधार खाली नहोस् भन्दै भाईटीकाको अवसरमा नेपाल बाल संगठनद्धारा बेनीमा सञ्चालित म्याग्दी बालगृहका बालबाललिकाहरुलाई भोजन र सामुहिक रुपमा भाईटिका लगाइदिएको संगठनका अध्यक्ष राजेश शाक्यले बताए ।

‘परिचय बालगृह भएपनि यो उनीहरूको घर हो,‘हरेक चाडपर्वमा उनीहरूको अनुहारमा खुसीयाली आउँछ’अध्यक्ष शाक्यले भने ।

बालगृहभित्र रहेका बालबालिकालाई दाजुभाई र दिदीबहिनीको सम्बन्धलाई थप बलियो बनाउन र दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यताको महत्वका बारेमा समेत जानकारी गराइएको अध्यक्ष शाक्यको भनाई छ ।

उनले दशैंतिहार जस्ता ठूला पर्वमा परिवार र आफन्तको सम्झना नहोस् भनेर बालगृहका बालबालिकालाई अन्य दिनको तुलनामा विशेष बनाउने गरिएको बताए । बालगृहमा हाल १२ जना बालबालिका आश्रीत छन्।

Leave a Reply