म्याग्दीमा शुक्रबारसम्म कोरोना संक्रमतिको संख्या जम्मा ५ जना छन् । जिल्लाभर कोरोना संक्रमतिको संख्या करिब सुन्य नजिक झरेको अवस्थामा तिहारको रौनकता पनि उस्तै छ ।

अघिल्लो बर्ष कोरोना संक्रमतिको संख्या १ सय नाघेको अवस्थामा पनि भौतिक दुरी कायम गरी तिहार लक्षित कार्यक्रमहरु सञ्चालन गर्न दिएको जिल्ला प्रशासन कार्यालयले यसबर्ष कोरोना नियन्त्रणको बाहनामा जारी गरेको आदेशले बेनीबजारमा फाटफुट देउसीभैलो मात्रै देखियो।

जिल्ला प्रशासन कार्यालयले कात्तिक १४ गते सूचना नै जारी गरेर मेला जात्रा, देउसीभैलो, खेलकुदजस्ता भीडभाडजन्य क्रियाकलाप गर्न रोक लगाएपछि सर्वसाधारणले प्रशासकले आफ्नो जिम्मेबारीबाट भाग्न अनावश्यक सूचनाको झमेलामा नागरिकलाई पारेको भन्दै आक्रोश पोखेका थिए । सूचना जारी परी प्रभावकारी अनुगमनको अभावमा पहुँचवालाले देउसीभैलो, मेलापर्वमा खेलकुदजन्य गतिविधि सञ्चालन गरे।

मौलिक देउसीभैलो कार्यक्रमको तयारी गरेकाहरुलाई समेत प्रशासनको सूचनाले हस्तक्षेप गरेको भन्दै सांस्कृतिक उत्सवमाथि नै ठाडो हस्तक्षेपले तिहारमा चहलपहल घटेको अधिकारकर्मीको भनाई छ ।‘कार्यालयबाट निर्देशन जारी गरेपनि फिल्डमा अनुगमन देखिएन्,‘कोरोनालाई देखाएर सर्वसाधारणलाई त्रसाउने काम बन्द गरियोस्’ एक अधिकारकर्मीले बेनीअनलाइनलाई भने ।

उनले छिमेकी सहित गण्डकी प्रदेशभित्रका कुनैपनि जिल्लामा मौलिक कला र संस्कृति झल्किने कार्यक्रमहरुमा रोक नलगाइएको बताउँदै प्रशासकले जनताको भावनालाई बुझ्ने प्रयास नगरेको बताए ।बेनीमा द साइनिङ नृत्य समूहले भौलो कार्यक्रम सञ्चालन गरेपनि अन्य यूवा क्mलव, सांस्कृतिक समुहले तयारी गरेपनि सूचनाकै कारण अन्तिममा सञ्चालन नगरी बन्द गरेका थिए ।

विगतमा बेनीबजारमै करिब एक दर्जनको हाराहारीमा देउसीभैलो खेल्दथे। झिलीमिली उज्यालो बेनीबजारमा देउसीभैलोको सङ्गीतमय वातावरण नहुदाँ खल्लो भएको बिरेन्द्रचोककी सृजना भट्टचनले बताईन् । उनले मौलिक बाजा र भाकाको संरक्षण सहितका कार्यहरुलाई सबैले सहयोग गर्नुपर्नेमा जोड दिईन् ।

त्यस्तै जिल्ला प्रशासन कार्यालयका सहायक प्रजिअ सुवास शर्मा पौडेलले कोरोनाको जोखिम कै कारण खेलकुदजन्य गतिविधि र देउसीभैलोमा रोक लगाइएको बताए । उनले सतर्कता अपनाउँदै चाडपर्व मनाउने निर्देशन गृहमन्त्रालयबाटै आएको र विगतमा चाडपर्वपछि कोरोना फैलिएकाले यसपटक थप सर्कतकता अपनाइएको बताए । प्रशासनले स्थानीय तहसँग समन्वय गरेको बताएपनि जनप्रतिनिधिले नै मेलापर्वमा खेलकुद तथा देउसीभैलोमा स्वास्थ्यको मापदण्ड पुरा गरी सञ्चालन गर्न अनुरोध गरेका छन् ।

Leave a Reply