बेनीमा श्रीमद् भगवद् गीता ज्ञान महायज्ञ आयोजना गरिने

ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय बेनी म्याग्दीले कार्तिक २५ गते बिहीबारदेखि २९ गते सोमबारसम्म पाँच दिवसीय श्रीमद् भगवद् गीता ज्ञान महायज्ञ, व्यवहारिक एवं वैज्ञानिक प्रवचन कार्यक्रमको आयोजना गर्ने भएको छ । विगत साढे डढे दशक यता म्याग्दीमा ईश्वरीय ज्ञान प्रदान गदैं आएको ओम शान्तिले जिल्ला समन्वय समितिको सभाहलमा उक्त महायज्ञको तयारी गरेको बेनी शाखा प्रमुख रिना दिदीले बताउनुभयो । ‘गतबर्ष कोरोनाका कारण स्थगित भयो,‘अहिले हामीले सम्पूर्ण तयारी पुरा गरेका छौ’ प्रमुख रिनाले भन्नुभयो ।

उहाँका अनुसार जिल्लाका सबै स्थानीय तह, संघसंस्थालाई समेत सहभागीताका लागि अनुरोध गरिएको छ । धर्मग्लानिको वर्तमान समयमा अधर्मको विनाश र सत्य सनातन देवी देवता धर्मको स्थापनार्थ ज्योतिस्वरुप परमपिता परमात्माले सम्पूर्ण मानव आत्माहरुको मनरुपी कुरुक्षेत्रमा चलिरहेको द्वन्द्धको समाधान गरी पवित्रता, सुख, शान्ति र आनन्द प्राप्तिका लागि दिनुभएको सत्य ज्ञान नै वास्तवमा श्रीमद्भगवद् गीता ज्ञान भएको उहाँको भनाई छ । वर्तमान समयमा हरेकको व्यक्तिगत (मानसिक), पारिवारिक एवं व्यवसायिक जीवनमा आइपर्ने सर्वसमस्याहरुको समाधानमा महायज्ञमार्फत ज्ञान प्रदान गरिने जनाइएको छ ।

प्रवचनको प्रमुख वक्ताको रुपमा पोखराबाट राजयोगिनी अप्सरा दिदीको मुख्य प्रस्तुति रहनेछ । विगत २५ वर्षदेखि ईश्वरीय सेवामा समर्पित तथा श्रीमद्भगवद् गीता, तनाव व्यवस्थापन, राजयोग मेडिटेशन लगायतका विषयहरुको विशेषज्ञ हुनुहुन्छ । उहाँले भारतको अन्नमलाई विश्वविद्यालयबाट मूल्य शिक्षा एवं आध्यात्मिकतामा स्नातकोत्तर (एमएस्सी) समेत गर्नुभएको छ । संस्थाको निःशुल्क, निश्वार्थ एवं निष्काम सेवाको रुपमा सञ्चालित यस कार्यक्रमको सफलताको लागि आयोजकले सबैमा अपिल गरेको छ ।